काठमाडौं : गत असार ६ गते डडेल्धुरामा एउटा अनौठो बिहे दर्ता भयो। परशुराम नगरपालिका वडा नं १२ कैनपानीमा भएको त्यो विवाह दर्तामा पत्नी नै आफ्ना पतिको बिहे गराउन उभिएकी थिइन्। नगरपालिकाका पञ्जिकाधिकारी नरबहादुर बोहोराका अनुसार रमेशनाथ योगी पहिला नै विवाहित पुरुष हुन्। उनका पत्नी र २ सन्तान छन्। जेठी श्रीमतीले कागजी रुपमा सहमति दिएकाले विवाह दर्ता सम्भव भएको उनी बताउँछन्। पत्नीकै सहमतिमा भएको अनौठो बिहे समलिङ्गी बिहेको रुपमा नेपालमै पहिलो बिहे बन्यो।
कानुन नहुँदै कसरी भयो विवाह दर्ता?
नेपालको कानुनले समिलिड्गी विवाहलाई मान्यता दिएको छैन। तर, पुरुष र तेस्रो लिङ्गी महिला भनेर दर्ता भएको छ उनीहरुको विवाह।
'तेस्रो लिङ्गी महिलासँग विवाह गर्दा बालबच्चा नहुने रहेछन्। त्यसैले उनीसँगै श्रीमती पनि आएर विवाह दर्ता गरिदिनु भनेपछि मैले दर्ता गरेको हुँ,’ बोहराले भने, ‘के हुन्छ भनेर इलाका प्रशासन कार्यलयका प्रमुख दत्तराम पाण्डेसँग सोधेँ, उहाँले 'दर्ता गर्दा हुन्छ' भन्ने परामर्श दिनुभयो।’
उनले मोनिकाको भनाई सुनाउँदै दर्ता गर्नुको औचित्य स्थापित गर्ने प्रयत्न गरे।
‘म तेस्रो लिङ्गी महिला हुँ, मैलै लिङ्ग परिवर्तन गरिसकेको छु। नागरिकता र पासपोर्ट पनि नेपालमै पहिलोपटक लिङ्गमा अन्य उल्लेख गरेर बनाएकी छु,’ मोनिकालाई उदृत गर्दे बोहराले भने, ‘मेरो विचारमा उहाँले तेस्रो लिङ्गी महिला पनि समाजमा अरु महिलासरह भएर बाँच्न सक्छन् भन्ने देखाउन खोजेजस्तो लाग्यो। दर्ता गरिदिएँ।’
विवाहपछि उनीहरुको जीवन राम्रोसँग चलिरहेको रमेशनाथ बताउँछन्।
‘मेरो परिवारले उसलाई साथ सहयोग र माया दिएको छ। उसले पनि सबैलाई माया गर्छे। अहिले हामी सबै खुशी छौं,’ रमेशनाथले भने, ‘जिन्दगी यसरी नै चलिरहन्छ।’
उनले भनेको हामी सबैको अर्थ के?
पत्नी र बच्चाका बाबुसमेत रहेका रमेशनाथ योगीले विवाह गरेका हुन मोनिकालाई।
मोनिकाका अनुसार रमेशनाथले झुटो बोलेका थिएनन पहिलो बिहेबारे। सबै थाहा हुँदाहुँदै उनीहरुको विवाह भएको हो।
‘मलाई थाहा थियो, उहाँ विवाहित हुनुहुन्छ। तर, प्रेम त अन्धो हुन्छ। हामीले प्रेमका खातिर विवाह गर्यौ,’ मोनिकाले भनिन्, ‘दिदीसँग मिलेर बसेकी छु।’
किन बिहे?
‘विवाह गरेर मात्र कर्तव्य सकिँदैन। मलाई केही भयो भने उनले सम्पत्ति पाउनुपर्छ भनेर मैले बिहे दर्ता गरिदिएको हुँ,’ योगीले भने, ‘म गर्वसाथ भन्छु उनी मेरी श्रीमती हुन्। त्यसैले मैले आफ्नो कर्तव्य पूरा गरेँ। मेरो यही सोचको कारण हाम्रो विवाह सफल भएको हो।’पहिले विवाह गरिसकेका रमेशनाथकी पत्नी लक्ष्मी योगीले नचाहेको भए यस्तो बिहे सम्भव थिएन। लिखित सहमति मात्र होइन पत्नी स्वयम् उपस्थित भएरै बिहे दर्ताका लागि आग्रह गरेकी थिइन् उनले।
कैलालीको लम्की चुवामा ४० वर्ष अघि जन्मिएको बालक अर्थात छोरा। जसको न्वारनले मनोज शाही नाम जुराएको थियो। त्यही मनोजको स्वभावले उसलाई एउटा पुरुष नभएर महिलाका रुपमा उभ्यायो। र, पुरुषसँग बिहे गर्ने अवस्थामा पुर्यायो।
प्रेम एक सेकेन्डमा बिहे ५ महिनापछि
रमेश ६ महिनाअघि मलेसियाबाट फर्किँदा मोनिकालाई एयपोर्टमा भेटेका थिए। एयरपोर्टबाट एउटै ट्याक्सीमा बसपार्कसम्म आए उनीहरु। त्यो यात्रामा उनीहरुबीच धेरै कुरा भइसकेको थियो। उनीहरुबीच प्रेम हुन एक सेकेण्ड नै पर्याप्त थियो।
घर गएपछि फोनमा नियमित सम्पर्क हुन थाल्यो। फोनबाट नै भावना साटासाट भयो। योजना साटासाट भयो।
त्यसको तीन महिनापछि रमेशले मोनिकालाई भने, ‘मोनिका अब विवाह गरौँ।’
समलिङ्गी विवाह गर्न पाउनुपर्छ भन्ने मोनिकाको माग थियो। तर, आफ्नै विवाह गर्ने दिन आउँछ भन्ने सोचेकी थिइनन्। रमेशको प्रस्तावले भावुक हुँदै उनले आशु झारिन्। प्रस्ताव ठीक लागे पनि विवाह गर्न मनले डर मानिरहेको थियो।
किनकि, रमेशनाथ पुरुष थिए, मोनिका तेस्रो लिङ्गी। उनीहरुको बीचको विवाहलाई न त कानुनले स्वीकार्थ्यो, न परिवार र समाजले नै। शारिरिक सम्बन्धले सन्तान जन्मिन पनि सम्भव थिएन। मोनिकाले यो सबै यथार्थ रमेशलाई बताउँदै प्रश्न गरिन् ‘यस्तो अवस्थामा किन गर्नु विवाह?’ रमेश उनको कुराले पछि हटेनन्।
‘हाम्रो प्रेम किन असफल गर्ने,’ रमेशले भने, ‘चिन्ता नगर म तिम्रो हरेक सुख दु:खमा साथ दिन तयार छु।’
मोनिकालाई आत्मा ठूलो मान्छिन् त्यसपछि शरीर। प्रेमको र खुशीको लागि विवाह गरेको बताउने उनलाई अहिले समाजको कुनै डर छैन।
कानुन विपरित विवाह किन त?‘नागरिकता, पासपोर्ट पाइसकेको थिएँ। विवाह गरेपछि केही न केही होला भनेर नै गरेको हो। विवाह दर्ता पनि भयो,’ उनले भनिन्, ‘धेरै संर्घषले गर्दा पछि सफल भएँ, अब अरु तेस्रो लिङ्गीलाई बाटो खुल्ला अब।’
सकसपूर्ण विगत
जब उमेर बढ्दै गयो, उनको व्यवहार रुपमा तालमेल मिलेन। केटीको लुगा लगाउन मन लाग्थ्यो। तर, उनी केटा थिए। मनोज भनेर सबैले बोलाउँथे। अरुले मनोज नै भने पनि उनी जवान केटा देख्दा केटासँगै आकर्षित हुन्थिन्। समाजलाई छलेर केटासँग प्रेम भएको व्यक्त गर्न सक्थिनन्। साथीभाइ उनलाई हेप्थे। बचन लाउँथे। उनी बाध्य भएर सहन्थिन्।साथीहरुले जिस्काउँदा–जिस्काउँदै उनलाई आफ्नै परिवारकोले पनि जिस्क्याउन थाले। सबैले ‘हिंजडा’ भनेर जिस्काउँदा उनलाई आत्महत्या गरु झैँ हुन्थ्यो। उनकै कारणले उनको परिवारले पनि समाजबाट अपहेलित हुनुपरेको थियो।
सुरुमा त उनलाई ‘म मात्रै किन यस्तो?’ भन्ने लाग्थ्यो।
मनमा कुरा खेलिरहन्थ्यो। कसैलाई भन्यो भने अपमानित भइएला भन्ने डर। उनी घरपरिवार र समाजबाट नितान्त एक्लीजस्तै थिइन्। पछि उनले आफूजस्ता अरु हजारौंको संख्यामा हुन्छन् भन्ने थाहा पाइन्। त्यो थाहा पाएपछि उनलाई आफू तेस्रोलिङ्गी भएकोमा पीर लागेन। उनी पिंजडाबाट मुक्त भएको चरी जस्तै भइन्।
तेस्रो लिङ्गी भएकै कारण उनलाई विद्यालयमा पढ्नसमेत अफ्ठयारो भयो। केटा नाम भए पनि उनको शरीरले केटा रहन दिएको थिएन। केटीसँगै बस्न चाहन्थिन्। तर, विद्यालय प्रशासनले केटासँग बसाउँथ्यो। त्यही कारणले उनी साथीभाइको बीचमा मजाक बनिरहिन्। पछि उनी ब्लु डाइमन्ड सोसाइटीसँग जोडिइन्।
उमेर पुगेपछि नागरिता लिन जिल्ला प्रशासन कार्यालय पुगिन्। नागरिकताको फारममा तेस्रो लिङ्गी भनेर लेखेपछि सुरु भयो विवाद। उनको आवेदन कार्यालयका लागि असमान्य बनिदियो। कुरा प्रमुख जिल्ला अधिकारीसम्म पुग्यो। प्रजिअले तेस्रो लिङ्गीको प्रमाण प्रस्तुत गर्न भने।
उनकै सामु प्रजिअले कतिको नागरिकता प्रमाणित गरे। तर, कसैलाई लिङ्गको प्रमाण देखाउन भनेनन्। उनले राज्यबाटै विभेदको महसुस गरिन्। तर, हरेश खाइनन्।
उनले ‘मेरो लिङ्गको बारेमा म भन्दा ठूलो प्रमाण के हुन्छ?’ भन्ने प्रश्न प्रशासन समक्ष तेर्स्याइन्। उनको कारणले कार्यालयमा बहस नै चल्यो।
अन्ततः तेस्रो लिङ्गीको पहिचानसहित नागरिकता
झमेला गरेर भए पनि उनको नागरिकता बन्यो। अब राहदानी बनाउनुपर्ने भयो। राहदानी बनाउँदा उस्तै झण्झट। हरेक ठाउँमा स्पष्टिकरण दिनुपर्ने। प्रशासनले नागरिकता दिए पनि परराष्ट्र मन्त्रालयको राहदानी विभागले थप प्रमाण खोज्थ्यो। कर्मचारीहरुको आँखा ‘तेस्रो लिङ्गी’ लेखेको ठाउँमा पुग्दा बित्तिकै अर्कै भावमा प्रस्तुत हुन्थे।
धेरै प्रयासपछि उनले राहदानी पाउने भइन्।
जेण्डरमा लेखियो 'ओ', अर्थात अदर। महिला पनि होइन, पुरुष पनि होइन। अन्य हो। अन्य हुनु पनि पहिचान हो। ‘ओ’ को राहदानी पाउने उनी पहिलो नेपाली। पहिलो हुँदाको खुशी जति छ त्यसका लागि संर्घष गर्दाको पीडा उति नै। उनीपछि ‘ओ’ राहधानी पाउने धेरै भइसके। उनले बाटो खोलिदिएपछि अरुका लागि हिड्न सजिलो भएको छ।
आफूहरुको संर्घषका कारण तेस्रो लिङ्गीमैत्री संविधान र कानुन बनेकोमा मोनिकालाई गर्व लाग्छ। अधिकार पाउन संर्घष गर्नु पर्दोरहेछ। उनको अनुभव यसै भन्छ।
मोनिकाको बुवाआमा छैनन्। २० वर्षअधि बुवा र १० वर्षअघि उनको आमा बिते। बुवाआमा जीवनको उत्तरार्धमा रहँदा मोनिका पहिचानका लागि संर्घष गर्दै थिइन्। ४० वर्ष पुगेकी उनी अहिले पनि संर्घषको मैदानमा छिन्।
उनी राप्रपा नेपालमा सुरुवाती चरणमा लाग्दा अहिलेको माओवादी केन्द्र जनयुद्धमा थियो। राजाको पक्षमा लागेको भन्दै उनलाई माओवादी कार्यकताले बीच सडकमा ल्याएर दिउँसै कपाल मुडे। माओवादीले पूरै बजार कब्जा गरेको हुनाले पुलिस प्रशासन कोही थिएन। गाउँलेहरु बोल्न सक्दैनन् थिए।
त्यतिबेला उनलाई माओवादीले एक हप्तासम्म घर परिवारबाट सम्पर्कबिहीन बनायो। उनले राप्रपा भएकै कारणले धेरै नै यातना पाइन्।
नागरिकता, राहदानी प्राप्ति पछिको उनको नयाँ माग भनेको समलिङ्गीले विवाह गर्न पाउने हो।
‘अब हामीले समलिङ्गी विवाह गर्न पाउनुपर्छ भन्ने हो। त्यो माग कार्यन्वयन गराउन लागिपर्ने छु,’ मोनिकाले भनिन्, ‘राजनीतिमा पनि केही गरेर देखाउने अठोठ छ। सगरमाथा चढ्ने लक्ष्यको तयारी पूरा हुन आँटेको छ। चढेरै छोड्छु।’
के छ समलिङ्गी विवाहको अवस्था?
नेपालमा २०६४ पुस ७ (सन् २००७) मा सर्वोच्च अदालतले समलिङ्गी विवाहको पक्षमा फैसला सुनाइसकेको छ।अदालतले आदेश दिएको करिब डेढ वर्षपछि सरकारले २०६६ वैशाख २१ मा मन्त्रिपरिषद्को निर्णयबाट समलिङ्गी विवाह अध्ययन समिति गठन गर्यो्। मन्त्रिपरिषदले बनाएको समितिमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा.लक्ष्मीराज पाठक संयोजक रहने गरी समाजशास्त्री प्रा. डा. चैतन्य मिश्र, चण्डेश्वर आचार्य, वासुदेव बजगाईँ, हुमबहादुर केसी, विश्व अधिकारी र अधिवक्ता हरि फुयाँल रहेको सात जना सदस्य भए। उक्त समितिले ६ वर्ष लामो अध्ययन गरेर सरकार समक्ष २०७२ सालमा प्रतिवेदन बुझायो। प्रतिवेदनले भन्यो - समिलिङ्गी विवाहलाई मान्यता दिने। तर अझै यसबारे कानुन बनिसकेको छैन।