PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

एमालेको प्रवृत्ति दिउँसै रात पार्ने खालको : प्रधानमन्त्री



रासस

एमालेको प्रवृत्ति दिउँसै रात पार्ने खालको : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र मधेस केन्द्रित दलको सहमतिमा नै संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको बताएका छन्।  

नेकपा (माओवादी केन्द्र)को जारी पोलिटब्युरोको बैठकलाई सम्बोधन गर्दै उनले संविधानको सर्वस्वीकार्यता बढाउन सबै पक्षको छलफलमा नै अगाडि बढाइएको प्रस्तावलाई अहिले थाहा छैन भन्दै असन्तुष्टि प्रकट गर्नु जायज नभएको बताए। 

सरकारले प्रस्तुत गरेको संविधान संशोधन प्रस्ताव कुनै नयाँ विषय नभएको भन्दै प्रधानमन्त्रीले विगतमा नेपाली काँग्रेस, नेकपा(एमाले)लगायतका दलले प्रस्तुत गरेकै प्रस्तावलाई अगाडि बढाएको भन्दै अहिले आएर विरोध गर्नुको कुनै अर्थ नहुने उल्लेख गरे। 

संविधानको सर्वस्वीकार्यता बढाएर मुलुकलाई निर्वाचनको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सरकार अगाडि बढिरहेका बेला सामान्य विरोध प्रदर्शन गर्नु स्वभाविक भए पनि संसद्को काम कारबाही नै अवरोध गरेर नयाँ ऐन कानुन बनाउन नै रोक्नु भने गलत रहेको उनको कथन थियो। 
बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका दाहालले सरकारले सदनमा पेस गरेको संविधान संशोधन प्रस्तावमा सबै दलको सहमति जुटाउन सरकार प्रयत्नशील रहेको बताए। 

प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी र मधेसी मोर्चासँग सरकार निरन्तर संवादमा रहेको जानकारी दिँदै संविधान संशोधनमा सहमति जुटाएर सरकार स्थानीय तहको निर्वाचनको घोषणा गर्ने तयारीमा रहेको बताए । 

सरकार स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको जानकारी दिँदै सहमतिभन्दा अरु विषय आफूले नचाहेको तर संशोधनमा सहमति जनाएर बाहिर आएर फरक कुरा गर्ने एमालेको प्रवृत्ति ‘दिउँसै रात पार्ने’ खालको रहेको उनले टिप्पणी गरे। 

समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक विषयमा धारणा राख्नुहुँदै प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव पारित गराएरै जाने पक्षमा आफू रहेको भए पनि त्यसो नभएको खण्डमा पनि निर्वाचनमा जाने तयारीमा सरकार रहेको उल्लेख गरे। 

स्थानीय तह पुनःसंरचना आयोगले एकाध दिनभित्रै स्थानीय निकायको पुनःसंरचनाको खाका पेस गर्ने र सो प्रतिवेदनका आधारमा नै सरकारले निर्वाचनको मिति घोषणा गर्ने स्पष्ट पारे। 

जारी पोलिटब्युरो बैठकमा संविधान संशोधन र राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले नेतालाई जानकारी गराएका हुन्।  

प्रधानमन्त्रीले पार्टी कार्यालयमा ढुङ्गा हान्ने, शहिद स्मृति पार्क तोडफोड गर्ने कामले कोही कसैको फाइदा नगर्ने भन्दै हिमाल पहाड, तराई सबैलाई मिलाएर लैजान सरकार लागेको उल्लेख गरे। 

पोलिटब्युरोका बैठक आइतबार पुनःबस्ने र अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell