PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

वर्ल्ड कप क्वालिफायर : नेपाल Vs नेदरल्याण्ड्स, प्रतिष्ठाको लडाई (प्रिभ्यू)



गोविन्दराज नेपाल

वर्ल्ड कप क्वालिफायर : नेपाल Vs नेदरल्याण्ड्स, प्रतिष्ठाको लडाई (प्रिभ्यू)

काठमाडौं : वर्ल्ड कप क्वालिफायरका लागि जिम्बावे जाँदा नेपाली किक्रेटसामु दुई लक्ष थियो - सुपर सिक्सभित्र पर्ने र वान डे इन्टरनेसनल (ओडिआइ) को हैसियत हासिल गर्ने। पहिलो लक्ष पूरा हुँदा दुवै लक्ष पूरा हुने थियो। पहिलो लक्ष पूरा नभए पनि नेपाल रित्तै फर्किन परेन। ऐतिहासिक उपलब्धिका रुपमा नेपालले दोस्रो लक्ष पूरा गर्‍यो।
 
उता वर्ल्ड क्रिकेट लिग च्याम्पियनको हैसियतमा जिम्बावे पुगेको नेदरल्याण्ड्सको लक्ष्य पनि सुपर सिक्स पुग्दै वान डे वर्ल्ड कपमा छनोट हुने थियो। तर, डच टोली पनि नेपालजस्तै सुपर सिक्समा पुग्न सकेन। 

जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपाल र नेदरल्याण्ड्समात्र यस्ता दुई टिम थिए जसले खेलेका कुनै पनि खेलको वान डे मान्यता थिएन, लिस्ट ए मान्यता मात्र थियो।

यिनै दुई टिम अब सातौँ स्थानको प्ले अफका लागि आज भिड्दैछन्। क्रस प्ले अफमा नेपालले पपुअ न्यू गिनी तथा नेदरल्याण्ड्सले हङकङलाई पराजित गर्दै सातौँ स्थानको प्लेअफका लागि भेट पक्का गरेका हुन्। 

उता जिम्बावे जाँदा ओडिआई स्ट्याटससहित गएको हङकङ र पपुअ न्यू गिनी अन्तिम दुई स्थानमा रहँदै डिभिजन टू मा घटुवा भइसकेको छ। यी दुई टोलीले घर फर्कदा ओडिआई स्ट्याटस समेत गुमाइसकेका हुनेछन्। नवौँ स्थानको प्लेअफका लागि यी दुईबीचको खेल पनि आजै हुँदैछ।

अब नेपाल र नेदरल्याण्ड्स दुवै अन्तिम ओडिआई गेम खेल्नुअघिको अन्तिम लिस्ट ए म्याचमा भिड्दैछन् र दुवैको लक्ष्य हुनेछ जित हासिल गर्ने र सुखद् अन्त्य गर्ने। अर्को अर्थमा हेर्दा दुवै प्रतिष्ठाका लागि खेल्दैछन्। यस खेलमा हार जितले कुनै असर गर्दैन।

क्वालिफायरपछि नेदरल्याण्ड्स, स्कटल्याण्ड, युएई र नेपाल एसोसिएटबाट ओडिआई स्ट्याटस हात पार्ने टिम हुनेछन्। 

नेपाल र नेदरल्याण्ड्सले क्वालिफायर पछि खेल्ने खेलमा मात्र ओडिआई स्ट्याटस पाउनेछन् तर डिभिजन टू मा घटुवा भइसकेका हङकङ र पपुअ न्यू गिनी बीचको प्लेअफ खेलले भने वान डे इन्टरनेशनलको मान्यता पाउनेछ। 

नेदरल्याण्डसले त सन् २०२० मा हुने वान डे लिगको लागि समेत स्थान पक्का गरिसकेको छ। वर्ल्ड क्रिकेट लिग च्याम्पियन जितेका कारण डच टोलीले उक्त अवसर पाएको हो। जसमा आइसीसीका १२ फुल मेम्बरसँगै नेदरल्याण्ड्सले पनि प्रतिस्पर्धा गर्न पाउनेछन्।

यता नेपालले भने अब चार वर्षका लागि ओडिआई मान्यता पाएसँगै इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछ। साथै वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप पनि खेल्नेछ।


नेपाल भर्सेस नेदरल्याण्ड्स हेड टु हेड

नेपाल र नेदरल्याण्ड्सले यसअघि एकआपसमा ४ पटक ५० ओभरको खेल खेलेका छन्। जसमा नेदरल्याण्ड्स र नेपाल समान २ पटक विजयी भएका छन्। चार वर्षअघि वर्ल्डकप क्वालिफायरको प्लेअफ खेलमै नेपाल नेदरल्याण्ड्सँग ७ विकेटले पराजित भएको थियो। यस्तै २०१५ को डिभिजन टू मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो। २०१५-१७ को वर्ल्ड क्रिकेग लिग च्याम्पियनसिप अन्तर्गत दुवैले एक एक खेल जितेका थिए।
२०१४ वर्ल्डकप क्वालिफायर
नेपाल १७१/९ (५० ओभर) नेदरल्याण्ड्स १७२/३ (३१.५ ओभर)
नेदरल्याण्ड्स ७ विकेटले विजयी

२०१५ डिभिजन-२
नेदरल्याण्ड्स १५८/१० (४९.५ ओभर) नेपाल १५९/८ (४९.३ ओभर)
नेपाल २ विकेटले विजयी

२०१६ डब्लुसिएल 
नेपाल ९४/१० (३८.१ ओभर) ९६/३ (१६.५ ओभर)
नेदरल्याण्ड्स ७ विकेटले विजयी

२०१६ डब्लुसिएल 
नेपाल २१७/९ (५० ओभर) १९८/१० (४८.३ ओभर)
नेपाल १९ रनले विजयी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell