PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

चितवनका क्याम्पसमा स्ववियु निर्वाचन रोकियो, वीरेन्द्र क्याम्पस प्रमुखको कुर्सीमा आगजनी



पहिलोपोस्ट

  • सरिता पौडेल
चितवन : आज हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चितवनका १३ वटै क्याम्पसमा हुन सकेन। अधिकांश क्याम्पसहरुमा विवाद बढेपछि निर्वाचन हुन नसकेको हो।
 
त्रिभुवन विश्वविद्यालय अन्तर्गत चितवनको एक मात्र आंगिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा समेत निर्वाचन भएपछि सबै क्याम्पसहरुको निर्वाचन अन्यौल बनेको छ। निर्वाचन प्रक्रिया अघि नबढाएको र विभिन्न असन्तुष्टि राख्दै वीरेन्द्रमा केही दिनयता तालाबन्दी गरिएको थियो। आज निर्वाचनको दिनमा बिहान अखिल संयुक्तका विद्यार्थीहरुले निर्वाचन नगराएको भन्दै क्याम्पस प्रमुखको कुर्सी जलाउनुको साथै तोडफोड गरेका थिए।
 
प्रहरीले आगजनी गरेको भन्दै रोहित सुवेदी र उज्जवल देवकोटालाई पक्राउ गरेको छ। उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।
 
अहिले क्याम्पस परिसरमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ। यस्तै निर्वाचन हुने भनिएका सबै क्याम्पसहरुमा सुरक्षाका लागि २ सय ५० प्रहरी परिचालन गरिएको एसपी थापाले जानकारी दिए।
 
सदरमुकामका मुख्य क्याम्पसहरु वीरेन्द्र, सप्तगण्डकी क्याम्पस, बालकुमारी कलेजमा विवाद रहेको थियो। केही क्याम्पसमा मनोनयन दर्ता गरिए पनि निर्वाचन प्रक्रियालाई अगाडि बढाइएको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell