काठमाडौं : ललितपुरको गोदावरीस्थित बडेगाउँमा एक स्कुल नजिकको पर्खाल भत्किँदा दुई जना विद्यार्थीको ज्यान गएको छ भने २० जना घाइते भएका छन्।
अविरलको वर्षापछि पुष्पाञ्जली माध्यमिक विद्यालय नजिकै रहेको पर्खाल भत्किँदा दुई जना विद्यार्थीको मृत्यु भएको हो। मृत्यु हुनेमा कक्षा ३ मा अध्ययनरत ९ वर्षीया कृपा राई र १० वर्षीया अञ्जना पुन मगर रहेका छन्। उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो।
पर्खाल भत्किएपछि कक्षाकोठामा बसेर पढिरहेका ती विद्यार्थी थिचिएका थिए। घाइते अन्य विद्यार्थीहरुलाई उपचारका लागि बीएन्डबी अस्पताल र पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ।
विद्यालय नजिकै जग्गा प्लानिङ गर्ने समूहले पर्खाल बनाएको र त्यसको निर्माण कमजोर भएकाले यो क्षति भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले बताए। 'जग्गा प्लालिङ गर्नेको लापरबाहीका कारण यो घटना भएको हो,' उनले भने, 'प्लानिङ गर्नेहरु अवश्य कारबाहीको दायरामा आउँछन्।'
पहिरोले दुई घर पुरिए
उता अविरल वर्षाका कारण पहिरो जाँदा बैतडीको गोकुलेश्वरमा दुई घर पुरिएका छन्।गोकुलेश्वर–१ बागाबगरमा पहिरो जाँदा दुई घर पुरिएका हुन्। पहिरोले धनी भुल र राजु भुलको घर पुरिएको गोकुलेश्वर प्रहरी चौकीका इञ्चार्ज भीमबहादुर मल्लले जानकारी दिए।
सो घटनामा घरमा रहेको अन्नपात, ६ वटा बाख्रा, एक हल गोरु र एक गाई पुरिएका छन्। पहिरोबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए।