PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

रंगशाला पुनर्निमार्ण पहिलो प्राथमिकता : खेलकुदमन्त्री केसी



पहिलोपोस्ट

रंगशाला पुनर्निमार्ण पहिलो प्राथमिकता : खेलकुदमन्त्री केसी

काठमाडौं : नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले भूकम्पले थलिएको दशरथ रंगशाला पुर्ननिर्माण आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

मंगलबार दशरथ रंगशालाका साथै राष्ट्रिय खेलकुद परिषद् (राखेप) हाता र राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीको स्थलगत निरिक्षणपछि मन्त्री केसीले रंगशालाको पुर्ननिमार्ण द्रुत गतिमा अघि बढाउने बताएका हुन्।

मन्त्री केसीले नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य गरेर १३औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमै आयोजना गर्न अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले अनुगमनको क्रममा पुर्ननिमार्णको काम अघि बढेको पाईएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नवनिमार्णको कामले तिव्रता पाउने बताए।

मन्त्री केसीले केही समयभित्रै खेलकुदमा परिवर्तन भएको खेलाडीले अनुभव गर्न पाउने बताए। केसीले परिषद् र मन्त्रालयको योजना अनुसार खेलकुदमा सुधारका काम अगाडि बढेको पाइएको बताए।

निरीक्षणका क्रममा मन्त्री केसीले राष्ट्रिय टिम तयारीमा रहेका कराते, तेक्वान्दो, बक्सिङ, एथलेटिक्स, जुडो, उसुलगायतका खेलाडी र प्रशिक्षकसँग प्रशिक्षणस्थलमै छुट्टाछुट्टै भेट गरी तयारीका बारेमा जानकारी लिएका थिए। त्यस अवसरमा उनले आगामी दिनमा के गर्दा तयारी अझ राम्रो हुन्छ भन्ने विषयमा प्रशिक्षकसंग जिज्ञासा राखेका थिए। प्रशिक्षकहरुले खेलाडीलाई वैदेशिक प्रशिक्षणको व्यवस्था वा स्वदेशमै विदेशी प्रशिक्षक झिकाइ प्रशिक्षण गराउनु पर्नेलगायतका विषयमा जोड दिएका थिए।

सो अवसरमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टले खेलाडीको प्रशिक्षण र राखेप हाताको भौतिक पूर्वाधार निर्माणको प्रगतिका विषयमा मन्त्री केसीलाई जानकारी गराएका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell