PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

जीवन भनूँ त घात छ, मृत्यु भनूँ त सास छ : साउदी जाँदा ऋण थपियो, नेपाल फर्कँदा किड्नी गुम्यो



सागर बुढाथोकी

जीवन भनूँ त घात छ, मृत्यु भनूँ त सास छ : साउदी जाँदा ऋण थपियो, नेपाल फर्कँदा किड्नी गुम्यो

काठमाडौं : मानिस रङ्गीन योजना बुन्छ। पूरा हुने सपना देख्छ र त्यसैमा हराउँछ। तर, आफ्नै गतिमा दौडिरहेको मान्छेको जीवनमा अकस्मात् आइलाग्छ ‘स्पिड–ब्रेकर’। 

जिन्दगी आकस्मिक घटनाहरुको संगालो हो। मानिसलाई पूर्व तयारीको मौकासम्म नदिई आउने घटनाहरुले नै अधिकांशको जिन्दगीलाई नाजुक बनाउँछ। 

त्यस्तै भयो नुवाकोट विदुर नगरपालिकाको शिव रिमाललाई।

उनी जेठ २२ गते कोखा दुखेर जँचाउन अस्पताल गएका थिए । डाक्टरहरुको परीक्षणले मृगौलामा पत्थरी देखायो। अपरेशन गर्दा उनको बायाँ मृगौला झिकियो। 

सो घटनासँगै उनको सारा सपना एकै झट्कामा चकनाचुर भयो।  १५ दिनपछि उनले मृगौला झिकिएको थाहा पाए। पढ्नुस् यो समाचार
त्यसपछि उनी काठमाडौं जिल्ला प्रशासन कार्यालयमा अस्पतालविरुद्ध उजुरी गर्न पुगे। 

पहिलोपोस्टसँग निराश हुँदै उनले भनेका थिए, ‘एउटा मृगौला अस्पतालले झिक्यो। भएको अर्कोमा पनि पत्थरी छ। मलाई केही तलमाथि भयो भने मेरो लालाबालाको के हाल हुन्छ।’

उनले त्यस्तो भनिरहँदा उनको छेउमा रहेकी श्रीमती रन्जुले गहभरी आँसु पारेकी थिइन्। 

९ वर्ष विदेशमा श्रम

शिव आफ्ना छोराहरुलाई राम्रो शिक्षा दिक्षा दिन ९ वर्ष विदेश बसेको बताउँछन्। लामो समय विदेश बस्दा पनि आफ्नो सपना पूरा गर्न नसकेकोमा दुःख व्यक्त गर्छन्।

गरीब परिवारमा जन्मेका रिमालले नुवाकोटकै महेन्द्र माविबाट एसएलसी सके। उच्च शिक्षा लिने धोको गरिबीका कारण पूरा गर्न सकेनन्। २०५९ सालमा एसएलसी सकेपछि उनी गाउँमै खेतीपाती गर्न व्यस्त भए।

उनले गाउँमा बसेर केही हुने जस्तो देखेनन्। एसएलसी सकेको ३ वर्षपछि बाध्य भएर ठूलो सपना बोकेर मलेसिया उडे।

‘घरमा ऋण लागेको थियो। खेतीपातीबाट खान पुग्दैन थियो। अन्य काम गरेर नेपालमा बस्न रोजगार थिएन,’ शिवले विगत कोट्याए, ‘अनि फेरि साहुसँग ऋण लिएर बाध्य भएर देश छाडेँ।’

विदेशको ठाउँ भनेजस्तो सजिलो थिएन। उनी फ्याक्ट्रीमा काम गर्थे। तलब राम्रो थिएन। तैपनि, ऋण तिर्नको लागि त्यहाँ काम गर्न उनी बाध्य थिए।

‘बल्ल बल्ल ५ वर्षपछि फर्केँ। घर आउँदा ऋणको ब्याज बढेर धेरै भइसकेको थियो,’ उनले भने, ‘५ वर्षको दुःख ऋण तिर्दै ठिक्क भयो। सपना सबै हुरीले उडायो।’

५ वर्षपछि नेपाल फर्कँदा उनले सन्तोषको सास फेर्न सकेनन्। स्थिति पहिलाको भन्दा केही फरक थिएन। उनीसँग केही रकममात्र थियो। अरु ऋण गरेर घर बनाए। बिहे गरे।

घरपरिवारको जिम्मेवारीसँगै श्रीमतीको जिम्मेवारी पनि थपियो। घरपरिवार चलाउन हम्मे। त्यही बेला छोराको बाउ बने।

‘छोरा जन्मँदा खुसी र दु:ख उस्तै लाग्यो। छोराको भविष्य सोचेर तनाव हुन थाल्यो,’ भावुक हुँदै उनले सुनाए, ‘अनि छोराहरुको भविष्यका लागि दोस्रो पटक देश छाडेँ।’

दोस्रो पटक उनी साउदी अरब गए। अरबमा उनी इन्टरनेशनल सेक्रेटरी सर्भिसमा साधारण काम गर्न थाले । तलब ठीकै थियो। ४ वर्षको बीचमा उनी दुई पटक घर आए। 

भूकम्पले घर भत्काइदियो

जिन्दगी त्यसरी नै चलिरहेको थियो। ऋण लगभग तिरिसकेका थिए। २०७२ साल वैशाख १२ को भूकम्पले उनको घर भत्कायो। ऋण गरेर बनाएको घर भत्किएपछि साउदीमा रहेका उनको मन भत्कियो। 

धन्न परिवारका सदस्यहरुलाई केही भएन।

भूकम्प जाने बित्तिकै घर आउन पाएनन्। त्यसको ६ महिनापछि फर्कँदा गाउँघरको स्वरुप नै परिवर्तन थियो। भन्छन्, ‘आफ्नो घर हेरेर रुन मन लाग्यो। फेरि घर बनाउने पैसा कमाइसकेको थिएन। यता छोराहरुको लागि पनि केही गर्नु थियो।’

गह्रौँ  मन र थप जिम्मेवारी लिएर उनी फेरि साउदी फर्किए।

साउदी पुगेको ६ महिना नपुग्दै उनी फेरि नेपाल फर्कनुपर्‍यो। बुवा ‘हर्टअट्याक’ भएर बितेका थिए। त्यसपछि उनलाई विदेश जाने जाँगर आएन। किनकि, ९ वर्ष विदेश बस्दा पनि उपलब्धि केही थिएन। जिन्दगी हातम लाग्यो शून्य जस्तो भएको थियो।

‘सपनाहरु धेरै थिए, पूरा गर्न समयले दिएन। बरु घाउमाथि घाउ बढाउँदै लग्यो,’ उनले भने, ‘त्यसैले अब विदेश हैन, ऋण गरेर भए पनि नेपालमै केही गर्ने सोच थियो। त्यो पनि अस्पतालले मृगौला झिकेर चकनाचुर पारिदियो।’

३२ वर्षमै मृगौला गुम्यो, परिवारको बिचल्ली हुने भय

उनी अहिले ३२ वर्षको मात्रै छन्। उनको ६ र १ वर्षका दुई छोराहरु छन्। छोराहरुको उनलाई धेरै चिन्ता छ। ‘९ वर्ष विदेश बसेँ, कमाउन सकिन। अहिले नेपालमै बसेर केही गर्छु भन्ने थियो। आखिर सपना त सपना नै हुँदो रहेछ,’ उनले सुनाए, ‘३२ वर्षकै उमेर एउटा मृगौला छैन। यति लामो जिन्दगीमा सपनाहरु धेरै थिए। अब त भविष्य सम्झँदा पनि आँसु मात्रै आउँछ।’

छोराले सोध्छ- बाबा, अब तपाईँ बाँच्नु हुन्न रे हो?

अहिले उनलाई बेलाबेलामा रिङ्गटा लाग्छ। टाउको दुखेर खप्न नसक्ने हुन्छ। उनी राम्रोसँग हिँड्डुल गर्ने अवस्थामा छैनन्। सोच्दासोच्दा जिन्दगी नै भारी लाग्न थालेको दुखेसो पोख्छन्।

‘सद्दे हुँदा परिवारको लागि केही गर्न सकिनँ। अब त जिन्दगी धराप छ, जुनसुकै बेला तलमाथि हुन सक्छु,’ उनी भन्छन्, ‘परिवारको लागि बोझ भएर कतिन्जेल बाँचिएला! यस्तै सोचेर तनाव भएको छ। भूकम्पले भत्काएको घर बनाउन सकेको भए धेरै सन्तोष हुन्थ्यो।’

अस्पताल जाँदा उनले यस्तो होला सोचेको थिएनन्। नसोचेकै घटना भएर अहिले उनले केही पनि सोच्न सकेका छैनन्।  उनको मृगौला झिकेको उनको जेठो छोराले थाहा पाइसकेको छ। 

उनलाई बेलाबेलामा छोराले मुटु चसक्क पार्ने गरी सोध्छ, ‘बाबा अब तपाईँ बाँच्नु हुन्न रे हो? ’ 

छोराको मुखबाट त्यस्तो सुन्दा उनको गहभरि आँसु हुन्छ। मुखबाट केही वाक्य निस्किँदैन। उनी भन्छन्, ‘छोराको प्रश्नले मुटु दुख्छ। तर, हर्ट अट्याक भएपनि म अस्पताल जान्नँ।’

उनीसित कुरा गरेर फर्कँदै गर्दा एफएममा भक्तराज आचार्यको गीत बज्दै थियो-

न बास छ न आश छ मान्छेहरु कै त्रास छ 
जहाँ म खोज्छु उठूँ भनेर त्यही असारे भास छ
जीवन भनूँ त घात छ, मृत्यु भनूँ त सास छ

सम्बन्धित सामाग्री

अस्पताल भन्छ : राजनीति भयो
मनमोहन अस्पतालको विज्ञप्ति



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell