काठमाडौं: जेरी डेब्यु गर्ल आना शर्मा अभिनित ग्याङ्स्टर ब्लूज भदौ २ गतेबाट प्रदर्शनमा आउँदैछ। हाल उनी फिल्म प्रचार प्रसारको काममा व्यस्त छिन् दुई फिल्ममा फरक अभिनेतासँग अनस्क्रिन रोमान्स गरेकी आना भन्छिन्,'रियल लाइफमा जस्तै रिल लाइफमा पनि फरक पात्रसँग गरिने प्रेमको शैली फरक हुँदो रैछ।'
उनले जेरीमा अनमोल केसीसँग गरेको प्रेमको वर्कसपले ग्याङ्स्टर ब्लूजमा आशिरमानसँग प्रेम गर्न सहयोग नगरेको बताइन्। 'धनी परिवारको हाइफाइ केटो बनेको अनमोल र ग्याङ्स्टर ब्लूजमा काठमाडौंको कलेजबाट रेस्टिकेट भएर नेपालगंजमा गुण्डागर्दी गर्ने केटोमा फरक भएर होला प्रेम जताउने र व्यक्त गर्ने शैली पनि फरक भएको', आनाले सम्भावित करण यसरी व्यक्त गरिन्।
फिल्मको स्क्रिप्ट पढ्दा कथा फरक भएपनि प्रेमकथा उस्तै रहने हो कि भन्ने डर थियो उनमा। तर त्यसो नभएको बताउँछिन् उनी। भन्छिन्,'फरक कथामा प्रेम गर्ने शैली फरक हुने रैछ। मेरो आशिरमानसँग प्रेमकथा भएर पनि धेरै फरक छ।' ग्याङ्स्टर ब्लूजको प्रेमकथा सजिव लाग्ने उनको दाबी छ।
रियल लाइफमा पनि फरक व्यक्ति र फरक समयमा प्रेम हुने, गर्ने तरिका, शैली फरक महसुस गरेको उनी बताउँछिन्। भन्छिन्,'सम्बन्ध र प्रेम फरक कुरा हुन्। प्रेम भएकासँग सम्बन्धमा रहन सकिन्छ तर सम्बन्धमा रहेका सबैलाई प्रेम गर्न सकिन्न।'
आना आफू प्रेमलाई एउटा शब्दमा बयान गर्न नसक्ने जिकिर गर्छिन्। उनी परिवार, अभिभावक, आफन्त, साथी भाइ र प्रेमी- हरेकसँगको प्रेमलाई उतिकै महत्व दिनु पर्ने धारणा राख्छिन्। भन्छिन्,'प्रेमीसँगको सम्बन्ध केही फरक हुन्छ किनकी एकअर्कालाई बु्झ्न र खुसी बनाउन हामीले धेरै समय सँगै बिताएका हुन्छौं।'