PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

भृकुटी कागज कारखानका कर्मचारीले किन पाएनन् तलब ?



रासस

नवलपरासी : नवलपरासीको गैँडाकोटस्थित भृकुटी कागज कारखानामा स्थायी दरबन्दीमा कार्यरत ३२८ कर्मचारीले तलब पाएका छैनन्। 

विसं २०६७ मा बन्द भएको उद्योगमा कार्यरत विभिन्न पदका स्थायी कर्मचारीले सात वर्षदेखिको पारिश्रमिक पाउन सकेका छैनन्। सरकारले आफ्नो स्वामित्वमा रहेको भृकुटी कागज कारखानालाई १७ करोड रुपैयाँमा २०४९ सालमा उद्योग गोल्छा अर्गनाइजेसनलाई ‘लिज’मा जिम्मा दिएको थियो। 

सो स्थानमा सोही उद्योग अथवा अन्य जुनसुकै उद्योग राख्न पाउने तर व्यक्तिगत रुपमा जग्गालाई प्लटिङ गरेर बिक्री गर्न नपाउने सर्तमा गोल्छा अर्गनाइजेसनलाई सरकारले उद्योग जिम्मा लगाएको थियो। पेपर (कागज) र पेपर तयार हुन आवश्यक कच्चा पदार्थ पल उत्पादन हुने उद्योग २०६७ बाट पूर्णरुपमा बन्द रहेको छ। 

गोल्छा अर्गनाइजेसनको मातहतमा रहेको उद्योगको सुरक्षार्थ २०६७ सालदेखि २० जना सुरक्षाकर्मी खटिएका छन्। आफूहरु श्रम मन्त्रालय र अन्य सरकारी निकायमा धाउँदा पनि तलब नपाएको उद्योग आन्दोलन परिचालन समितिका सहसंयोजक हरि ढकालले गुनासो गरे। 

कारखानामा कार्यरत कर्मचारीले १५ करोड भन्दा बढी रकम अझै पाउन सकेका छैनन्। पटक पटक कारखाना व्यवस्थापनसँग वार्ता गरी रकम वितरण गर्ने सहमति भएपनि व्यवस्थापन पक्षले अटेरी गर्दै आएको ढकाल बताउँछन्। 

भृकुटीमा कार्यरत कर्मचारीले अहिलेसम्मको तलब नपाउँदा उनीहरुको जीवन थप कष्टकर बन्दै गएको छ। कार्यरत मजदुर र सञ्चालकबीच २०६९ पुस २ गते, २०७० साउन २ गते र २०७१ वैशाख २६ गते वार्ता भई तीन पटक सम्झौता भएको थियो। तर सो सम्झौता कार्यान्वयन भने भएको छैन। 

पटक पटकको धर्ना, अनशन, आन्दोलनपछि सहमति भए पनि कार्यान्वयन गर्न सञ्चालकले मानेको छैन। सरकारले समेत आफ्नो मागप्रति बेवास्ता गरेको कर्मचारीको गुनासो छ।

विसं २०६७ अघि उद्योगमा उत्पादन भएको कागज स्वदेशभित्र खपत हुँदै आएको थियो। नेपालकै सबैभन्दा ठूलो कागज उद्योग भृकुटी कागज कारखाना बन्द हुनुअघि एक हजार ५०० कर्मचारी कार्यरत थिए।

अस्थायी, करार र ज्यालादारीमा कार्यरत करिब एक हजार २०० कर्मचारीले गोल्छा अर्गनाइजेसनको सेवा सुविधा लिएका भएपनि स्थायी ३२८ कर्मचारीको व्यवस्थापन हुन नसक्दा समस्या भएको हो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell