काठमाडौँ: संसद बैठक गणपुरक संख्या उपस्थित नहुदाँ स्थगित भएको छ। स्थानीय तह निर्वाचन सम्बन्धी विधेयक निर्णयार्थ पेश गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले नियमापत्ति गर्दै गणपुरक संख्यामा सभामुखको ध्यानाकर्षण गराएका थिए।
नेपालको संविधानको धारा ९४ मा संसदमा कुनैपनि प्रस्ताव निर्णयार्थ पेश गर्न एक चौथाई सांसद अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ।
काफ्लेको नियमापत्ति लगत्तै सभामुखले ३ मिनेट जनाउ घण्टी बजाइन्। बाहिर रहेका सांसदहरु भित्र आए पनि गणपुरक संख्या भने पुगेन।
लगत्तै सभामुखले घोषणा गरिन् - कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्न एक चौथाई सांसद हुनुपर्नेमा हाल यो प्रस्ताव निर्णयार्थ पेश गर्न गणपुरक १४९ हुनुपर्नेमा १ सय १६ सांसद मात्र रहेकाले नपुगेकाले बैठक आजै आधा घण्टाका लागि स्थगित हुन्छ।'
संसदमा सोमबार ४ सय ४ सांसदले हाजिर गरेका थिए। तर उनीहरु विधेयक निर्णयार्थ पेश हुनु अघि नै टाप ठोकेका हुन्। २ सय ८८ गणपुरक संख्या गन्ने बेला अनुपस्थित भएका हुन्।
त्यसअघि संसद बैठकमा गृहमन्त्री निधिले सरकारले विधेयक पारित भएपछि निर्वाचनको छिटोभन्दा छिटो निर्वाचन गर्ने बताएका थिए। उनले सरकार निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन लागि रहेको बताए।
'२०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन गराउने र त्यसमा स्थानीय निर्वाचन गराउने प्राथमिकतामा छ। राजनीतिक वातावरण बनाउने र त्यसका लागि संविधानको स्वामित्व फराकिलो बनाउन संशोधन गर्ने कामका लागि यो सरकार निर्माण भएको हो', निधिले भने।
स्थानीय तह निर्वाचन विधेयकमा सोमबार २७ सांसदले भाग लिएका थिए। सोमबार नै संसदमा सांसदहरुले तलब भत्ता सम्बन्धि विधेयक प्रमाणिकरण भएको जानकारी सभामुखले गराएकी थिइन्।