काठमाडौं : आठ वर्षयता हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आज देशभरका त्रिवि आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा हुँदैछ। तर विद्यार्थी संगठनबीचको विवादका कारण सबैतिर निर्वाचनको उत्साह देखिन्न।
राजधानीका ३८ मध्ये ३० क्याम्पसमा विवादका कारण आज निर्वाचन भएन। विद्यार्थी संगठनको विवाद र ताला लगाइएका क्याम्पसमा निर्वाचन रोकिएको हो। राजधानीका चर्चामा रहेका सरस्वती बहुमुखी क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, रत्न राज्यलक्ष्मी क्याम्पस, शंकरदेव क्याम्पस, नेपाल कमर्श क्याम्पस, अमृत साइन्स क्याम्पस, त्रिवि केन्द्रीय क्याम्पस लगायत एक दर्जनभन्दा बढीमा निर्वाचन रोकियो। अन्य क्याम्पसमा निर्वाचान भइरहे पनि यी क्याम्पस यति बेला सुनसान छन्।
कैलाशकुट बहुमखी क्याम्पस, महाराजगन्जस्थित नसिंङ क्याम्पस, थापाथली क्याम्पस, पुल्चोक इन्जिनियरिङ, जनप्रशासन लगायतका क्याम्पसमा भने निर्वाचन सामान्य अवस्थामा जारी छ। स्ववियु निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता भइसकेका र विवाद नभएका क्याम्पसमा मतदान भइरहेको हो।
बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म गर्ने आचारसंहितामा उल्लेख भए पनि स्थानीय क्याम्पसका विद्यार्थी संगठनको समझदारीमा चुनावको समय हेरफेर गरिएको नेविसंघका सहमहामन्त्री प्रेमबहादुर जोशीले जानकारी दिए।
देशभरका ६१ वटा आंगिक क्याम्पसमध्ये ३७ वटामा निर्वाचन नहुने भएको छ। ३७ वटा क्याम्पसहरुमा निर्वाचनका कुनै पनि प्रक्रिया अघि बढ्न नसकेका कारण निर्वाचन नहुने भएको हो।