PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


कान्तिपुर गाथा : प्रेम गरे वापत् कुटाइ


किशोर नेपाल

कान्तिपुर गाथा : प्रेम गरे वापत् कुटाइ

कनिकाले खबर पढी, त्यसपछि भिडियो हेरी। त्यसपछि तर्सिई। उसलाई यो घटना नेपालको कुनै गाउँमा होइन मानिसको रगत पिउने र मासुखाने कुनै राक्षसको अधिराज्यमा भएको जस्तो लाग्यो। उसले गौर गरेर समाचार दोहोर्‍याएर पढी। त्यसपछि नक्सा गुगल गरी र फेला पारी देशको सबैभन्दा समृद्ध जिल्ला रुपन्देहीको मर्चवार गाउँ। ओहो, यो त शान्तिदूत गौतम बुद्धको जन्मथलो नजिकको गाउँमा भएको घटना पो रहेछ। त्यो बद्‍मास केटी मीना यादवले दिनेश लोध नाम गरेको तल्लो जातिको केटासँग प्रेम गरिछ। प्रेम गरेबापत् उसले कुटाइ खाई। नर पिशाचहरुको फौजले उसलाई निर्घात कुटेर मरणासन्न बनाए। त्यतिमात्र होइन, दिनेशका बाबुले मीनाका बाबुलाई एकलाख रुपैयाँ हर्जाना तिर्नु पर्यो। भर्खर स्थानीय तहको ‘मालिक सरकार’ बनेका संघीय लोकतान्त्रिक गणतन्त्रका जन प्रतिनिधिले हर्जानाको रकम तिर्न लगाएका थिए। 

कनिकाले सोची, ओहो, एक्काइसौं शताव्दीको नेपाल त यस्तो पो रहेछ। उसलाई लाग्यो, अब महिलासँग जोडिएका संघहरु, महिलाको तारण हार बनेका राजनीतिक दलका भगिनी संस्थाहरु, महिलावादी वुध्दि र विवेकको ठेकेदारी प्राप्त गरेका महिलाका सञ्जाल र जन्जालको आयोजनामा विशाल विरोध जुलुस निस्किनेछ। मीनाले प्रेम गरेवापत् पिटाइ खाएकोमा माइतीघर मण्डलामा पुरुषवादी समाजको भत्सर्ना गरिनेछ। आखिर, नेपालले बेइजिङदेखि बागलुङसम्म, मुम्बइदेखि मिलानसम्म र न्यूयोर्कदेखि न्यूरोडसम्म नारी अस्मिताको रक्षाका लागि आन्दोलन गरेको छ। हाम्रा महिला नेत्रीहरु सीएनएन वर्ष महिला घोषित भएका छन्। वेश्यावृत्ति र देह व्यापारको दलदलमा हजारौं महिला भासिएका छन्। यीमध्ये सयौं महिलाको उध्दार भए पनि हजारौं हजार भासिएको भासिएकै छन्।

कनिका सोच्दै थिइ, महिला वर्गको उन्नतिका लागि नेपालीले अथक मेहनत र लामो संघर्ष गरेका छन्। त्यसैको फलस्वरुप अहिले देशका राष्ट्रपति र संसदका सभामुख महिला छन्। केही समय अघिसम्म सर्वोच्च अदालतका प्रधान न्यायाधीश श्रीमान् पनि महिला हुनुहुन्थ्यो। राष्ट्रिय मानव अधिकार आयोगका सदस्यमा सवल महिला हुनुहुन्छ। त्यतिले नपुगेर राष्ट्रिय महिला आयोग छ। संसदमा प्रत्यक्ष र समानुपातिक हिसाबले चुनिएका थुप्रै महिला छन्। त्यतिले नपुगेर स्थानीय तहका लागि भएको निर्वाचनमा उप–प्रमुख जति सबै महिला चुनिएका छन्। तै पनि, महिला सशक्तिकरण हुन सकेको छैन। किन यस्तो भयो? कनिकाले उत्तर खोज्न सकिन। उसका मनमा उठेको प्रश्न ठीक थियो कि थिएन उसले त्यो पनि विचार गर्न सकिन।

कनिकाको जन्म सभ्य समाजमा भएको थियो र शहरमा भएको थियो। शहर भन्ने वित्तिकै सभ्य हुन्छ नै भन्ने केही छैन। तर, काठमाडौं थियो सभ्य शहर। लिच्छवी राजा मानदेव प्रथमको पालादेखि नै सभ्य, सुसंस्कृत, शिक्षित र सम्पन्न। कनिकाका बाबा–मम्मी धनी परिवारका थिए। आफै पनि पैसा कमाउँथे। उसलाई राम्रो स्कूलमा पढाएका थिए। उदार वातावरणमा हुर्केकी थिइ ऊ। उसका दर्जनौं व्वाइ फ्रेण्ड थिए। तर, कसैले पनि केही आपत्ति जनाएका थिएनन् अहिलेसम्म। अहिले भने डर लागेको थियो उसलाई। छोटा र आकर्षक कपडा लगाउने कनिकालाई अहिले एकैछिनपछि कसैले बलात्कार गर्न खोज्यो भने? छोटा कपडा लगाएर मौलिक नेपाली सभ्यता र संस्कृतिको अपमान गरेको आरोप लगायो भने? लिन्च गर्यो भने?  ‘मामु’ अचानक कराइ कनिका। अफिसको कोठामा कोही थिएन। कनिकालाई पसिना आइरहेको थियो। उ नुहाएकी थिइ पसिनाले निथ्रुक्क। 

कनिकाले आफूलाई सम्हाली। त्यसपछि उ सामाजिक संजालमा मीना यादव र दिनेश लोधलाई खोज्न लागि। सामाजिक संजालको कुनै कुनामा मीना र दिनेशको प्रेम थिएन। जे थियो त्यसमा घटनालाई कमिक बनाइएको थियो, कमेडी। मानिसहरु आ–आफनै दुनियाँमा मस्त थिए। मीना कुटियोस् कि दिनेश लछारियोस्। के मतलब। 

यो मीना र दिनेशको कथा होइन। उदार समाजको नाममा देशमा बढ्दै गएको अनुदार प्रवृत्तिको कथा हो। देशको भविष्यको कथा।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)



कान्तिपुर गाथा : प्रेम गरे वापत् कुटाइ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट