PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

रेणु दाहालले जित्नुभयो भनेर घोषणा गर्दिएको भए सजिलो हुन्थ्यो : ओली



पहिलोपोस्ट

रेणु दाहालले जित्नुभयो भनेर घोषणा गर्दिएको भए सजिलो हुन्थ्यो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेणु दाहाललाई विजयी घोषणा गरेर देखाउन निर्वाचन आयोगलाई चुनौती दिएका छन्। 
एमाले स्थायी समिति बैठकपछि ओलीले भरतपुरमा पुन: मतदान गर्ने निर्णयको विरोध गरे।

'निर्वाचन आयोगले सरक्क रेणु दाहालले जित्नुभयो भनेर घोषणा गर्दिएको भए सजिलो हुन्थ्यो,' उनले भने, 'निर्वाचनको यो पुन: मतदान जस्तो तमासा नगरेर रेणु दाहालले जित्नुभयो भनेर घोषणा गरिदिएको भए हुन्थ्यो।' 

उम्मेद्वारी मनोनयनसँगै सरकारले भनेको उम्मेद्वारलाई दोश्रो चरणको निर्वाचनबाट जिताइदिन आयोगलाई उनले सुझाव दिए।

'दोश्रो चरण पनि निर्वाचन गराउनेभन्दा निर्वाचन आयोगले सरकारले जो जो उम्मेद्वारले जिताउने हुन्छ भन्छ त्यही गरिदिए हुन्छ,' उनको तर्क थियो।

भरतपुरको घटनाले लोकतान्त्रिक मूल्य मान्यता, संविधान र कानुनको उपहास भएको बताए। 'त्यसकारण विरोध गर्दछौं। सबै प्रकारका उपचारका विधि के हुनसक्छ हेर्छौ, ' उनले भने।
 
निर्वाचन आयोग संवैधानिक निकाय भए पनि उसले दायित्वभन्दा दबाबलाई महत्व दिएको बताए। 'लाचार भएर पुन मतदान गराउने भन्ने निर्णय गरेको सुनेँ। निर्वाचन आयोग यस्तो लाचार हुन हुँदैनथ्यो। हामी अस्वीकार गर्दछौँ। निर्णय मान्य हुन सक्दैन। त्यस सम्बन्धमा हामी विभिन्न ढंगले उपचार खोज्छौँ,' उनले भने।

उनले भरतपुर घटनालाई यतिमै टुङ्गियो भन्ने कुरा सत्तापक्षलाई नसोच्न चेतावनी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell