PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

कांग्रेस बैठक : अविश्वास प्रस्ताव सफल बनाउने तथा एमालेसहितका दलसँग संवाद बढाउनेमा केन्द्रित



पहिलोपोस्ट

कांग्रेस बैठक : अविश्वास प्रस्ताव सफल बनाउने तथा एमालेसहितका दलसँग संवाद बढाउनेमा केन्द्रित

काठमाडौ: समसामयिक राजनीतिक अवस्थाका विषयमा बिहानदेखि छलफलमा जुटेको नेपाली कांग्रसका अधिकांश केन्द्रीय सदस्यले अविश्वासको प्रस्तावलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन्।
 
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध माओवादी केन्द्रसहित कांग्रेसले संसदमा अविश्वास प्रस्ताव दर्ता गराइसकेको छ।
 
सानेपामा जारी बैठकका सभापति शेरबहादुर देउवाले वर्तमान राजनीतिक परिस्थितिका बारेमा जानकारी गराएका थिए। सदस्यहरुले भने अविश्वास प्रस्तावलाई प्रभावकारी रुपमा सफल पार्ने तथा भावी सरकार गठन र नेविसंघको महाधिवेशनका सम्बन्धमा बोलेका थिए।
 
 
नयाँ सरकार गठनका लागि माओवादी केन्द्रसँग भएको सहमतिलाई प्रभावकारी ढङ्गले परिचालन गर्ने, संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणका लागि एमाले लगायतका दलसँग संवादको संयोजन र नेतृत्व गर्नुपर्ने विषयमा छलफल केन्द्रित भएको नेता अर्जुननरसिंह केसीले बताए।
 
नेत्री सुजाता कोइरालाले संविधान कार्यान्वयन र मुलुकका जटिल समस्या समाधानका लागि कांग्रेसले र एमाले लगायतका दलसँग मिलेर अघि बढ्नाको विकल्प नरहेको बताएकी छन्। कांग्रेसकै कारण मुलुकको राजनीति अस्थिर हुन नहुनेमा जोड दिँदै उनले सरकार ढाल्ने बारेमा जनतालाई स्पष्ट जानकारी दिनुपर्ने धारणा राखिन्।
  
बैठकमा नयाँ गठबन्धनका बारेमा केन्द्रीय समितिले धारणा बनाउने र त्यसलाई स्थानीय तहमा लैजाने बारेमा पनि छलफल भएको छ।
 
नयाँ सरकार गठनमा चुनौती छ भन्ने अफवाहका बारेमा संसदीय प्रणालीमा त्यस्तो कुनै संवैधानिक जटिलता नरहेको निष्कर्षमा पार्टी पुगेको नेता महेश आचार्यले जानकारी दिए। पद लम्ब्याउन कसैले पनि संविधानको अपव्याख्या गर्न नहुने पार्टीको धारणा रहेको भन्दै उनले भने, 'प्रधानमन्त्री ओलीले त्यस्तो गर्नुहुँदैन भन्ने पार्टीको विश्वास छ। हाम त्यसरी नै अघि बढ्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell