PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

१२ वर्षमा आमा बन्दै गरेकी गंगाको श्रीमान रञ्जितको कथा

१२ वर्षमा आमा बन्दै गरेकी गंगाको श्रीमान रञ्जितको कथा

सागर बुढाथोकी/पहिलोपोस्ट


'भो यो बिहे त गर्नु नहुने रै'छ,' १२ वर्षमा आमा बन्दै गरेकी गंगा।



थापाथलीस्थित प्रसुति गृहको आकस्मिक कक्षको बाहिर जम्मा भएको भिडतिर देखाउँदै एक महिलाले भनिन्, '१२ वर्षमा गर्भवती भएर यता ल्याइएको रे। कुन पापीले यस्तो गरेको होला?'  त्यहीँ भिडमा अर्की महिलाको आवाज सुनियो, 'हाम्रा १२ वर्षका छोरीहरुलाई खाना आफैँ खुवाउन पर्छ। ऊ चाहिँ आमा बन्न लागिसकिछ, विचरा!'

मकवानपुरको राक्सिराङ गाउँपालिकाको विकट औले गाउँबाट १२ वर्षमा आमा बन्दै गरेकी गंगालाई उद्दार गरेर भर्खरै अस्पताल ल्याइएको थियो।  उनलाई हेर्न भिड जम्मा भएको थियो। अस्पतालका सुरक्षा गार्डलाई भिडलाई शान्त गराउन हम्मे परेको थियो

भिडको आशय थियो -  'यति सानैमा कस्ले यस्तो बनायो होला गंगालाई?'

तर, गंगालाई डोहोर्‍याइरहेका  उनका श्रीमान रञ्जित प्रजालाई कसैले याद गरेनन्। रञ्जित प्रजा अर्थात् १२ वर्षे गंगाको श्रीमान्।

उमेर - १८

हुलिया - लामो खैरो कपाल,  ग्रन्ज पाइन्ट र पातलो ज्याकेट।

गंगालाई हेटौंडादेखि एम्बुलेन्समा हालेर उनले नै ल्याएका थिए। आमा राममाया पनि सँगै आएकी थिइन्। गंगा श्रीमानको काखमा निदाएकी। बान्ता गर्दैगर्दा लखतरान। बोल्न सक्ने अवस्था थिएन कसैको। बाध्यतामा परेर आउनु परेकाले पनि खुशी थिएनन्, उनीहरु।  

यो थियो मंसिर ४ गतेको घटना।

गंगा गर्भवती भएदेखि रञ्जित सम्पर्कविहीन थिए। माइतीको सहारामा बसिरहेकी थिइन उनी। गर्भवती अवस्थामा समेत श्रीमान् नआएकाले आक्रोशित थिइन्। रञ्जित सम्पर्कमा आउनासाथ काठमाडौँ ल्याएको थियो गंगालाई। 

'काठमाडौंमा काम गर्थें। मोबाइल हराएर फोन गर्न पाइनँ। हिजोमात्र आएको,' रञ्जितले सम्पर्कविहीन हुनुको कारण खुलाए, 'अब छोडेर हिँड्दिन।'

पहिलो पटक भेट्दा घोसेमुन्टो लगाएका उनले हामीलाई हेर्दै हेरेनन्। प्रहरीले पक्रेर जेल हाल्ने हो कि भन्ने डर थियो उनमा। त्यसैले होला गंगालाई अस्पतालमा लैजानासाथ ओझेल परिहाले। कसैले याद गर्न भ्याएनन्।

***
थापाथली प्रसुति गृह। क्याबिन नम्बर ५।  केही समयदेखि ओझेल परेका रञ्जित साँझको सात बजेतिर खानेकुरा बोकेर टुप्लुक्क आइपुगे। तर, गंगाले खान मन गरिनन्। अस्पतालको क्याबिनमा छोरा मानिस बस्न नमिल्ने भएकाले रञ्जित दाजुको कोठा बस्न गए।


गंगाको अस्पतालमा तेस्रो दिन

गंगालाई अस्पताल ल्याइएको तेस्रो दिन। फाइनल रिपोर्ट अझै आएको छैन। रिपोर्ट के आउने हो चिन्ता छ उनीहरुलाई। नयाँ ठाउँ भएकाले बस्न पनि मन गरिरहेका छैनन्। बिहानै पानी लिएर क्याबिन नम्बर ५ मा पुगे, रञ्जित। उनलाई देख्नासाथ गंगाले भनिन्, 'मलाई लैजाउ यहाँबाट। सुते नि यही सुत्नुपर्ने? बसे नि यही? सक्दिन म यो सुँगुरको खोर जस्तो ठाउँमा बस्न।'

रञ्जित फिस्स हाँसे मात्र, केही बोलेनन्। गंगाले फेरि भनिन्, 'रात पनि कैले सकिँदैन यो अल्छे ठाँउमा। गाउँमा भए कति रमाइलो हुन्थ्यो।'

घाम ताप्न र शहर देख्न नपाएकोले गंगा रिसाएकी थिइन्। बारम्बार भन्थिन्, 'म त अब भाग्छु यहाँबाट। सक्दिन यसरी बस्न।'

उनी रिसाएर घोसेमुन्टो लगाउन थालिन्। रञ्जितले जिस्काउँदै भने, ' बोल न हो बुढी बोल। किन ठुस्किएकी?'

'के बोल्नु। केही पनि छैन। बोल्ने कुरा? - गंगाले जवाफ फर्काइन्।

'सरहरु भएर लजाएको हो कि क्या हो?' आमाले जिस्काइन्।

'आफ्नै बुढोसँग बोल्न के को लाज ?'- गंगाको ठाडो जवाफ।

'त्यसो भए बोल न त?' - आमाको ढिपी।

'के बोल्नु त कुरै छैन?'- गंगाको त्यही जवाफ। 

'बच्चाको नाम के राख्ने भनेर सल्लाह गर न,' आमाले बोल्ने मेसो खोलिदइन्।

रिसाएकी गंगा हासिन्। रञ्जितले मुन्टो लुकाए। 

'नानी पाउनु कैले कैले .....।' गंगा लाजले रातो हुँदै बोलिन्।

त्यसपछि रिसाएकी गंगा बोल्न थालिन्। रञ्जित सहज रुपमा प्रस्तुत भए।

आफ्नो बस्तीको सानै उमेर बिहे गर्ने संस्कार पछ्याएर बिहे गरेको बताउँछन् रञ्जित। गंगासँग बिहे गर्नुअघि पनि बिहे गरिसकेका थिए उनले। जेठीले छाडेपछि गंगालाई बिहे गरेको सुनाए। 'मैलेमात्र सानैमा बिहे नगरेर के हुन्छ र? मेरो साथीहरु बिहे गर्न कोही बाँकी छैनन्,' रञ्जितले भने, 'अहिलेमात्र थाहा भयो सानोमा बिहे गर्नुहुन्न रहेछ।'

रञ्जितले कखरा सिकेका छैनन्। स्कुल नगएका उनी आफ्नो नाम लेख्न जान्दैनन्। ज्यामी गरेर जीवन निर्वाह गरिरहेका छन् उनी। गंगाले पनि कक्षा चार सम्ममात्र पढेकी। 

गंगाले रञ्जितसँग प्रेम विवाह गरेकी हुन्। पछि परिवारकै संस्कार अनुसार बुहारी बनेकी। 

'कलिलै उमेरमा कसरी भयो त प्रेम?'

गंगा लजाइन्। रञ्जित पनि लजाउँदै बोले,  'उनले नि मन पराइन् मैले नि मन पराएँ। एकै दिनमा बिहे भयो। कसैले आइ लभ यू भनेनौं।' 

रञ्जितका अनुसार गाउँका अधिकांश केटाहरु ज्यामी काम गर्न सानै उमेरमा काठमाडौं भाग्छन्। केटीहरु भागी विवाह। गाउँका १२ देखि १५ वर्षका ९० प्रतिशत केटीहरुले भागी बिहे गरिसकेका छन्। १५ वर्ष नपुग्दै आमा बन्नेहरु घरघरमै भेटिन्छन्, औलेमा। 

रञ्जित पनि ९ वर्ष नपुग्दै साथीहरुसँग काठमाडौँ भागे। होटलमा भाँडा माझे। मोमो बनाउने ठेलामा काम गरे। १३ वर्ष पुगेपछि ज्यामी काम गर्न थाले। अहिले उनी घर बनाउने 'मिस्त्री' भइसकेका छन्। दैनिक १५ सय आम्दानी गर्ने बताउँछन्।

अस्पतालमा चौथो दिन

गंगाको फाइनल रिपोर्ट आइसकेको छ। भिडियो एक्स्रेले डेलिभरी डेट माघको पहिलो साता देखाइदियो। यसअघि हेटौंडा अस्पतालले मंसिरको पहिलो साता देखाएको थियो। २ महिना फरक पर्‍यो। अझै २ महिना गंगा अस्पतालमा बस्न सक्ने अवस्था थिएन। हेटौंडा फर्काउँदा खतरा नै खतरा!

'के गर्ने अर्को समस्या आइलाग्यो,' रञ्जितको अनुहारमा तनाव झल्कियो। अस्पतालमा राखौँ यत्रो दिन बस्न गाह्रो। लगौँ कता लाने?' दोधारमा देखिए उनी।

दाजुको कोठामा लैजाने भए रञ्जितले। तर, डिस्चार्जको प्रकिया लम्बियो। सिग्नेचरका लागि डाक्टरहरु कुर्नुपर्ने भयो। अस्पतालबाट निस्कने खबर पाएर उज्यालिएको गंगाको अनुहार अझै कुर्नुपर्दा अध्यारो भयो। रञ्जित झोक्राएर अस्पतालको बार्दलीमा बसे। गंगा क्याबिन बाहिर डुल्न थालिन्। धेरैपछि बाहिर निस्केर होला अस्पतालको बार्दलीबाट देखिएको कुरा चाख मानेर हेरिरहेकी थिइन् उनी।


आमा राममाया कुर्नुपर्दा निराश भएकी थिइन्। अनुहारमा तनाव झल्कन्थ्यो। 

'आफुले नौ नौ वटा जन्माउँदा अस्पताल जानु परेन। अहिले चाहिँ अस्पताल चाहिने,' दिक्क मान्दै राममाया बोलिन्, 'यो सुँगुरको खोर जस्तो ठाँउमा आउन नपरोस् अब। दिक्क लागिसक्यो। आफ्नो बच्चा जन्माउँन पनि अरुको ठाउँ आउनुपर्ने।' 
 
त्यही बेला एक हुल यूट्यूबर अन्तर्वार्ता लिन आए। क्यामेरा अन गरेर रामायालाई सोध्न थाले, 'किन सानैमा बिहे गर्दिनु भयो छोरीको? सरकारले राम्रै सँग त हेरेको छ? के चाहिन्छ त अब? '

यस्तै प्रश्न सोधेर तीन दिनदेखि दिक्क पारिरहेका थिए गंगा र उनको आमालाई। पटकपटक सञ्चो छैन, बोल्न मन नभएको बताइरहे पनि उनीहरुले सुनेनन्। त्यसपछि राममायाले थर्काइन्, 'भन्न मन छैन भनेपछि बुझ्नु नि। मान्छेलाई के को टेन्सन छ आएर शिरदेखि पाउसम्म सोध्छ।'

राममायाको रिस देखेर युट्युबरहरु फर्किए। राममायाले भनिन्, 'आफू यहाँ टेन्सनमा छ। दिनकै आएर फोटो भिडियो खिचेर कहाँ लैजान्छ होला?'

गंगाले त्यसपछि हाम्रै अन्तर्वार्ता लिन थालिन्। लामो संगतले होला उनी हामीसँग खुलेर बोल्ने भइसकेकी थिइन्।

'कसरी काम गर्नुहुन्छ?

मेरो फोटो खिचेर के पाउनुहन्छ?

कस्तो काम हो यो?

२ बजे आएर डाक्टरहरुले डिस्चार्ज पेपरमा साइन गरिदिए। १५ दिनपछि 'फलोअप'मा आउन निर्देशन थियो उनीहरुको। त्यसपछि रञ्जितले गंगालाई ट्याक्सी चढाए।

काठमाडौँ आएको चार दिनमा पहिलोपटक बाहिर निस्किएकी थिइन उनी। झ्यालबाट बाहिर हेरिरहिन्।  अनौठो मानिरहेकी थिइन। ट्याक्सीमा 'एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा... भन्ने गीत बजिरहेको थियो। 

ट्याक्सी कालीमाटी पुलहुँदै वनस्थलीतिर लाग्यो। विष्णुमती गन्हाएपछि गंगाले भनिन्, 'यहाँ त के हो, खोला नि गन्हाउने, गाडी नि गन्हाउने। छि यस्तो ठाउँमा कसरी बसेका छन् यत्रा ठूला मान्छे।'

ट्याक्सी वनस्थलीको एउटा गल्लीमा गएर रोकियो। ट्याक्सीबाट ओर्लेर गंगालाई रुममा लगे रञ्जितले। एउटा सानो कोठा। दुइटा बेड। किचेन र्‍याक र केही सामानहरु। गंगा जानासाथ ओछ्यानमा ढलिन्। लामो खुइए गर्दै भनिन्, 'भो यो बिहे त गर्नु नहुने रै'छ।'

१५  दिनपछि ...

टोकन नम्बर ५७४ हातमा लिएर ओपिडीको प्रतिक्षालयमा छिन् गंगा। श्रीमान रञ्जित अस्पताल आएका छैनन्।  ज्यामी काम गर्न गएकाले आउन नसकेको सुनाउँछिन्। गर्भवती भएपछि खर्च चाहिने भएकाले काम गर्न पठाएको बताउँछिन्। भन्छिन्, 'खर्च धेरै लाग्छ रे सर त्यही भर काम गर्न पठा'को।'

तीन घण्टापछि पालो आयो। युरिन टेस्ट र ब्ल्ड टेस्टको रिपोर्ट हेर्दै डाक्टर अल्का श्रेष्ठले भनिन्, 'सबै नर्मल छ। डेलीभरी डेट चाहिँ पुसको अन्तिमतिर हो। हेटौँडामा गलत रिपोर्ट बनाएछन्।'

हेटौडा अस्पतालले मंसिरको पहिलो साता डेलिभरी डेट दिएको थियो। त्यसैले हतारमा ल्याइएको थियो उनलाई। अब अर्को १५ दिनपछि आउन भनिन् डाक्टर श्रेष्ठले। हेटौडाबाट ल्याउदा ४१ किलो भएको उनी अहिले जोख्दा ५१ केजी। आफ्नो तौल बढेको सुनेर अनुहार उज्यालियो। श्रीमान् रञ्जितलाई फोन डायल गरेर भनिन्, 'सबै ठीक छ। अब १५ दिनपछि आउनुपर्ने रे फेरि।'

उताबाट रञ्जितले के भने कुन्नी मुसुक्क हाँस्दै फोन काटिन्।



अर्को १५ दिनपछि ...

फलोअपकै लागि थापाथली अस्पतालमा पुगिसकेका छन् गंगाका आमाछोरी। रञ्जित नुवाकोटमा घर बनाउने काममा व्यस्त भएकाले आएका छैनन्। गंगा अहिले फेरिएकी छिन्। पहिला भन्दा पेट ठूलो देखिएको छ। हिँड्न पनि गाह्रो। लामो लाइन छिचोल्दै युरिन टेस्टको रिपोर्ट आयो । रिपोर्ट हेर्दै डाक्टर श्रेष्ठले भनिन्,  '३५ हप्ता भएछ पेटमा बच्चा। अब हप्ता हप्तामा फलोअपको लागि आउनुस्।'

उनले भिडियो एक्स रे गर्न पनि निर्देशन दिइन्। भिडियो एक्स रे गरियो। भिडियो रिपोर्ट हेरपछि बच्चा स्वस्थ भएको जानकारी दिइन डाक्टर श्रेष्ठले। खुशी हुँदै अस्पतालबाट फर्किइन्।
 

अस्पतालबाट फर्केको तेस्रो दिन 

बनस्थलीस्थित गंगा बसेको ठाउँमा पुग्दा घाम तापेर बसेकी थिइन उनी। आमाछोरी घरमै लुगाको धागो टिपिरहेका। रञ्जित पनि छेउमै बसिरहेका थिए। रञ्जित आजै नुवाकोटबाट फर्किएका रहेछन। सुत्केरी हुने मिति नजिकिएकाले स्याहार गर्न काम छोडेर आएको बताए उनले। भने, 'सुत्केरीको लागि अलि अलि खर्च जम्मा गरेँ अब चाहिँ केही आपत् आउला कि भनेर काम छोडेर आएको।'

सरकारी खर्चमा बसेकाले उनीहरुको लागि खान बस्नको समस्या छैन। प्रधानमन्त्री कार्यलयका प्रवक्ता विनोद कुँबरले दोस्रो पटक वनस्थली नै पुगेर १० हजार रकम दिएका थिए। १५ दिन अघि १५ हजार पाएका उनीहरुलाई १० हजार थप गरेपछि खर्च चलाउन समस्या नपरेको बताउँछन्। गंगाको आमा राममाया भन्छिन्, 'सरकारले गाउँदेखि ल्याएर हाम्रो लागि यत्रो धेरै गर्‍यो। अब पछि पनि गरिदियोस्।'

त्यसको चार दिनपछि अर्थात् हिजो सोमबार फलोअपका लागि अस्पताल पुगिन् उनी। डाक्टर श्रेष्ठले आजैदेखि अस्पताल भर्ना हुन सुझाव पनि दिइन्। तर, सुझाव वाध्यकारी नै भने थिएन। त्यसैले समस्या आए तत्कालै र नभए एक सातापछि अस्पताल आउनेगरी उनी फर्किएकी छिन्। पहिलोपटक हामीले गंगालाई उनकै गाउँमा भेट्दा श्रीमानको खबरको आशामा थिइन्, चिन्तामा पनि। अहिले उनका श्रीमान् नुवाकोटमै रहँदा पनि उनलाई कुनै चिन्ता छैन। उनी ढुक्क छिन् - बाबु बन्दै गरेका रञ्जित त्यसैका लागि पैसा बचाउन काम गरिरहेका छन्।

यो पनि पढ्नुहोस्

एउटा अपत्यारिलो तर तीतो यथार्थ, १२ वर्षको कलिलो उमेरमै आमा बन्दैछिन् गंगा : भन्छिन् - सजाय भोगिरा'छु

१२ वर्षमा आमा बन्दै गरेकी गंगाको उपचार र जीवनरक्षाका लागि सरकारले थाल्यो पहल

१२ वर्षकै उमेरमा आमा बन्दै गरेकी गंगाको यसरी भयो 'रेस्क्यु', अब लेख्न नपरोस् यस्ता स्टोरी



ट्रेन्डिङ पोस्ट

Ncell