PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

प्रधानमन्त्री प्रचण्डले सोधे एमालेलाई तीन प्रश्न



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्डले सोधे एमालेलाई तीन प्रश्न

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल संविधान संशोधनमा नकरात्मक भएकाले आफू चिन्तित भएको बताएका छन्।

शनिबार प्रसारित प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलले नानाथरी कुरा गरेको आरोप लगाए।
सीमाङ्कन हेरफेर सहितको संविधान संशोधन प्रस्ताव अगाडि बढाउने तयारी सरकारले गरिरहँदा शनिबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले – प्रदेश नं ५ किन र केका लागि छुट्याउने भन्दै प्रश्न गरेका थिए।

प्रचण्डले सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रममा ‘एमाले राष्ट्रलाइ एकताबद्ध बनाएर जाने तर्फ गम्भीर छ?’ भन्दै प्रश्न समेत गरे।
 
‘सत्तापक्ष प्रतिपक्ष मधेसी मोर्चा/गठबन्धन सबैको समझदारी जुटाउने ढंगले वातावरण सकरात्मक बन्दै गएको देखेको छ’, उनले भने, ‘जति कुराहरु आइराखेको छन् र खासगरि प्रतिपक्षीले अलिक बढी नकरात्मक भएको देख्दा म अलिक बढी चिन्तित छु।‘
 
प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमलेलाई तीन प्रश्न समेत गरे

  • के उहाँहरुले राष्ट्रलाइ एकताबद्ध गर्न नचाहेको हो?
  • भन्दा संविधान कार्यान्वयन भन्ने अनि वातावरण बिगारेर भताभुङ्ग पार्न खोजेको हो त?
  • या आफैँले हिजो स्वीकार गरेको कुरालाइ अहिले औचित्य पुष्टि भएन भनेर कसलाइ भन्न खोजेको?

प्रचण्डले सबै प्रश्नहरुले शंका जन्माएको बताए। साथै उनले सबै एकबिन्दुमा आएर सहमत हुने विश्वास समेत व्यक्त गरे।
 
‘यदि साँच्चै संविधान संशोधन हुन पनि नदिने र राष्ट्रलाइ एकताबद्ध हुनपनि नदिने अनि चुनाव पनि हुन नदिने किसिमको परस्थिति बन्यो भने मैले आफ्नो जे अजेण्डा हो त्यहि अजेण्डामा जानुपर्ने हुन्छ’, प्रचण्डले भने।

सिधा कुरा कार्यक्रमका सञ्चालक बासुदेव शर्मा बबिनले ति के अजेण्डा हुन भन्ने प्रश्नमा उनले भने -  
‘त्यो भनेको मधेस, आदिवासी, जनजाती, थारु र अनि मजदुर किसान, पहाड, हिमाल, तराई सबैलाइ जोड्नलाइ हाम्रो जे अजेण्डा छ त्यहि अजेण्डामा नै संशोधन गर्नुपर्ने स्थिति आउनसक्छ।  अहिले त्यस्तो गर्न परोस् भन्ने मेरो चाहाना छैन।
सबैको सममति र समझदारीले होस् भन्नेतिर नै मेरो जोड छ।‘
 
प्रचण्डले ६ गते दलहरुको बैठक रहेको र त्यसमा सहमति भए वा नभए पनि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताए।

‘६ गते यो विषयमा अन्तिम रुपमा कुरा गर्ने भनिएको छ’, उनले भने, ‘मधेसी मोर्चा र गठबन्धनका साथीहरुले १५ दिनको समय भन्नु भएकै छ। यसभित्र समझदारी बनाएर संविधान संशोधनको प्रस्ताव दर्ता गर्नेमा सरकार प्रतिबद्ध नै छ। यदि त्यस्तो भएन भने पनि सरकारको तर्फबाट संशोधन प्रस्ताव दर्ता हुन्छ।‘

उनले सहमति बेगर संविधान संशोधन प्रस्ताव दर्ता भएपनि दर्ता भएपछि फेरी सहमतिको निम्ती कोसिस हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell