PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

​एसीसी यु १९ एसिया कप : नेपालको लक्ष्य सेमिफाइनल



पहिलोपोस्ट

​एसीसी यु १९ एसिया कप : नेपालको लक्ष्य सेमिफाइनल

काठमाडौं : श्रीलंकामा आगामी विहिबारबाट सुरु हुने एसीसी यु १९ एसिया कप क्रिकेटमा नेपालको लक्ष्य सेमिफाइनल पुग्नु रहेको प्रशिक्षक र कप्तानले बताएका छन्। 

सोमबार नक्सालस्थित क्राउन प्लाजजमा भएको बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक विनोद दासले आफुहरु प्रतियोगितामा सहभागिता जनाउन मात्र नभई खेल जित्न जाने बताए। 'कुनै पनि प्रतियोगिता खेल्ने आशामा मात्र हामी जान्नौं, खेल जित्ने मनानसिकता साथ हामी जानेछौं।
नेपाल रहेको समूह ए मा आयोजक श्रीलंका र भारत पनि रहेको छ। श्रीलंका र मलेसियालाई हराउँदै सेमिफाइनल पुग्ने नेपालको लक्ष्य छ।'

पहिलो पटक यु १९ टीमको प्रशिक्षक बनेका दासले श्रीलंकालाई आफुहरुले हराउन नसक्ने कुनै कारण नभएको बताए। 'यसअघि यु १९ विश्वकपमा नेपालले न्यूजिल्याण्ड, पाकिस्तान र दक्षिण अफ्रिका जस्ता टेष्ट खेल्ने राष्ट्रलाई हराइसकेको छ भने श्रीलंकालाई किन सकिदैँन।'

यस्तै दासले मलेसियाले पनि पछिल्लो दुई वर्षमा धेरै सुधार गरेको भन्दै कमजो नआँक्ने बताए। उनले खेलाडीहरु प्रतियोगिताका लागि पूर्ण रुपमा तयार रहेको बताए। 'हाम्रो खेलाडीहरुसँग जे प्रतिभा छ त्यो देखाउनका लागि एकदमै तयार छन्।' 

प्रतियोगिताको तयारी गर्न थोरै समय उपलब्ध भएपनि ट्यालेन्ट हण्डबाट छानिएका खेलाडीहरु फर्ममा रहेको दासले जानकारी दिए। 
'तयारीका लागि हामीसँग जम्मा १५ दिनको समय थियो। तर छोटै समय भए पनि खेलाडीहरु पूर्ण रुपमा तयार छन्।'

'हामीले करिब एक हजार जनाबाट यो १५ जनाको टीम तयार पारेका छौं। यस्तोमा खेलाडी छान्न स्वभाविक रुपमा सहज थिएन। तर मलाई विश्वास छ हामीले यो प्रक्रियाबाट केही राम्रा खेलाडी छानर ल्याउन सफल भएका छौं।'

दास जस्तै पहिलो पटक यु १९ को कप्तानी गर्न लागेका सन्दीप लामछिानेले पनि टीम राम्रो रहेको र आफुहरु उत्कृष्ट प्रदर्शन गर्न तयार रहेको बताए। 'हाम्रो मुख्य टार्गेट सेमिफाइनल पुग्नु हो, सुरुमा त्यसैमा केन्द्रित हुनेटौं, त्यसपछि स्वभाविक रुपमा फाइनल पुग्ने लक्ष्य भइहाल्छ।'
 
'हामीलाई यो प्रतियोगितामा राम्रो गर्नका लागि प्याटफर्म छ। देशको लागि राम्रो गर्ने अवसर पाएका छौं।' यु १९ टीमको क्लोज क्याम्प सुरु हुनु अगाडी मात्र अष्ट्रेलियामा ग्रेड क्रिकेट खेलेर नेपाल फर्केका सन्दीपले भने।

'यो टीम एसिया कपको लागि मात्र होइन, सन् २०१८ मा हुने विश्वकपलाई समेत ध्यान दिएर टीम बनाइएको छ।' 'मलाई मेरो टीमका साथीहरुप्रती विश्वास छ की हामी उत्कृष्ट प्रदर्शन गरेर देखाउनेछौं।'

१५ सदस्यीय खेलाडी, प्रशिक्षक दास लगायत सिनियर टीमका प्रशिक्षक जगत टमाटा, टेक्निकल एलालिस्ट रमण शिवाकोटी र फिजियो दिनेश भट्टको १९ सदस्यी नेपाली टोली मंगलबार श्रीलंका प्रस्थान गर्दैछ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले बिदाइ गरे। यु १९ कप यही विहिबारबाट श्रील‌कामा सुरु हुँदैछ। नेपालले विहिबारै समूह ए को पहिलो खेलमा अायोजकसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टीम : सन्दीप लामिछाने कप्तान, दिपेन्द्र सिंह ऐरी, सन्दीप सुनार, मोहम्मद आशिफ शेख, रविन्द्र जंग शाही, आदिल खान, भिम शार्की, अनिल कुमार शाह, पवन सराफ, सवर्नकार उरा, कमल सिंह ऐरी, नन्दन यादव, प्रकाश केसी, अबिनास कर्ण, रोहित कुमार पौडेल
वैकल्पिक खेलाडी : शहद आलम, किशोर महतो, विक्रम भुसाल, शसान्त थापा
प्रशिक्षक : विनोद दास



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell