काठमाडौँ : विश्व फुटबल महासंघ (फिफा) को टेलिभिजनले 'हिमालयन मेस्सीलाई भेट्नुस्' भन्दै नेपालको फुटबलबारे कार्यक्रम बनाएको छ।
१२ मिनेटको कार्यक्रमलाई युट्युबमा पनि अपलोड गरिएको छ। कार्यक्रममा नेपालका मुख्य प्रशिक्षक जापानी नागरिक कोजी ग्योत्कु, स्ट्राइकर नवयुग श्रेष्ठ र महिला फुटबलका स्टार अनु लामाको भनाई राखिएको छ।
'क्लबबाट खेल्नुभन्दा नेपालको झण्डा भएको सर्ट लागेर खेल्दा गजबको अनुभूति हुन्छ', नवयुगले भनेका छन्, 'एउटा अर्को खालको शक्ति आए जस्तो लाग्छ।'
'म प्रोफेसनल खेलाडी हुँ। मलाई स्टार भन्छन्। त्यो मिडियाले बनाउने हो म चाहिँ आफूलाई फुटबलरको रुपमा लिन्छु', उनले भनेका छन्।
कार्यक्रममा हिमालयन मेस्सीका रुपमा भने निर्देशक भोजराज भाटद्वारा निर्देशित चर्चित डकुमेन्ट्री 'सुनकली' का पात्रलाई देखाउन खोजिएको छ। 'सुनकली' विकट मुगु जिल्लाका महिला खेलाडीहरुको सफलताको कथा हो।
८० बढी अन्तर्राष्ट्रिय महोत्वसवमा सहभागी जनाइसकेको यो डकुमेन्ट्रीले अहिलेसम्म १८ वटा अन्तर्राष्ट्रिय अवार्ड पाइसकेको छ।
'यहाँ दुई वटा नेपाल छ, एउटा सबैले देख्ने नेपाल र एउटा नेपाली धेरैले नदेखेको नेपाल', निर्देशक भाटले पहिलोपोस्टलाई भने, 'यही धेरैले नदेखेको नेपाल र त्यहाँको फुटबल प्यासनलाई मैले डकुमेन्ट्रीबाट देखाउन खोजेको थिएँ। फिफाले यो विषय शामेल गरेर फुटबल भनेको पैसाको मात्र हैन प्यासनको पनि विषय हो भन्ने देखाएकोमा म खुसी छु।'
हेर्नुस् भिडियो-
यसअघि फिफा टिभीले 'नेपाल फुटबल स्टार्स किप ड्रिम्स अलाइभ' शीर्षकमा बुधबार भिडियो सार्वजनिक गरिसकेको छ। उक्त भिडियोमा राष्ट्रिय टीम तथा त्रिभुवन आर्मीका मिडफिल्डर राजु तामाङ फिचर छन्। उनको व्यक्तिगत र भूकम्पपछिको अवस्थाबारे कुराकानीका आधारमा भिडियो तयार पारिएको छ। यस्तै, राष्ट्रिय टीमका कप्तान अनलि गुरुङलाई पनि भिडियोमा देख्न सकिन्छ।