PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

महाभियोगका प्रस्तावकहरु किन शिथिल भए? बुझ्न सकेको छैन : चीनकाजी श्रेष्ठ



रमेश वाग्ले

महाभियोगका प्रस्तावकहरु किन शिथिल भए? बुझ्न सकेको छैन : चीनकाजी श्रेष्ठ

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावका प्रस्तावकहरु शिथिल हुँदै गएको बताएका छन्। 

पहिलोपोस्टसँगको कुराकानीमा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले महाअभियोग प्रस्तावलाई छापामार युद्धको शैलीमा लैजानेहरु संसद्मा अहिले अलमलिइरहेको बताए। 

‘संसद्को छलफल सकिएपछि मात्र महाअभियोग सिफारिस समितिले काम थाल्न पाउँछ,’ श्रेष्ठले भने, ‘तर छिटो गरेर प्रस्ताव अघि बढाउन प्रस्ताव गर्नुपर्ने महाअभियोगका प्रस्तावकहरु त्यसको औचित्य नै घटाउनेगरी शिथिल देखिन्छन्।’ उनले कांग्रेसले प्रस्तावमा बेखबर बस्नुपरे पनि सक्रियतापूर्वक भाग लिइरहेको भन्दै रातारात महाअभियोग लानेहरु शिथिल बनेको बताए।
 
‘सभामुखको भूमिका तटस्थ हुनुपर्छ म उहाँको भूमिकामा प्रश्न उठाउँदिनँ,’ सचेतक श्रेष्ठले भने, ‘तर, छापामार शैलीमा महाअभियोग प्रस्ताव लैजानेहरु किन यसरी शिथिल बनिरहेका छन्, मलाई रहस्यमय लागिरहेको छ।’ प्रस्तावकहरुको निस्क्रियताबारे आफूले प्रश्न समेत गरिसकेको उनले बताए। 

‘संसद्को कार्यव्यवस्था परामर्श समितिमा मैले पटक-पटक प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउन ढिला भएको कुरा उठाएको हुँ तर खै उहाँहरु त्यसलाई सिरियस्ली लिइरहनुभएको छैन,’ उनले भने। महअभियोग प्रस्ताव लगिसकेपछि संसदीय क्रियाशीलता बढ्नुपर्नेमा त्यसो हुन नसकेको श्रेष्ठको भनाइ छ।

‘हामी त महाअभियोगका प्रस्तावक होइनौ र सांसद्हरुलाई आफ्नो धारणा राख्न स्वतन्त्र छोडिदिएका छौं,’ श्रेष्ठले भने, ‘तर हाम्रा सांसद्हरु चाहिँ प्रस्तावक जस्ता देखिएका छन् (गगन थापा, धनराज गुरुङ सहितका) तर उहाँहरुको क्रियाशीलता त्यस्तो देखिएको छैन।’


कांग्रेसले निर्णय गर्नै पर्दैन

प्रमुख सचेतक श्रेष्ठले महाअभियोगका विषयमा कांग्रेसले निर्णय गर्नु आवश्यक नभएको बताए। ‘नेकपा माओवादी केन्द्र र एमालेले महाअभियोग प्रस्ताव गर्दै त्यसलाई पारित गर्ने भनेर निर्णय गरिरहेका छन्, अब कांग्रेसले पनि निर्णय गर्ने हो भने महाअभियोग सिफारिस समितिमा किन लैजानुपर्योा?’ श्रेष्ठले भने, ‘त्यसैले कांग्रेसले प्रस्ताव पारित गर्ने वा नगर्ने भनेर निर्णय गर्दैन। प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनुअघि सांसद्हरुलाई ह्वीप जारी गर्छ।’ उनले संसद्मा महाअभियोग समितिले गर्ने काम तटस्थ र निष्पक्ष हुनुपर्ने भन्दै त्यसको प्रतिवेदन हेरेर मात्र कांग्रेसले आफ्ना सांसद्लाई ह्वीप जारी गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell