कान्तिपुर शहर अशान्त छ। मेलम्चीले शहरका सडकहरु ध्वस्त पारेपछि सानातिना दुर्घटना सामान्य भएका छन्। खासगरेर स्कूटीहरु चिप्लिने र स्कूटीमा सवार केटीहरु सडकमा पुर्लुक्क पल्टिने क्रम बढेको छ। दुर्घटना भएपनि केटीहरु धेरै स्वांग पार्दैनन्। उनीहरु लड्छन्। उठ्छन्। सकी नसकी स्कूटर उठाएर दौडिन्छन्।
एकजना बाजे छन् जो अचेल सडकमा हिँड्दा एकदमै चनाखो भएर हिँड्छन्। नातिनी उमेरका केटाकेटीले स्कूटी चलाएको उनलाई मन पर्दैन। उनी भन्छन्, ‘यी नानीहरुको हातमा मिसिनको कन्ट्रोल नै छैन। अनि, सडकमा हिंडदा डराउनु परेन त। अस्ति एउटीले बाटो काट्दै गरेकी एउटी बुढियालाई लडाइ दिइ। त्यसपछि आफै रुन थाली। अब त्यो बिजोक भएन ? तै बुढियालाई केही भएको रहेनछ। उठेर लुरुलुरु हिँडिन्। सबै त्यस्ता हुन्छन्?’
पक्कै हुँदैनन्। कुरा सही हो। मेलम्चीले पाइप विछ्याउन सडक खन्न थालेपछि सडकमा बनेका खाल्डा र उडेको धूलोले कान्तिपुर शहरलाई देशकै सबभन्दा बढी दुर्घटना हुने पहिचान दिएको छ। कुरा यत्तिमात्र हो, दुर्घटना ठूलो स्केलका हुँदैनन्। आफैं धूलोमा पुरिएका ट्राफिक पुलिसले ती दुर्घटना बारे थाहा पाउँदैनन्। थाहा पाए पनि गर्न केही सक्दैनन्।
‘यस्तो बेलामा ट्राफिक बत्तीको सम्झना आउँछ। यो शहरको ट्राफिक मिलाउन मानिसको होइन, ट्राफिक लाइटको आवश्यकता छ। तर हाकिमहरु कसैका कुरा वा सुझाव सुन्ने होइनन्। पुलिस विभागलाई भन्सार विभाग बनाएका छन्। जति जरिवाना थप्छन् त्यति बढ्छ। लाइसेन्समा १२ प्वाल परोस् कि १८, मापसे गर्नेले गर्न छोड्दैन। बरु, लाइसेन्समा परेको प्रत्येक प्वाल वापत रु हजार हर्जाना तिर्न पनि तयार हुन्छ। अहिले पार्किंग र लेन मिची ड्राइभिङबाट पनि पुलिसले भसक्कै जरिवाना असूल गरेर सरकारी ढुकुटी बलियो बनाएको छ। तैपनि, सरकारले उनीहरुको रासनको भाउ बढाएको छैन। आर्थिक जरिवाना र हर्जाना असूल गर्न सक्षम प्रहरीलाई सरकारले गृह मन्त्रालयबाट झिकेर अर्थ मन्त्रालयको राजस्व असूली शाखामा सरुवा गरे सरकारका लागि यो फाइदाको कुरा हुनेछ। अझ लगानी उठाउन नसकेर आजित भएका आैकले प्रहरीको कन्सल्टेन्सी सेवा लिए ऋृण असूली सहज ढंगले हुनेमा कुनै शंका छैन।
पछिल्लो समयमा यो कुरा देखियो कि सरकार समस्यामा छ। किनभने भ्रष्टाचार वनमारा झाडी झैं फैलिएको छ। बिजुली नै हेरौं, १८ घण्टा लोडशेडिंग गराएर प्रचूर मात्रामा अतिरिक्त आम्दानीगर्ने कर्मचारीतन्त्र जताततै विद्यमान रहेछ। उनीहरुले जे जति कमाएका छन, ती सबै पैसा देश बाहिर गएका छैनन् होला। देशभित्र रहेसम्म ती देशकै धन हुन्। पैसा पनि कति कमाएका हुन? पैसा कमाउने कला पनि कस्तो? उहिल्यै एउटा घुस्याहा कर्मचारीका कारण आजित भएका महाराजा अकवरले त्यसलाई समुद्रको छाल गन्ने काममा लगाइ दिएछन्। तर, त्यो कर्मचारीले त छाल गनेर पनि पैसा कमाएको रिपोर्ट परेछ। त्यसपछि अप्ठेरोमा परेका अकवरले सो कर्मचारीलाई आफना नवरत्नहरुमा सामेल गराएछन्। अर्थात, घूस खानु राज्य संचालनमा बसेकाहरुको चलाखी हो। सरकार आफैंले त्यो चलाखी किन नगर्ने?
कान्तिपुर शहरमा पुलिसको वर्चस्व जसरी बढेको छ त्यसरी त कालिमाटीको वजारमा तरकारीको भाउ पनि बढेको छैन। शहरको चारै दिशामा पुलिस नभए त यो शहर राज्यकोे राजधानी हो भन्ने पनि थाहा हुने थिएन। पुलिस छ र सुरक्षा छ। पुलिस छ र किलोका किलो सुन पक्रिन सकिएको छ। पुलिस आफैंले पक्रिएको किलोका किलो सुनको मालिकको परिचय खुलाउन सकेको छैन। कसैले सुन मालिकको परिचय गोप्य राख्न पुलिसलाई निर्देशन दिएको पनि हुन सक्छ। सुन मालिकको नाम लिंदा देशको राजनीति गडबडाउन सक्दछ। अखवारहरुको तेजोवध गर्ने सूचना ओइरिन सक्दछ।
के हुन सक्दछ? चार्लीसँग सम्वन्धको ब्रेकअप पछि कनिका आउँदैछे एकदमै नयाँ चटपटे भूमिकामा । ऊ सँगै कामगरेर भ्रष्टाचारको नालीबेली पत्ता लाउने रुची, जाँगर र चाहना भएको कोही छ भने हार्दिक स्वागत छ।
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)