PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

बस्नुअघि नै संसद बैठक स्थगित, सभामुखले डाकिन् प्रमुख सात दलका नेतालाई



पहिलोपोस्ट

बस्नुअघि नै संसद बैठक स्थगित, सभामुखले डाकिन् प्रमुख सात दलका नेतालाई

काठमाडौं : संसदको गतिरोध खुल्ने नदेखेपछि सभामुख ओनसरी घर्तीले आइतबार तोकिएको बैठक एक दिनअघि नै स्थगित गरेकी छिन्।
 
आइतबार दिउँसो १ वजे बस्ने गरी स्थगित भएको बैठक शनिबार स्थगित गरिएको हो। अबको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ।
 
शनिबार संसदको बैठक सरेको बारे सूचना जारी गर्नुअगाडि सभामुख घर्तीले माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकसँग अनौपचारिक छलफल गरेकी थिइन्।
 
आइतबारको बैठकमा समेत प्रमुख प्रतिपक्षले अवरोध जारी राख्ने भएपछि उनले सोमबार प्रमुख सात दलका नेतासँग छलफल गर्ने तय गरेर बैठक मंगलबारको लागि सारेकी हुन्। सभामुखका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार सोमबार ३ बजे प्रमुख सात दलको नेताको बैठक बस्ने भएको छ।

यसअघि ७ गतेका लागि तय भएको बैठक पनि सूचना टाँस गरेर स्थगित भएको थियो। मंसिर १४ मा सरकारको तर्फबाट संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ। सत्तारुढ तथा विपक्षी दलका शीर्ष नेताहरुलाई बोलाएर सभामुख घर्तीले पटकपटक सहमतिको प्रयास गर्दै आएकी छिन्। तर दलहरुको अडानका कारण सहमति जुट्न सकेको छैन। संशोधन प्रस्तावसँगै चुनावलाई जोडेर ल्याइए संघर्षलाई झन् कडा बनाउने एमालेले चेतावनी दिँदै आएको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell