PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

यौन दुर्व्यवहारको खण्डन गर्दै क्रिकेट प्रशिक्षक राजु बस्न्यातले भने - मेरो चरित्र हत्या भयो



पहिलोपोस्ट

यौन दुर्व्यवहारको खण्डन गर्दै क्रिकेट प्रशिक्षक राजु बस्न्यातले भने -  मेरो चरित्र हत्या भयो

काठमाडौं : नेपाली महिला क्रिकेटको टोलीमाथि दुर्व्यवहार गरिएको भन्दै प्रकाशित समाचारको खण्डन गर्दै महिला टीमको प्रशिक्षक राजु बस्न्यातले यो सरासर गलत भएको र आफ्नो चरित्र हत्या गर्ने काम गरेको बताएका छन्।

उक्त समाचारले आफ्नो चरित्रमा  ठुलो आघात पुर्याएको भन्दै राजुले भने, 'अभद्र व्यवहार त म सोच्नसम्म पनि सक्दिनँ, जुन समाचार आएको छ। त्यसले मेरो चरित्र हत्या गर्ने काम गरेको छ। यसले मेरो मान मर्यादामा मात्र आघात पुर्याएको छैन। समग्र नेपाली क्रिकेट धरासायी बनाउने काम गरेको छ।' 

'केही व्यक्तिहरुको प्रयोगका कारण यस्तो भएको हो, यसमा मेरो कुनै संलग्नता छैन।'

उनले यस्ता खराब कुराका बारेमा लेख्नु भन्दा नेपाली क्रिकेट र हौसला बढाउने समाचार लेख्न पनि आग्रह गरे। 'आगामी दिनमा राम्रो खेल्न र हौसला प्रदान गर्न आग्रह गर्दछु', उनले भने।

'नेपाली क्रिकेटलाई अगाडि बढाउन आफू निरन्तर लाग्ने प्रतिवद्धता जनाउँछु। र आगामी दिनमा फेरि यस्ता खबर बाहिर आए कानुनी लडाईँमा समेत जानेछु,' उनले भने। 

उनले यस्ता दुर्व्यवहार गरेको भए आफूहरुले कसरी सफलता हात पार्‍यौँ भन्दै प्रश्न गरे।
 
प्रशिक्षक राजु बस्न्यातलाई समर्थन गर्दै कप्तान रुविना क्षेत्री लगायत खेलाडीहरु नेरी थापा, सिता थापा मगर र इन्दु वर्माले समेत यो सबै समाचार सत्य नभएको दावी गरे।

'समाचार एकदमै गलत हो, अझ त्यसमा आएका शब्दहरुले झन् हामीलाई निराश बनाएको छ। हामीलाई रिस पनि उठेको छ। हामीले टीममा भएका आफ्ना समस्याहरु समाधान गरिसक्दा पनि यस्ता झुटा समाचार आएका छन्। यसले हाम्रो एकदिनको ट्रेनिङ समेत रोकिएको छ। यो समाचारले हामी सबैलाई दुखी बनाएको छ।'

कप्तान रुविनाले भनिन्, 'हुँदै नभएका विषयमा पनि बारम्बार समाचारहरु आइरहेका छन्। यस्तो दुर्व्यवहार भएको भए हङकङमा हाम्रो प्रदर्शन पनि राम्रो हुने थिएन।'

सीता राना मगर, नेरी थापा र इन्दु वर्माले पनि पत्रिकामा आएजस्तो नभएको र समाचारले आफूहरु निकै दुःखी भएको बताए।
 
यसअघि प्रशिक्षक राजुले खेलाडीहरुमाथि दुर्व्यवहार गरेको, मदिरा खुवाएको, गालिगलौज गरेको जस्ता आरोपसहित अन्नपूर्ण पोस्टनयाँ पत्रिकामा समाचार मंगलबार प्रकाशित भएको थियो।

यस्तै ६ जना खेलाडीहरुले राष्ट्रिय खेलकुल परिषद् राखेपमा उजुरी गरेको समेत प्रकाशित भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell