काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको १४औं संस्करण आगामी भदौ २६ गते हुने भएको छ।
दुई चरणको स्थानिय निर्वाचनका कारण केही ढिलाई भएपनि एनएसजेफको २२औं वार्षिक उत्सवको अवसर पारेर उक्त मितिमा गर्न लागिएको बुधबार आयोजकले जानकारी दिएको हो।
यस पटक पुरस्कार स्वरुत उत्कृष्ट खेलाडीलाई दिइने बाइकको संख्या वृद्धि गर्दै ३ बाट ४ पुर्याइएको छ।
वर्ष २०७३ मा नेपाली खेल क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई भदौ २६ गते कमलादीस्थित प्रज्ञा भवनमा सम्मान गरिने भएको हो।
कूल ८ विधामा प्रदान गरिने अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष र महिलाका साथै पिपल्स च्वाइस अवार्डको विजेतालाई बाइक प्रदान गरिदै आएको छ। तर यसवर्ष अर्को एक विधाका उत्कृष्टले पनि बाइक पाउने भएका छन्। तर आयोजकले भने कुन विधाको विजेताले बाइक पाउने खुलाएको छैन।
यसबाहेक अन्य विधाको विजेताले नगद ५० हजार र गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन्। वर्षको उत्कृष्ट पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल च्वाइस अवार्डसँगै पारा एथलेट अवार्ड, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड गरी कूल ८ विधामा अवार्ड दिइनेछ।
अवार्डलाई हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालीले मुख्य प्रायोजन गर्नेछ। विगतजस्तै यसपटक पनि कम्पनीले उत्कृष्ट खेलाडीको लागि बाइक प्रदान गर्नेछ। यस्तै यस पटक कम्पनीले स्पोनसरबापत नगद र अन्य पुरस्कार सहित कूल १८ लाख ९० हजार प्रदान गर्ने हंशराज हुला चन्द एण्ड कम्पनीका प्रवन्ध निर्देशक तथा एफएनसिसिआइका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए।
एनएसजेफका अध्यक्ष यस पुरस्कारमा एउटा बाइक थपिएको र आगामी वर्षहरुमा अर्को विधाको लागि बाइक तप्ने र नगद पुरस्कार राशीमा पनि वृद्धि गर्दै लैजाने बताए।
यस पटक विजेताले एनएस १६० पल्सर बाइक पाउनेछन् उक्त बाइकको बजार मूल्य २ लाख ६० हजार बराबर रहेको छ।
शेखर गोल्छाले देशको राजनीति विभाजन तर्फ गइरहेको बेला खेलकुदले नै सबैलाई जोडेको उदाहरण दिदै पल्सर स्फोर्ट्स अवार्डसँग जोडिन पाउन गौरवको विषय रहेको बताए।
'आश छ भविष्यमा पनि यस अवार्डले निरन्तरता पाउनेछ र यसमा म स्पोनरसर गरिरहने प्रतिवद्धता जनाउँछु'।
उनले व्यावसायीक रुपमा भन्दा पनि नेपालको खेलकुद विकासका लागि अवार्डसँऊ सहकार्य गरेको बताए।