PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

संसदमा कडा बन्दै सभामुख, प्रतिपक्षी थकाउने रणनीतिमा



पहिलोपोस्ट

संसदमा कडा बन्दै सभामुख, प्रतिपक्षी थकाउने रणनीतिमा

काठमाडौँ : सभामुख ओनसरी घर्तीले झण्डै एक महिनादेखि संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलहरुलाई थकाउने रणनीति लिएकी छिन्।

उनले बुधबारको बैठकमा प्रतिपक्षी सांसदहरुलाई ५ मिनेटभन्दा लामो समय उभ्याइन्।

सभामुखले संसदमा उभिएर अवरोध गर्दै आएका सांसदलाई पटक पटक बस्न आग्रह गरिन्। उनले भनिन्, 'संशोधन प्रस्ताव पारित गर्ने, संशोधन गर्ने वा अस्वीकार गर्ने अधिकार यो संसदलाई छ भन्ने जानकारी यहाँहरुलाई छ। त्यसैले सदनमा कार्यसूचीलाइ लैजानु नै लोकतान्त्रिक विधि र प्रक्रिया भएको ध्यानाकर्षण गराउँछु। बसौँ माननीय सदस्य। आसन ग्रहण गरौँ। जनताको पक्षमा निर्णय गरौँ।'
 
प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका ९ दलले सरकारले गत मंसिर १४ गते दर्ता गरेको संविधान संशोधन प्रस्तावविरुद्ध लगातार अवरोध गर्दै आएका छन्।

आजको बैठकमा नेपाल परिवार दलका एकनाथ ढकालले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावको औचित्य र आवश्यकता सावित हुन नसकेको बताए।
 
'सीमाङ्कन हेरफेर गर्न प्रदेश सभाको सहमति चाहिने बाध्यकारी व्यवस्थालाई बेवास्ता गरिएको छ', ढकालले भने, 'अदृश्य शक्तिको बलमा ल्याएको प्रस्ताव कुनैपनि हालतमा स्वीकार्य छैन।' 

सभामुख ओनसरी घर्तीले सहमतिका लागि निरन्तरता दिन दलहरुले छलफल गर्नुपर्ने उल्लेख गरिन्। उनले सभामुखको तर्फबाट सहमतिका लागि शीर्ष नेतृत्वसँग औपचारिक र अनौपचारिक प्रयास गर्दै आएको समेत बताइन्।

उनले संसदको अर्को बैठक पुस १४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell