PahiloPost

Apr 23, 2019 | १० बैशाख २०७६

१२ वर्षे गंगाकी छोरी देखेपछि मिलेको सन्तुष्टि : डाक्टरकै भाषामा भयो - मेडिकल मिराकल


सागर बुढाथोकी/पहिलोपोस्ट

१२ वर्षे गंगाकी छोरी देखेपछि मिलेको सन्तुष्टि : डाक्टरकै भाषामा भयो - मेडिकल मिराकल

'नरो गंगा नरो'

थापाथली स्थित प्रसुती गृहको पोस्ट अप वार्डको बेडतिर नजर लगाउँदै राममायाले छोरीलाई सान्तवना दिइन्। राममाया अर्थात् १२ वर्षमा भर्खैरै आमा बनेकी गंगा प्रजाको आमा।

गंगालाई अपरेशन थियटरबाट भर्खरै  पोस्ट अप वार्डमा सारिएको छ। दुई घण्टा लामो अपरेशनपछि उनी आमा बनेकी हुन्। भर्खरै अपरेशन सकेकाले कामिरहेको छिन्। दुईवटा ब्ल्याङ्केट खप्ट्याउँदा पनि जाडो कम भएको छैन। नर्सहरु सेवामा खटिइरहेका छन्। तर, गंगा सहजै बोल्न सक्ने अवस्थामा छैनन्। नवजात शिशुलाई सम्हाल्न गाह्रो भएको छ, उनलाई। आमा रामाया छोरीलाई टुलुटुलु हेरिरहेकी छिन।

राममायाको लागि सपना जस्तै भइएको छ। तर, सपना होइन। २. २९ केजीको छोरी यथार्थ हो। गंगा सकुशल रहेको यथार्थ हो। र, बच्चालाई आइसियुमा राख्नु नपरेको पनि यथार्थ नै हो। 

एक साताअघिसम्म गंगा खतरामै रहेको डाक्टरले बताइरहेका थिए। तर, जति जटिल सोचिएको थियो त्यस्तो भएन। अपरेशन गरियो। डाक्टरहरुले चेतावनी दिएजस्तै बच्चा र आमा दुवैको ज्यान तलमाथि भएन। उनीहरुकै भाषामा भन्नुपर्दा 'मेडिकल मिराकल' भयो। भाग्यमानी ठहरिन गंगा। नत्र १२ वर्षको उमेरकै यति सजिलै सुत्केरी हुन कहाँ सम्भव हुन्छ र? 
 
गंगा खुशी छिन्। राममाया उस्तै। गंगाको श्रीमान रञ्जित खुशी नहुने कुरै भएन। उनीहरुसँग कुनै साइनो नजोडिएको म पनि खुशी छु। कारण एउटै छ— विगत तीन महिना गंगाको परिवारको निगरानीमै बितेको जो छ।

यही तीन महिनाको अन्तरालमा मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिकाको विकट औले गाउँको गंगाको घर पुगेँ। गंगाको परिवारको दु:ख आफ्नै आँखाले देखेँ। उनीहरुको अभाव र समस्यासँग साक्षात्कार भएँ। गंगालाई उद्दार गरेर काठमाडौँ ल्याउनका लागि केही योगदान पनि पूरा गरेँ। त्यसैले आज उनीहरुको परिवारजस्तै म पनि खुशी छु।

तीन महिनाअघि राममायाले सोचेकी थिइनन्, गंगाले यति सजिलै बच्चा जन्माउँछे। गंगा स्वयंमलाई पनि थाहा थिएन आमा बन्नुको सकश। उनीहरु लाचार थिए। समस्याको जानकार हुँदा हुँदै पनि काल नै पर्खेर बसिरहेका जस्ता लाग्थे। गाउँमै बच्चा जन्माउने ‘घातक निर्णय’ गरेका थिए। गरीबी र अभावले पिल्सिएकाले ज्यान धरापमा राख्‍नु बाध्यता थियो। 

हामी अकस्मात पुगेका थियौं, गंगाको गाउँ। 

गएको कार्तिक ७ गते फोटो पत्रकार साथी गगन थापाको फोन आयो, 'मकवानपुर जानुपर्ने भयो। एउटा जटिल केस छ रे!'

मैले 'हुन्छ' भनेँ। ठाउँ पत्ता लगाउने देखि त्यहाँको मानिसहरुलाई सम्पर्क गर्न एक दिन लाग्यो। भोलिपल्ट बिहानै हामी काठमाडौंबाट मकवानुपर लाग्यौं।

हेटौंडाबाट ६० किलोमिटर पश्चिम पहाडी कच्ची बाटो पार गरेपछि गंगाको गाउँ पुगियो। चेपाङ जातिको बाहुल्यता रहेको विकट ठाउँ रहेछ। ४२ धुरीभित्र तीनसय भन्दा बढीको जनसंख्या। अधिकांश इसाईमा रुपान्तरित भइसकेका।

त्यही गाउँको एउटा कुनामा थियो, गंगाको घर। हामी पुग्नुअघि नै खबर पुगिसकेको रहेछ, 'शहरबाट सरहरु आउँदै छन रे!'

हामी जाँदै गरेको थाहा पाएर गंगा भागिछिन्। बालविवाहको आरोपमा पक्रेर जेल हाल्छन् भन्न डर रहेछ। उनको आमा र बुबा पनि गंगाको बेपत्ता श्रीमान रञ्जित प्रजा खोज्न हिँडेका रहेछन्। केही समय उनीहरुलाई कुर्नपर्‍यो। हामी जानुको उद्देश्य बताएपछि गंगाको दाइ शुक्रले गंगालाई खोजेर ल्याए।

पिढींमा आएर बसिन् उनी। कुर्ता सुरुवाल लगाएकी। हामी पुग्दा पातलो सलले पेट ढाकेकी थिइन्। घाँटीमा रातो माला। देब्रे हातमा सेतो चाइनिज चुरा। कलिली, दुब्ली र निराश देखिन्थ्यो अनुहार। हात र खुट्टाका औंला पनि कलिला। अनुहारको तुलनामा पेट अस्वाभाविक रुपमा ठूलो। गर्भमा बच्चा। 

अस्वभाविक मौनतामा बसिरहेकी उनी आलस्य देखिन्थिन्। सँगैका साथीहरु खेलिरहँदा पिढींमा बसेर हेरिरहेकी थिइन्। खेल्ने मन उनलाई पनि लाग्दो हो तर कुद्न र उफ्रिने कुरा कल्पना बाहिर। उभिन अडेस लाग्नु पर्ने। हिँड्न पनि गाह्रो। एकदम निराश देखिएकी उनी हामीसँग खुलेर बोल्ने कुरै थिएन।

४ घण्टापछि अलिअलि बोल्न थालिन् उनी। श्रीमान बेपत्ता भएकाले माइतीको सहारामा बसेकी रहिछन्। दाजु भाउजु र बच्चाहरु गरेर २० जनाको संयुक्त परिवारमा। खानाको अभाव। गोठको सुताई। लगाउने कपडाको अभाव उस्तै। कठ्याङग्रिने जाडोमा न्यानो कपडासमेत थिएन, उनको शरीरमा। बिहान अबेर खाएको खाना नै दिनभरको आहारा थियो उनका लागि।

***

चेपाङ बस्तीमा अधिकांशको सानैमा बिहे हुँदो रहेछ। ९० प्रतिशत भन्दा बढी भागी बिहे। कलिलैमा भागी विवाह गर्ने परम्परा नै बनेको रहेछ। गफ गरिरहँदा गंगाकी भाउजु सरस्वतीले भनेकी थिइन्, '१६ वर्ष पुगेपछि त सबै छिप्पिहाल्छन् नि! बिहे त चौध, पन्ध्र वर्षमा गर्ने हो।' 

'एक छाक मकै, एक छाक भोकै' को अवस्था थिइन् गंगा। ज्वरो पनि आइरहने। कम्मर दुख्ने। पेट उस्तै। रिंगटा लागिरहने। तै पनि पनि आरामले बस्न फुर्सद कहाँ थियो र उनलाई? बढारकुडार गर्ने, खाना पकाउने। यसरी नै बिताउँथिन् दिन। आफ्नो स्वास्थ्यको ख्याल थिएन। गंगा मात्र हैन उनको सबै परिवार 'प्रभु'को भरोसामा थिए। 

साँझ सबैजना भेला भएका थिए। खाना पकाउँदा तरकारी थिएन। टमाटर सिलौँमा पिसे र त्यसैसँग भात खाए। अनि सबै जना सुत्ने तरखरमा। कोही पेटीमा। कोही दलिनमा। कोही भित्र नै। सबै जना लस्करै सुते।

गंगा र उनको आमा भने गोठमा सुत्न गए। तल गाई बाख्रा बाँधिएको थियो। उनीहरु माथि सुतेका। बारबेर राम्रो नभएकाले साझँमा जोडले चल्ने हावा उनीहरुलाई छोएर जान्थ्यो।

उनीहरु सबैजना सुतेपछि फोटो पत्रकार साथी गगन र म पनि वल्लो गाउँ आयौं। सुकु तामाङसँग परिचय भएको थियो। उनकै घरमा खाना खायौं। त्यही छिढींमा सुत्यौं। भोलिपल्ट बिहानै गंगाको घर पुग्दा कोही उठेका थिएनन्। सबै जना लम्पसार परिरहेका। करिब दुई घण्टा कुरेपछि गंगा एकदम गाह्रो मान्दै उठिन्। गोठबाट तल झरिन्। घरभित्र छिरेर अंगेनोको छेउमा बसिन्। काखमा एउटा टुहुरो पाठो थियो। तातो पानी,चिया खाने चलन रहेनछ। बेलुकाको बासी भात दिइन्, बहिनी जमुनाले। टमाटरको अचार हालेर निस्तै भात खान थालिन्। खानपान हेर्दा गर्भवती हुनु र नहुनुमा केही अन्तर देखिएन।

त्यसको केही समयपछि चर्च गइन् उनी। प्रार्थना सकाएपछि हामीले उनीहरुसँग बिदा माग्यौ। बिदा माग्दै गर्दा गंगा हामीसँग खुलेर कुरा गर्ने भइसकेकी थिइन्।

बिहे गरेकोमा पश्चाताप गरिन्, हामीसँग। बिहे गर्दा यसरी बच्चा हुने भन्ने नै थाहा रहेनछ। भविष्यबारे सोच्न सक्ने अझै भएकी थिइनन् उनी। 'थाहा नभएर आफैँले गल्ती गरेँ। बेकारमा बिहे गरे,' उनले भनेकी थिइन्, 'सजाय भोगिरा'छु। अझै के के भोग्नुपर्ने हो?'

फर्किँदा बाटाभरि गंगाकै कुरा भयो। के गर्ने कसरी सहयोग गर्ने? अफ्ठ्यारो बाटो भएकाले धेरै ठाउँ लडियो पनि। मोटरसाइकलको साइलेन्सरले पोलेर गगनको घाउ नै भयो।  जसोतसो उपत्यका छिर्‍यो। ग्वार्कोमा आउनासाथ बाइक बिग्रियो। थकित अवस्थामा रहेको म गाडी चढेर आफ्नो घरतिर लागेँ। घर पुग्दा थाहा भयो, रिपोर्टिङ गरेको डायरी गाडीमै छुटेछ।

अर्को तनाव! तर, तनाव लिएर डायरी फिर्ता कहाँ आउथ्यो र?

अफिसमा आएपछि ति दृश्यहरु सम्झिँदै समाचार लेखेँ।

एउटा अपत्यारिलो तर तीतो यथार्थ, १२ वर्षको कलिलो उमेरमै आमा बन्दैछिन् गंगा : भन्छिन् - सजाय भोगिरा'छु।

समाचार प्रकाशन भएको केही दिनपछि गंगाको उद्दारको लागि प्रधानमन्त्री कार्यालयले निर्देशन दियो। एउटा समाचारले कसैको उद्दार हुने भयो भनेर हामी खुशी भयौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिए। उनका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्याल र प्रधानमन्त्री कार्यालयका सह सचिव विनोद कुँवर फलोअप गरिरहे।


१२ वर्षमा आमा बन्दै गरेकी गंगाको उपचार र जीवनरक्षाका लागि सरकारले थाल्यो पहल
त्यसको तीन दिनपछि गंगालाई उद्दार गरेर काठमाडौँ ल्याउँदै गरेको खबर आयो। फोटो पत्रकार साथी र म बल्खुमा गएर बस्यौं।  करिब ४ घण्टा यात्रा पूरा गरेर एम्बुलेन्स बल्खु आइपुग्यो। त्यतिबेला साँझको ५ बजेको थियो। 

एम्बुलेन्समा  गंगाकी आमा राममाया, श्रीमान् रञ्जित र हेल्थ असिटेन्ट प्रकाश थिए। गंगा रञ्जितको काखमा निदाएकी थिइन्। बान्ता गर्दागर्दा लखतरान भएकाले कोही बोल्ने अवस्थामा थिएनन्। रञ्जितको मनस्थिति पनि उस्तै। हेल्थ असिस्टेन्ट प्रकाशले भने, 'बीच बाटोबाटै गंगा झण्डै भागिन्। जान्न भनेर आउन मानेकै थिइनन्। अहिले पनि फर्कन्छु भन्दिन्छिन् फेरि।'

सरकारले पहल गर्नुअघि पनि केही समाजसेवीहरुले गंगालाई काठमाडौँ ल्याउन तत्परता देखाएका थिए। बालविवाहको आरोपमा कारवाही हुने डरले विकट गाउँको यो परिवार उपचारकै लागि पनि आउन तयार भएन। यसपटक भने प्रधानमन्त्रीकै चासोमा पहल भएको थियो। घरमै लिन पुगेकाले उनीहरु काठमाडौँ आउन बाध्य भएका थिए। 

हामी गंगाको गाउँ पुग्दा सम्पर्कबिहीन भएका रञ्जित पनि फर्किएका थिए यतिखेर। उनले १८ वर्ष पुगेको बताए पनि हेर्दा कलिलै देखिन्थे। घोसे मुन्टो लगाएका उनले हामीलाई हेर्दै हेरेनन्। एम्बुलेन्स जाममा पर्दा भने मुन्टो उठाएर अगाडितिर हेर्थे।
त्यही दिन रञ्जित सम्पर्कमा आएका रहेछन्।


१२ वर्षमा आमा बन्दै गरेकी गंगाको श्रीमान रञ्जितको कथा

थापाथलीमा रहेको प्रसुति गृह पुगेर एम्बुलेन्स रोकियो। त्यहाँ मन्त्रिपरिषदका सहसचिव विनोद कुँवर पुगिसकेका रहेछन्। गंगालाई एम्बुलेन्सबाट झारियो। एडमिट गर्न अस्पतालमा फर्म म आफैँले भरिदिएँ। त्यहाँ उनलाई देख्नेहरुले साउती गर्न थाले, 'हाम्रा १२ वर्षका छोरीहरुलाई खाना आफैँ खुवाउन पर्छ। ऊ चाहिँ आमा बन्न लागेकी, बिचरा!'

सहसचिव कुँवरले प्रशासनिक चाँजोपाँजो मिलाए। प्रधानमन्त्रीले यो घटनालाई गम्भीर रुपमा लिएको बताउँदै उनले यस्ता घटना अन्त्य गर्ने योजना बनाइरहेको सुनाए। 

एडमिट गर्नासाथ उनलाई क्याविनमा सारियो। उनीहरुको सम्पुर्ण चाजोपाँजो मिलाएर करीब रातको आठ बजे हामी त्यहाँबाट फर्क्यौ। अस्पतालमा एडमिड गरेपछि ढुक्क भयो,  'अब गंगालाई केही तलमाथि हुन्न।'तर, डाक्टरहरु नै भनिहरेका थिए, 'यस्तो केसमा केही नहुनका लागि मेडिकल मिराकल हुनुपर्छ।'

१२ वर्षकै उमेरमा आमा बन्दै गरेकी गंगाको यसरी भयो 'रेस्क्यु', अब लेख्न नपरोस् यस्ता स्टोरी

त्यसपछि लगातार चार दिन अस्पताल गयौँ। औषधि किन्नदेखि हरेक कुरामा सहयोग गर्नुपर्थ्यो उनीहरुलाई। अस्पतालमा बस्दा बस्दा वाक्क भइसकेका थिए। अस्पतालबाटै भाग्छु भनेर गंगाले हामीलाई धम्क्याउन थालिसकेकी थिइन्। चार दिनपछि डिस्चार्ज गरेर वनस्थली सारियो। रञ्जितको दाजुको रुम भएकाले सजिलो भएको थियो। अस्पतालबाट दुई हप्तामा फलोअप गर्न निर्देशन थियो। हामी सधै उनीहरुसँगै अस्पताल जान्थ्यौं। टिकट लिने, लाइन कुर्नेदेखि डाक्टरहरुसँग कन्सल्ट गर्ने काम हामीले नै गरिरहेका थियौं। त्यसैले आफन्त जस्तै ठानिरहेका थिए उनीहरुले।

काठमाडौंको बसाइ, निरन्तर आइरन र क्याल्सिम सेवन आराम र खानपानले गंगा स्वस्थ हुँदै गएकी थिइन्। ४१ केजीकी गंगाको तौल बढेर ५१ केजी नाघेको थियो। हरेक पटक अस्पताल फलोअप गर्न जाँदा डाक्टहरु भन्थे, बच्चा र आमा दुवैजना स्वस्थ छन्। यदि समस्या आयो भने त्यो गंगाको उमेरले दोष पाउँथ्यो।

डाक्टरहरुले यसो भन्दा डर लाग्थ्यो। मेडिकल मिराकल होस् भन्ने कामना मनमा आउँथ्यो।

र, बुधबार गंगाको भाउजुले अत्तालिँदै गंगालाई अस्पताल लगेको खबर सुनाइन। त्यतिबेला डाक्टरले भनेको झल्झली याद आयो, 'यस्तो केसमा केही तलमाथि नहुन त मेडिकल मिराकल हुनुपर्छ।' 

डर मान्दै अस्पताल पुगेँ। अपरेशन थियटरको अगाडि गंगाको आमा बसिरहेको थिइन्। गंगालाई अपरेशन गर्न लगेको सुनाइन उनले। हिजो रातिदेखि बेथा लागे पनि गंगाले नभनेकाले आज ल्याएको बताइन्। मलाई थाहा थियो- चरम लापरवाही थियो त्यो। तर, गाली गर्न नमिल्ने। 

करिब दुई घण्टापछि गंगाको बच्चा भएको खबर सुनाए डाक्टरले। केही समयपछि उनलाई ओपिडीमा सारियो। बच्चा र आमा सकुशल। नभन्दै हामीले सोचेजस्तै मेडिकल मिराकल भयो। त्यतिबेला प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरलाई फोन गरेर गंगाको खबर खबर सुनाएँ। उनले खुशी हुँदै जवाफ दिए, 'तत्कालै अस्पतालबाट डिस्चार्ज नगर्नु। अन्य खर्च के कति लाग्छ हामी म्यानेज गर्छौँ।'

एउटा समचारले एक जनाको उद्दार भयो। नवजात शिशुको हासो र गंगाको अनुहारको सन्तुष्टि देख्दाको आनन्द बयान गर्न सक्दिन। तर, १२ वर्षमै एउटी बालिका आमा बनेको खबरले खुशी चाहिँ हुनु कसरी? देशमा हजारौं यस्तै बालिकाहरु छन् जो शिक्षा र चेतनाको अभावमा फसिरहेका छन्। गंगाको उद्दारले बाँकीको अवस्थालाई नजर अन्दाज गर्न सकिन्छ र? 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट