एकाविहानै कल आएपछि महेश्वर राजभण्डारीले उठाए। फोन उठ्नासाथ परिचित युवक बोल्न थालिहाले, 'मैले रक्सी खान छोडिसके पूरै भेज भएको छु। अब फलफुल मात्र खाएर बलियो भएर फेरि सँगै गीत गाउनुपर्छ।'
फोनमा बोलिरहेका युवा सुनील बर्देवा थिए। एक साताअघि फोनमा कुरा गरेका सुनीलसँग महेश्वरले सँगै काम गर्न त पाएनन्। उनीसँग अब स्मृतिमात्र बाँकी छ - सुनील बर्देवाको।
'फोनमा त्यति कुरा भयो। त्यसपछि उनले सुनिलको आवाज सुन्न पाइन,' महेश्वरले भने, 'फेरि मिलेर गीत गाउने उसको प्रस्ताव सधैका लागि बन्द भयो।'
फोनपछि सुनिलसँग उनको भेट टिचिङ अस्पतालमा भयो जतिखेर उनले आँखा चिम्लिसकेका थिए।
एक वर्षअघि चन्डोलको घर बेचेर धुम्बाराहीमा नयाँ घर किनेर एकलै बस्दै आएका थिए बर्देवा। दुई वर्षअघि नै पत्नीको मृत्यु भएको थियो। छोराछोरीहरु पढाइका लागि उनीभन्दा टाढै थिए।
यस्तो एक्लोपनमा उनको साथी बनेको थियो मदिरा। 'हामीले पटकपटक उसलाई 'रक्सी छोड' भन्यौं तर मानेन,' उनले सुनाए।
जसले सुनिललाई रक्सी छोड्ने सल्लाह दिन्थ्यो त्यो उसको दुष्मन झै बन्थ्यो।
बर्देवालाई दुई महिनादेखि जन्डिसले समातेको थियो। जन्डिस भएका कारण उनी दुई महिनादेखि घरमा नै आराम गरेर बसेका थिए। विरामी हुँदा पनि उनले मदिरा छाडेनन्। मंगलबार साँझ पनि उनले पिए र अचेत भए। त्यही घरमा डेरामा बस्ने एक युवकले उनलाई हत्तपत्त अस्पताल पुर्याए तर उनीको शरीरमा प्राण थिएन।
अत्याधिक मदिरा पिउने भएकाले सुनिललाई पटकपटक सुधार केन्द्र समेत राखिएको महेश्वरले बताए। 'उसको सानै देखिको बानी थियो, देउसी खेल्न जादा समेत सुटुक्क रक्सी खान्थ्यो,' उनले भने, 'हामी विहान उठेर चिया खान्थेउँ, उ रक्सीले मुख कुल्ला गर्थ्यो।'
गोरेटो अनि उस्तै छ गल्लीबाट संगीत क्षेत्रमा परिचित बर्देवाको पिउने बानीले पत्नीसमेत आजित थिइन् जो उनीभन्दा अघि नै वितिन्। गीत गाउँदा समेत उनको पिउँथे। उनका दुई छोरी र एक छोरा छन्।
केही समय अघि वितेका लोकगायक खेमराज गुरुङको पनि मृत्युको कारण रक्सी नै थियो।