PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

कान्तिपुर गाथा : पन्चमीमा पूर्णिमा


किशोर नेपाल

कान्तिपुर गाथा :  पन्चमीमा पूर्णिमा

बिहानको लन्च खाएर बिछ्यौनामा पल्टिएकी कनिका दुई बजे मात्र उठी। आज मामुले आफैं पकाएको क्वाँटी। गरम मसला हाल्दा जाइफलको मात्रा बढाइ दिनु भएछ। जाइफल यस्तो मसला हो जसले मानिसमा तत्काल राप र ताप दिन्छ। खाने बित्तिकै निन्द्रा लागे पनि एकछिन भुसुक्क निदाएर उठ्दा शरीर चंगा हुन्छ। देश विवादबाट कहिल्यै मुक्त नहुने भो। बिहानै सायमि कार्टुनिष्टले फेसबुकमा लेखिसके, क्वाँती कि क्वाँटी। बुझे भै हाल्यो नि क्वाँती अरग्यानिक भयो, क्वाँटी ब्रोइलर। क्वाँती भनेपनि क्वाँटी भनेपनि स्वाद त एउटै हो जुनसुकै जातको मानिसले खाएपनि। शाकाहारी र मांसाहारी दुवैका लागि भलो चीज हो यो। मासु क्वाँतीमा मिसाउने कि क्वाँटीमा? यो त कुनै गर्नुपर्ने विवाद नै होइन। क्वाँटी खायो, मतमतायो, निदायो।
 
हिन्दू राष्ट्रबाट नेपाल धर्म–निरपेक्ष राष्ट्र भएपछि पण्डितजीहरुले जनै पूर्णिमाकै दिन नागपन्चमी मनाउने व्यवस्था मिलाए। पण्डितजीहरु ती जुनसुकै धर्मका हुन् अथवा जुनसुकै पार्टीका हुन्, हुन्छन् निकै बाठा । टाकटुक सब कुरा मिलाउँछन्। कसलाई कसरी गिराएर आफनो स्वार्थ कसरी सिध्द गर्ने ? उनीहरुको ध्याउन्न त्यही हुन्छ। कनिका पण्डितजीहरुको बुध्दिको खूब तारीफ गर्न थालेकी छ। उसका लागि वर खोज्ने काममा स्वयंसेवक भएका छन पण्डितजी। कनिकालाई रमाइलो लागेको छ, यो पनि एउटा फन त हो नि। कनिकाको मामु पनि यो खेलमा हुनुहुन्छ। खाली रमाइलोका लागि।

कनिका हातमुख धोएर फ्रेस भइ। उसको काम थियो अफिसमा। आज ऊ र सुदिप्ती सडक निरीक्षणमा जाँदै थिए। गएको साता प्रधानमन्त्रीज्यूको ‘कम्तीमा पनि सडकमा बनेका प्वाल र खाल्डाखुल्डी त पुर्न लगाउनु होस’ भन्ने निर्देशनपछि कति काम गरेछ त प्रशासनले? सुदिप्ती राम्रै रिपोर्ट गर्ने मूडमा थिइ। किनभने, यो देशमा सँधै राजनीतिज्ञले मात्रै काम नगरेको आरोप लगाइन्छ। आफूलाई स्थायी सरकार भनेर नाक फुलाउने प्रशासकहरुको कुनै दोष नै देखिदैन । देशले अहिले वेहोर्नु परेको दुर्दशाका लागि राजनीतिज्ञ र प्रशासक दुवै उत्तिकै दोषी छन । एउटाले अर्कोलाई दोष दिएर यो समस्याको समाधान हुँदैन । दुवैथरि दोषको भागी बन्नु पर्दछ ।

सडकको खाल्डा पुरेर टाला–टाली हाल्ने काम भइ रहेको थियो । प्रशासन अलिकति गम्भीर भएको जस्तो देखिएको थियो । तर, कामको स्केल ठूलो थियो । वर्षामा टालेको सडकले वर्षा धान्न सक्ने अवस्था थिएन । उता मेलम्ची आउने भनेर खानेपानीले पाइप गाडेर सडक ध्वस्त पार्यो । अन्तिममा चाहीं मेलम्ची पनि समयमा नआउने भयो र पाइप पनि समयमा नगाडिने भयो । कतै धूलैधूलो, कतै हिलैहिलो । अहिले शहरमा पानी परेको छ । तर, हिलो हुन नि छोडेको छैन । धूलो उडन नि छोडेको छैन । कसरी उत्पन्न भयो वातावरणमा यो कन्ट्रास्ट ? कसैले वताउन र व्याख्यागर्न सक्ला त ?

कनिकालाई भने एउटा अर्कै इस्सूले सताइ रहेको थियो। उसले यूट्युवमा हेरेकी थिइ छक्कापन्जा–२ को ट्रेलर। उसलाई सोध्न मन लागेको थियो, अभिनेत्री स्वस्तिमाले नाइलनको साडी गीतमा नाच्दा लगाएको, त्यो हातले पंखा चलाएजस्तो देखिने, जामाको फेरजस्तो फेशनलाई के भन्छन्? तर, कसलाई सोध्नु ? हिजो दीपक गिरीलाई फोन गरेकी थिइ। फोनै उठाएनन्। सुनेनन् कि मोबाइलको घण्टी विग्रियो? सुन्न त के नसुन्नु र ? अहिले आएको नयाँ फोन किने कि ? के थाहा ? कनिका सोच्दै थिइ । सुदिप्ती उतिर फर्किइ र सोधी, ए के सोच्दैछेस कनि ? कनिकाले जवाफ दिइ, ल भन त सुदिप्ती । स्वस्तिमाले नाइलनको साडीमा नाच्दा लगाएको जामाको नाम थाहा नभएसम्म म के को फेशन रिपोर्टर ? उसको कुरा सुनेर सुदिप्ती हाँसी।
 
सुदिप्ती र कनिकाले झण्डै पाँचसयवटा खाल्डाखुल्डीका फोटो खिचेका थिए । त्यस्तै तीनहजार शव्द जतिको स्टोरी बन्थ्यो। त्यति भए पनि शहरका मानिसलाई काम भइरहेको जानकारी हुन्थ्यो।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)



कान्तिपुर गाथा : पन्चमीमा पूर्णिमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट