PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

प्रचण्ड प्रधानमन्त्री हुँदा संसदका रोचक ६ दृश्य



मनोज सत्याल

प्रचण्ड प्रधानमन्त्री हुँदा संसदका रोचक ६ दृश्य

काठमाडौँ : प्रधानमन्त्रीमा ३ सय ६३ मत ल्याएर निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहान १० बजेअघि नै संसदमा पुगेका थिए। 

प्रधानमन्त्रीको उम्मेदवारी दर्तामा समर्थन जनाए पनि मधेसी गठबन्धनसँग नमिलिरहेको वार्ता मिलाउने चुनौति उनलाई थियो। बिहान ११ बजेका लागि डाकिएको संसद बैठक माओवादी- कांग्रेस मधेसी गठबन्धनको वार्ताकै कारण डेढ घण्टा धकेलिएको थियो। 

प्रचण्ड प्रधानमन्त्री निर्वाचित हुँदाका ६ दृश्य 

१)    प्रचण्डको ओलीलाई जवाफ – महाभारत र अभिमन्युको कथा

अविश्वासको प्रस्तावको सामना गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महाभारतमा अभिमन्युलाई रहस्यपूर्ण चक्रमा फँसाए जस्तै आफूलाई फँसाइएको भन्दै गरेको टिप्पणीमा प्रचण्डले जवाफ दिए। प्रचण्डले भने – 'संसदमा महाभारतको प्रवेश भयो, अभिमन्युको प्रवेश भयो। नयाँ सरकार गठनको सामान्य लोकतान्त्रिक प्रक्रियालाई रहस्यमय षड्यन्त्रको रुपमा व्याख्या पनि गरियो। हिजोसम्म काँध मिलाएर राष्ट्रिय स्वाभिमानको लडाँइ लड्ने योद्धाहरुलाई निकै गम्भीर आरोपहरु प्रस्तुत गरिए।'

२)    देउवाले भने - के बोल्ने, के बोल्ने?

प्रधानमन्त्रीका उम्मेद्वार प्रचण्डका प्रस्तावक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदको रोष्टममा पुगेर सुरुमै सबैलाई हँसाए। प्रचण्डको लामो उम्मेद्वारी भाषण सुनेर रोष्टम उक्लिएका देउवाले सुरुमै भने – मलाई बडा अप्ठेरो भएको छ- के बोल्ने, के बोल्ने? देउवाले अविश्वासको प्रस्ताव सामाना गर्ने क्रममा केपी शर्मा ‌ओलीको भाषण आफूले गज्जबसँग सुनेको र आज प्रचण्डको भाषण पनि त्यसैगरी सुनेको बताए। उनले भने – 'कति कुरा सोचेको थिएँ, ती सबै नबोल्ने विचार गरेँ।' देउवाले यति भनेपछि संसद भवनमा हाँसो फैलियो।

३)    माओवादीकै सांसद अनुपस्थित

संसदमा प्रधानमन्त्री चयनका लागि भएको मतदानमा माओवादीकै सांसद योगन्द्र घिसिङ अनुपस्थित भए। मत विभाजन अघि बजाइएको तीन मिनेट घण्टीको समयभित्र उनी प्रवेश गर्न भ्याएनन् र मत दिनबाट चुके जसका कारण प्रचण्डको एक मत कम भयो। संसद बैठक निर्धारित समयमा सुरु नहुँदा र प्रचण्डका प्रस्तावकहरु बोल्ने धेरै भएपछि खाजा खान अधिकांश सांसद बाहिरिएका थिए। 

४)    पहिलो बधाई सुवासचन्द्र नेम्वाङको

प्रधानमन्त्री निर्वाचित भएको घोषणा भएलगत्तै हात मिलाएर सबैभन्दा पहिला प्रचण्डलाई पूर्व सभामुख एवम् एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बधाई दिए। नेम्वाङ र प्रचण्डको कुर्सी सँगैसँगै थियो। लगत्तै उनलाई भरतमोहन अधिकारीले पनि बधाई दिए। त्यसपछि भने प्रचण्डलाई खादा लगाइदिने पार्टीका सांसदहरुको भिड लागेको थियो। नेम्वाङ प्रचण्डको प्रतिस्पर्धी बन्ने चर्चा चले पनि अन्तिम समयमा एमालेले उम्मेद्वारी नदिने घोषणा गरेको थियो। 

५)    बाहिरिँदा बोलेनन् ओली 

प्रधानमन्त्री प्रचण्डभन्दा पहिला संसद भवनबाट बाहिरिएका ओली पत्रकारहरुले बोलाउँदा समेत बोलेनन्। पत्रकार ऋषि धमलाले 'सोचेर मात्र बोल्नुहुन्छ' भन्दै फुर्क्याउने प्रयास गरे पनि ओली न त मुस्कुराए, न त केही टिप्पणी नै गरे। सुरक्षाकर्मीको घेरामा रहेका उनी गाडी पर्खिरहे र पत्रकारहरु भएकोभन्दा अर्को तर्फबाट बाटो लागे।

६) प्रचण्ड पनि नबोली बाटो लागे

प्रधानमन्त्री चयन भएपछि खादा र रातो टीका लगाएर बाहिरिएका प्रचण्डले पत्रकारहरुको अघि हात हल्लाए र मुस्कुराए। तर उनले पनि कुनै प्रतिक्रिया दिएनन्। प्रचण्ड पुत्र प्रकाश दाहालले अहिले नबोल्ने भन्दै अर्कोतर्फबाट जाने बाटो बनाए। त्यसअघि संसद भवनकै ल्होत्से हलमा प्रचण्डले बोल्ने जानकारी पत्रकारलाई दिए पनि प्रचण्ड त्यहाँ पुगेनन्। प्रचण्ड गाडीमा चढेपछि एक अपाङ्गले हातमा रहेको फूल दिन खोजे पनि उनको सवारी रोकिएन। 

६)    कमल थापाले गरे ‌ओलीको तारिफ 

संसद् भवनबाट बाहिरिने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ प्रधानमन्त्रीलाई बधाई दिए। अनि भने – ‘चुनौतिपूर्ण र कठिन पृष्ठभूमिमा जिम्मेवारी वहन गर्नुभएको छ।‘ उनले सफल कार्य गरेर ‌ओली सरकारको बहिर्गमन भएको बताए। अनि तारिफमा थपे – ‘तीन बुँदे समझदारीमा एकाध प्राविधिक विषय (सहिद घोषणा र न्यायिक छानबिन) बाहेक नयाँ केही छैन। यो ओली नेतृत्वको सरकारको सफलता हो।‘ 

प्रचण्ड पुत्र प्रकाश दाहाल।








  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell