धुलिखेल : काभ्रेपलाञ्चोक जिल्लामा आज हुने स्ववियु निर्वाचनमा १२ वटा मात्रै क्याम्पसमा मतदान हुँदैछ। १६ क्याम्पसमध्ये दुईवटा क्याम्पस प्रकाश क्याम्पस, भुम्लुटार र कानपुर क्याम्पस, कानपुर, कालापानीमा सर्वसम्मत भएको र दुईवटा क्याम्पसमा भने विवादका कारण स्थगित रहेको प्रहरीले जनाएको छ।
'जिल्लाको पनौतीको इन्द्रेश्वर क्याम्पस र धुलिखेलस्थित धुलिखेल क्याम्पसमा स्थगित नै छ', प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले भने, 'केही क्याम्पसमा मतदान सुरु भइसकेको छ।'
जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी सहकुलबहादुर थापाले बाँकी क्याम्पसमा निर्वाचनका लागि विहान ८ बजेदेखि मतदान सुरु भएको बताए।
'हामीले मतदान भइरहेको क्याम्पसमा विद्यार्थीले शान्तिपूर्ण ढङ्गले मतदान गर्न पाउने वातावरण बनाउने काम गरिरहेका छौँ”, एसपी थापाले भने। क्याम्पसमध्ये दुईवटामा सर्वसम्मत भइसकेको र दुईवटामा विवादका कारण हुन नसकेको थापाको भनाइ छ। रासस