काठमाडौँ : चिनियाँ राष्ट्रपति सि जिन पिङले नेपाल र चीनबीच उच्च राजनीतिक स्तरमा संवाद हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्।
भारतको गोवामा जारी ब्रिक्स-बिमस्टेक आउटरिच मिटिङका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको साइडलाइन मिटिङमा पिङले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
'दुवै पक्षले एक अर्काको उच्च तहमा राजनीतिक संवाद गर्न जरुरी छ,' सीले चिन्ता व्यक्त गर्दै भने, 'एक अर्काको मुख्य स्वार्थ बुझेर दुई पक्षले सहयोग जारी राख्नुपर्छ।'
उनले दुई पक्षबीचको सम्बन्ध मजबुत बनाउँदै विकास गर्न दुई पक्षीय संवाद, स्वतन्त्र व्यापार संझौता, उर्जा र अन्य क्षेत्रको सहयोग र विकास जारी राख्ने विषयमा पनि प्रतिबद्धता जनाएका थिए।
चिनियाँ राष्ट्रपति सिले नेपालसँग चीनको सम्बन्ध विश्वमा जस्ताखाले अवस्था सिर्जना हुँदा पनि नचिस्सेको भन्दै त्यसलाई अबका दिनमा पनि कायम राखेर अघि बढाउनु पर्ने बताए।
फोटो : कृष्णहरि पुष्कर
भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल भ्रमणको निम्तो दोहोर्याएका थिए। जवाफमा चिनियाँ राष्ट्रपति सिले नेपाल भ्रमणका लागि आफू तयार नै रहेको उल्लेख गर्दै अनुकुल समयमा छिट्टै नेपालको भ्रमणको मिति तय गर्ने बताएका थिए।
दुई नेताबीच भएको भेटमा एक अर्काको सहयोग बढाउने तथा विकासलाई फराकिलो घेरामा विस्तारका लागि पूर्वाधार विकास, कनेक्टीभिटी, व्यापार, ट्रान्जिट, पर्यटन तथा जनता - जनताबीचको सम्बन्ध विस्तारका विषयमा कुराकानी भएको थियो।