PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

सरकारलाई धम्क्याउँदै सांसदले भनिन्, 'हामी पनि हेरौँला, कसरी निर्वाचन गर्दो रहेछ '



पहिलोपोस्ट

सरकारलाई धम्क्याउँदै सांसदले भनिन्, 'हामी पनि हेरौँला, कसरी निर्वाचन गर्दो रहेछ '

काठमाडौँ : मधेसी मोर्चा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई मनाउँदै निर्वाचनमा सहमति जुटाउन सरकार सक्रिय रहेको बेला एक सांसदले भने उल्टो सरकारलाई धम्क्याएकी छिन्।
 
बुधबार संसदमा बोल्ने अधिकांश सांसदले तत्काल निर्वाचनको घोषणा गर्नुपर्ने माग गरे पनि सांसद रुक्मिणी चौधरीले भने उल्टो सरकारलाई धम्क्याइन्।
 
उनले निर्वाचनको डम्फु बजाउनेहरु नै निर्वाचनको पक्षमा नरहेको दावी गर्दै भनिन् 'आन्दोलनमा रहेका थारु र मधेसीला बाइपास गरेर मिति घोषणा गरे हामी पनि हेरौँला कसरी निर्वाचन गर्दो रहेछ सरकारले?' 

उनले निर्वाचन क्षेत्र निर्धारण र समानुपतिक रुपमा कसरी सांसद छानिने भन्ने प्रश्नको हल खोज्नुपर्नेमा जोड दिएकी थिइन्।
 
संसदको शून्य समयमा बोल्ने अन्य सांसदहरुले भने स्थनीयतहको निर्वाचन मिति घोषणा गर्न माग गरेका थिए। सांसद कृष्णभक्त पोखरेलले स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन बुझेर मिति घोषणा गर्न माग गरे। 

'आयोगले समयमा जिम्मेवारी पुरा गरेको छ। सरकार प्रतिवेदन कार्यान्वयनको सट्टा आनाकानी गरिरहेको छ', पोखरेलले भने, 'प्रतिवेदन इन्कार गर्ने कुनै व्यवस्था छैन।'

अर्का सांसद गणेश पहाडीले वर्तमान सरकारले नै निर्वाचनमा आलटाल गरिरहेको आरोप लगाए।
 
सांसद गौरीकुमारी ओलीले संविधान संशोधनको नाममा प्रधानमन्त्रीले देशलाई संकटको खाडलमा जाक्न लागेको त हैन भन्ने प्रश्न गरिन्।
 
उनले फेरि सत्र साल र मुलुक भयानक अवस्थामा जाने भनेर प्रधानमन्त्रीले गरेको टिप्पणीको विरोध गरिन्।

सांसद तुलाराज विष्टले बैशाखभित्र निर्वाचन गर्नेगरी मिति घोषणा गर्न माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell