लस एन्जेलस : एकजना अमेरिकी सैनिकले आतङ्ककारी संगठन स्लामिक स्टेटस् (आइएस)लाई सहयोग गरेको पाइएपछि उनलाई सोमबार पक्राउ गरिएको छ।
अमेरिकी सुरक्षा अनुसन्धान निकाय, एफबिआइले उनलाई पक्राउ गरेको जानकारी दिएको हो। अमेरिकी सेनामा कार्यरत ३४ वर्षीय एरिक काङले आइएसलाई सहयोग गरेको पाइएको एफबिआइले जनाएको छ।
उनी हवाइमा पक्राउ परेका हुन्। उनले आइएसलाई आवश्यक सैनिक सामग्री सहयोग गर्नुका साथै तालिमसमेत दिने गरेको प्रमाण भेटिएको अमेरिकी सेनाले जनाएको छ।
हवाइको राजधानी सहर होनोलुलुमा रहेको उनको निवासबाट उनलाई एफबिआइका अधिकारीहरुले पक्राउ गरेका बताइएको छ।
उनले हवाइमा रहेको सेनाको उड्डयनसम्बन्धी सेवामा ट्राफिक नियन्त्रणको कार्यमा सेवा गर्दै आएका थिए। सोही कार्यमा खटिएको समयमा उनले आइएसलाई सहयोग गरेको पाइएको थियो।
उनलाई सन् २०१० मा इराकमा र सन् २०१४ मा दुई वर्षसम्म अफगानिस्तानमा खटाइएको थियो । ती देशमा सेवा गरेर उनी अमेरिका फर्केका थिए।
उनीमाथि केही महिनायतादेखि निगरानी राखिएको र उनले आइएसलाई सहयोग गर्ने गरेको पाइएपछि नियन्त्रणमा लिइएको जानकारी एफबिआइका अधिकारीले दिएका छन्। रासस/सिन्ह्वा