PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

​आदित्यलाई एक करोड : पहिलेको रकम फिर्ता गरेको भन्दै प्रधानमन्त्रीले यसरी झुक्याए



पहिलोपोस्ट

​आदित्यलाई एक करोड :  पहिलेको रकम फिर्ता गरेको भन्दै प्रधानमन्त्रीले यसरी झुक्याए

काठमाडौँ :  प्रधानमन्त्री केपी ओलीले गुगल ब्वाई आदित्य दाहाललाई पहिले नै दिएको एक करोड रुपैयाँ सहयोग पूरै खर्च नगरी उनका आफन्तले सरकारलाई फिर्ता गरेकोले अहिले त्यसैमा केही रकम थपेर दिएको बताएका छन्। 

एक करोड रुपैयाँ सहयोग गर्ने आफ्नो सरकारको निर्णयको चर्को आलोचना भएपछि गएराति प्रधानमन्त्रीसँग सीधा कुरा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो निर्णयको बचाउमा विभिन्न तर्क दिएका हुन्। 

'उपचारका निम्ति दिएकोबाट थोरै रकम बाहेक अरु सरकारलाई फिर्ता गरेको थियो, त्यसमाथि केही लाख थप गरेर फेरि आदित्य दाहाललाई दिएको हो', प्रधानमन्त्री ओलीले भने। 

उनले कार्यक्रममा भने, 'एक पटक आदित्य दाहालले नै लेखेछन् कि अमेरिकाको स्टानफोर्ड अस्पतालमा मेरो उपचार हुनसक्छ। एकपटक त्यहाँ लगे ठीक हुन्छ भनेपछि त्यहाँ लाने काम भयो। र, अघिल्लो सरकारले उनको उपचारको लागि एक करोड रुपैयाँ दिएको थियो।'

'त्यसबाट केही लाख मात्रै खर्च भो, बाँकी अस्पतालले मिनाहा गरिदियो। जब आदित्यका असाधारण लक्षणहरु अस्पततालले देख्यो, डाक्टरले देख्यो, त्यसपछि गरिदियो। र, आदित्य दाहाललाई उपचारका लागि दिएको जो पैसा बचेको थियो, त्यो आफै पनि राख्न सक्थे उनीहरुले। किनकि उपचार त कन्टिन्यु नै थियो। तर उनीहरुले ल्याएर त्यो पैसा सरकारलाई फिर्ता गरिदिए। हाम्रो उपचारमा यति मात्रै लाग्यो र अरु चाहिँ सरकारको अस्पतालले गरिदएको हुनाले हामी फिर्ता गर्छौँ भनेर दियो', उनले भने। 

आफ्नो सरकारले गरेको निर्णयलाई 'औचित्यपूर्ण कुरा' भन्दै उनले भने, 'उहाँहरुले पहिलेको सरकारले दिएको एक करोड पनि फिर्ता गर्नुभो। थोरै मात्र खर्च गर्नुभयो, फिर्ता गर्नुभो। त्यसमा अलिकति रकम थपेर फेरि यसपल्ट दिएको हो।'

कहिले भएको थियो करोड दिने निर्णय?

पोहोर वैशाख १२ गतेको महाभूकम्पले जनजीवन अस्तव्यस्त भएको अवस्था थियो। बारम्बार परकम्प गइरहेका थिए। भूकम्प गएको पाँच दिन मात्र हुँदा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा यो निर्णय गरेको थियो। मन्त्रिपरिषद्को बैठकको निर्णयमा 'औषधोपचार खर्च उपलब्ध (आदित्य दाहाल) गराउने' मात्र लेखिएको छ। 



अर्थ मन्त्रालयले सार्वजनिक गरेको २०७२ वैशाख महिनाको रकमान्तर विवरणमा भने मन्त्रिपरिषद्को सो निर्णय अनुसार आर्थिक सहायता शीर्षकमा भएको रकमान्तर विवरण उल्लेख छ। 
 

प्रधानमन्त्रीले ढाँटे

प्रधानमन्त्री ओलीले एक करोड रुपैयाँ उपचार खर्चवापत् आदित्य दाहालको परिवारलाई उपलब्ध गराएको र थोरै रकम लिएर बाँकी फिर्ता गरेको भने पनि त्यो गलत रहेको अर्थ मन्त्रालयको विवरणबाट देखिन्छ। 

२०७२ वैशाख महिनाको रकमान्तर विवरणमा बजेट उपशीर्षक नम्बर ६०२०१५३ मा मन्त्रिपरिषद्को निर्णय अनुसार आदित्य दाहाललाई अमेरिकामा लगी उपचार गराउँदा बढीमा १ करोडसम्मको बिल अनुसारको रकम अमेरिकास्थित नेपाली राजदूतावासमार्फत् नियमानुसार उपलब्ध गराउने गरी परराष्ट्र मन्त्रालयको नाममा रकम निकासा भएको देखिन्छ। 


प्रधानमन्त्रीले आदित्य दाहालको परिवारले एक करोड रकम हातमा परे पनि खर्च नभएको भन्दै फिर्ता गरेको बताए पनि वास्तवमा रकम परराष्ट्र मन्त्रालयको नाममा निकासा भएको हो। उक्त रकम उपचारमा लागेको बिल अनुसार अमेरिकास्थित नेपाली राजदूतावासमार्फत् खर्च हुने प्रावधान थियो। 

उपचार खर्चमा अनियमितता बढेपछि सरकारले अस्पतालको बिल अनुसार मात्र भुक्तानी गर्ने प्रावधान निकै अघिदेखि लागू गरिसकेको छ।    

भूकम्पपीडितलाई राहतमा भएन, आदित्यको नाममा 'राष्ट्रिय सहमति'

प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी नेता पुष्पकमल दाहाल गुगल ब्वाईलाई लिएर आफूकहाँ आएर 'यो प्रतिभाको कारणले, विलक्षणताको कारणले सुरक्षाको पनि समस्या भयो, एउटा गाडी दिनुपर्योद' भनेर भनेको सुनाए। 

'ध्यान इत्यादि समेत गर्ने गरी र आवास पनि हुने गरी हल पनि हुने गरी जमिन सरकारले दिनुपर्योु र त्यस्तो आवास र ध्यानगृह बनाउनका निम्ति सरकारले रकम पनि दिनुपर्यो  भनेर उहाँहरुले माग गर्नुभयो', उनले अगाडि भने, 'जब देशका प्रमुख पार्टीहरु सत्तापक्ष प्रतिपक्षको यस प्रकारको माग छ भने मैले त्यसमा चैँ नकारात्मक ढंगले सोच्नुपर्ने कुनै कारण हुँदैन।'

तर भूकम्पपीडितलाई एकमुष्ट २ लाख रुपैयाँ दिनुपर्ने माग गरी प्रतिपक्षी कांग्रेसले पटक पटक संसद अवरुद्ध गर्दासमेत प्रधानमन्त्री ओली त्यसका लागि राजी भएका थिएनन्। माओवादीले भने भूकम्पपीडितलाई एकमुष्ट तीन लाख रुपैयाँ दिनुपर्ने माग गरेको थियो। 

प्रधानमन्त्री ओलीले त्यतिबेला भूकम्पपीडितलाई एकमुष्ट रकम दिन विश्व बैँकलाई सोध्नुपर्ने तर्कसमेत गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell