काठमाडौँ : पनामा पेपर्समा भेटिएका चार चौधरीको ठेगाना दक्षिण अफ्रिका नभई काठमाडौँ नै रहेको खुलेको छ। यसअघि आइसिआइजेले सार्वजनिक गरेको डेटाबेसमा उनीहरुको ठेगाना दक्षिण अफ्रिकाको देखिएको थियो। त्यही आधारमा मिडियाले समाचार बनाएका थिए।
तर आइसिआइजेले नेपाली समय अनुसार बुधबार बिहान पौने ९ बजे गल्ती सच्याएको छ। सच्याइएको डेटाबेस अनुसार पनामा पेपर्समा भेटिएका चारै जना चौधरीको ठेगाना काठमाडौँको ठमेलस्थित सरस्वती सदन रहेको छ। सरस्वती सदनमा चौधरी ग्रुपको निवास छ।
पनामा पेपर्समा अरुणकुमार चौधरी, शीला चौधरी, सूर्यांश चौधरी र करणकुमार चौधरीको नाम ब्रिटिस भर्जिन आइल्यान्डसमा २४ जुन २००४ मा दर्ता भएको उर्साइन लिमिटेड नामको अफसोर कम्पनीमा सेयरहोल्डरको रुपमा देखिएको छ। यो कम्पनी २७ जुलाई २०१२ देखि निस्क्रिय रहेको डेटाबेसमा उल्लेख छ।
अरुण नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीका भाइ र चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर हुन्। शीला उनकी पत्नी र सूर्यांश र करण उनका छोराहरु हुन्।
त्यसैगरी पनामा पेपर्समा भेटिएको अर्को नाम उमादेवी सिंहानियाको ठेगाना ईश्वर निवास, थापाथली रहेको छ। यसअघि उनको ठेगाना पनि डेटाबेसमा गलत देखिएको थियो।
यस्तै ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता भएका र हालसम्म पनि सक्रिय दुई अफसोर कम्पनीहरु फिक्स युनियन होल्डिङ्ग्स र गोल्डेन सिम्बल इन्टरनेसनल लिमिटेडका सेयरहोल्डर रहेका नवाङ डोल्माको ठेगाना जोरपाटी-२ काठमाडौँ राखिएको छ। यसअघि उनको ठेगना पनि गलत नै थियो।
पनामा पेपर्समा उल्लेख भएको एनआरएनका पूर्व अध्यक्ष उपेन्द्र महतोको ठेगाना कर्जना, सिराहामा भने परिवर्तन भएको छैन। महतोले आफूले विदेशमा कमाएको रकम विदेशमा कानुन अनुसार लगानी गरेको दावी गर्दै विज्ञप्ति जारी गरिसकेका छन्। नाम आएका अरुले भने यसबारे आधिकारिक रुपमा केही बताएका छैनन्।
सम्बन्धित समाचारहरु
एक्सक्लुसिभ : अफसोर कारोबार गर्ने थप नेपालीको खुलासा
एनसेलसँग 'पनामा पेपर्स' लिकको लिङ्क : कर्मचारी नभएको कागजी कम्पनीको नियन्त्रण
के हो पनामा पेपर्स?
ब्रिटिस भर्जिन आइल्यान्डस, स्विटजरल्यान्ड, साइप्रस, सिंगापुर जस्ता कर सम्बन्धी प्रावधान खुकुलो भएका देश र क्षेत्रहरु, जसलाई अफसोर भनिन्छ, मा कम्पनी खोल्न सहयोग गर्ने एउटा ल फर्म 'मोस्साक फोन्सेका'बाट लिक भएका डिजिटल डकुमेन्टहरुलाई नै पनामा पेपर्स भनिएको हो। यो ल फर्म पनामामा दर्ता भएको भएर यसलाई पनामा पेपर्स भनिएको हो। मोस्साक फोन्सेका यस्ता अफसोर कम्पनी फ्याक्ट्रीहरु झैँ दर्ता गर्ने विश्वका कयौँ कम्पनीमध्ये एक मात्र हो। ४२ देशमा ६०० जना यसका लागि काम गर्छन्। यसले गर्ने गैरकानुनी कामबारे अमेरिकाको भाइस म्यागेजिनले सन् २०१४ मै विस्तृत अनुसन्धानमूलक समाचार प्रकाशित गरेको थियो।कानुनी कि गैरकानुनी?
अफसोर इन्डस्ट्रीमा कानुन अनुसार प्रदान गरिएको अधिकांश सेवा कानुनी नै हुन्छन्। तर यी कागजातहरुले बैँक, ल फर्म र अरु अफसोर प्लेयरहरुले कानुनी आवश्यकता पूरा नगरेको देखाएको आइसिआइजेको दावी छ। खासमा आपराधिक संस्था हो कि हैन, ट्याक्स डजिङ वा राजनीतिक भ्रष्टाचार छ कि छैन उनीहरुले निश्चित गर्नुपर्ने हुन्छ। तर फाइलहरुका अनुसार अफसोर मिडिलम्यानहरुले शंकास्पद कारोबारबाट आफू र आफ्ना ग्राहकहरुलाई जोगाएको, अफिसियल रेकर्डहरु म्यानिपुलेट गरेको देखिएको आइसिआइजे बताउँछ।नेपालको कानुनमा के छ ?
२०२१ सालमा लागू भएको र २०६६ सालमा संशोधन भएको विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ ले नेपालभित्र वा बाहिर जहाँसुकै रहे बसेको भए तापनि सबै नेपाली नागरिक र नेपालभित्र स्थापित भएको संगठित संस्थाहरुले विदेशमा कुनै किसिमको लगानी गर्न प्रतिबन्ध लगाएको छ।यो ऐन र ऐन अन्तर्गत जारी गरिएको सूचना, आदेश वा निर्देशनको उल्लङ्घन गरी कुनै काम कुरा गरेमा बिगोबमोजिम जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था ऐनले गरेको छ।