PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

'राजावादी दल' नेपालबाट निर्मूल, राप्रपा अब हिन्दुवादी, संशोधनमा हिन्दु धर्म नपरे पनि समर्थन



पहिलोपोस्ट

'राजावादी दल' नेपालबाट निर्मूल, राप्रपा अब हिन्दुवादी, संशोधनमा हिन्दु धर्म नपरे पनि समर्थन

काठमाडौं : संविधानसभा चुनावमा राजासहितको प्रजातन्त्रको एजेण्डा बोकेर समानुपातिकतर्फ ६ लाख बढी मत प्राप्त गरेको राप्रपा नेपालले राप्रपासँगको एकीकरणसँगै राजतन्त्र छोडेको छ।
 
पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा र कमल थापा अध्यक्ष रहेको राप्रपा नेपाल एकीकरण भएपछि अब राप्रपा 'सर्वधर्म समभाव र पूर्ण स्वतन्त्रसहितको सनातधन धर्म सापेक्ष हिन्दु राष्ट्र' को मुद्दामा आइपुगेको छ।
 
दुई पार्टी एकीकरणपछि पहिलो केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले भनेका थिए, 'एकीकरणपूर्व राप्रपा नेपाल संवैधानिक राजतन्त्रप्रति र राप्रपा गणतन्त्रप्रति प्रतिबद्ध रहेको यथार्थलाई दृष्टिगत गर्दै यस संवेदनशील विषयलाई पार्टीको आगामी महाधिवेशनबाट निराकरण गरिनेछ।' उनले राजतन्त्र छोड्ने शर्तमै एकीकरण भएको होइन? भन्ने प्रश्नमा 'त्यति बेलै थाहा पाइहाल्नुहुन्छ नि,' भन्ने जवाफ फर्काए।
 
राजतन्त्र छोडेर हिन्दु राष्ट्रमा आएको राप्रपाले अब संविधान संशोधनमा पनि हिन्दु राज्यलाई बटमलाइन नबनाई सहयोग गर्ने तयारी गरेको छ। उसले हिन्दु राज्यलाई पनि चुनावी मुद्दा मात्र बनाएर जाने तयारी गरेको छ।
 
'संविधान संशोधनका विषयमा हिन्दुराज्य हाम्रो विषय हो, अरुले यो विषय राखेनन् भने पनि हामी संशोधनलाई आलोचनात्मक समर्थन गर्नेछौं,' अध्यक्ष थापाले भने, 'मधेसी दलले उठाएका माग सम्बोधन गरेर देशलाई निकास दिनु अहिलेको आवश्यकता हो।' उनले देशको समस्या समाधान गर्नु मुल विषय भएको भन्दै पार्टीका विषय उठाउँदै जाने पनि बताए।
 
अध्यक्ष थापाले संविधान संशोधनमा व्यापक समर्थन आवश्यक हुने भन्दै सत्तामै रहेको राप्रपासँग समेत छलफल नगर्नु आपत्तिजनक भएको बताए।
 
सत्तारुढका विषयमा छलफल नभएको विषयमा राप्रपाका वरिष्ठ नेता डा.  प्रकाशचन्द्र लोहनीले पनि संविधान संशोधनको प्रक्रियामा आफूहरुको सहमति नलिएको प्रति असन्तुष्टि जनाएका छन्‍। 'राप्रपा नेपाल सत्ता साझेदार दल हो तर उहाँहरुले सत्तामा मात्र साझेदारी गरिरहनुभएको छ,' लोहनीले भने, 'सत्ता साझेदार व्यावहारिक रुपमा स्वीकार गरेको हो भने संविधान संशोधनसहित अधिकांश विषयमा हाम्रो सल्लाह लिन आवश्यक छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell