ब्राजिलियन २५ वर्षिय फरवार्ड नेमार फ्रान्सका पउल पोग्वालाई पछि पार्दै विश्वकै महँगा खेलाडी बनेका छन्।
नेमारलाई फ्रान्सेली क्लब पिएसजीले विश्व कीर्तिमानी रकम २२२ मिलियन युरोमा बार्सिलोनाबाट क्लब भित्राएको हो।
पेरिसियन क्लब पिएसजीले नेमारलाई अनुबन्ध गर्न पोग्वाको ट्रान्सफर रकमको दोब्बर भन्दा बढी रकम तिर्नुपर्यो।
नेमार महाँगा खेलाडी बनेपछि पोग्वा दोस्रो स्थान झरेका छन्। यसअघि सान्तोसबाट स्पेन पुग्दा नेमार बार्सिलोनाका महँगा खेलाडीका रुपमा क्लब भित्रेका थिए।
नेमार र पोग्वासँगै अन्य को को छन् त विश्वका दश महँगा खेलाडीमा
१. नेमार २२२ मिलियन युरो
नेमारलाई बिहिबार पिएसजीले बार्सिलोनाबाट कीर्तिमानी २२२ मिलियन युरोमा खरिद गरेपछि उनी महँगा खेलाडी बनेका हुन्। नोउक्याम्पमा मेसी र सुवारेजको छायाँमा परेका नेमार अब पिएसजीका मुख्य खेलाडी बन्दैछन् र उनले त्यहाँ १० नम्वरको जर्सी समेत लागउनेछन्।
२. पउल पोग्वा १०५ मिलियन युरो
पोग्वालाई सन् २०१६ मा इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले १०५ मिलयन युरोमा युभेन्ट्सबाट किनेको थियो।
३. गारेथ बेल १००.८ मिलियन युरो
वेल्सका गारेथ बेल सन् २०१३ मा त्यसबेलाको कीर्तिमानी १००.८ मिलियन युरोमा इंग्लिस क्लब टोटनहम हट्सरपरबाट स्पेनी क्लब रियल मड्रिड गएका थिए।
४. क्रिस्टियानो रोनाल्डो ९४ मिलियन युरो
बेलअघि क्रिस्टियानो रोनालडो विश्वकै महँगो खेलाडी थिए। रोनाल्डो सन् २००९ मा ९४ मिलियन युरोमा म्यानचेष्टर युनाइटेडबाट रियल पुगेका थिए। पछि उनलाई बेलले पछि पारे।
५. गोन्जालो हिग्वेन ९० मिलियन युरो
गोन्जालो हिगुएन ९० मिलियन युरोमा इटालियन क्लब नेपोलीबाट युभेन्ट्स लागेका थिए। जुन एकै देशको लिगमा क्लबले खर्चेको अहिलेसम्मकै सर्वाधिक रकम हो।
६. नेमार ८६.२ मिलियन युरो
पेरसि जानुअघि नेमार क्याटालाना क्लब बार्सिलोनाका समेत महँगा खेलाडी थिए। नेमारलाई बार्सिलोनाले सन् २०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट अनुबन्ध गरेको थियो। सुरुमा नेमारको सरुवा रकम कम बताइए पनि पछि बार्सिलोनाले नेमारका लागि ८६.२ मिलियन युरो खर्चेको पत्ता लागेको हो।
७. रोमेलु लुकाकु ८४.८ मिलियन युरो
यस सिजनको ट्रान्सफर विन्डोमा अर्का महँगा खेलाडी हुने बेल्जियन रोमेलु लुकाकु। उनलाई इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले एभरटनबाट ८४.८ मिलियन युरोमा खरिद गरेको हो।
८. लुइस सुवारेज ८२.३ मिलियन युरो
लुइस सुवारेज सन् २०१४ मा इंग्लिस क्लब लिभरपुलबाट ८२.३ मिलियन युरोमा स्पेनी क्लब बार्सिलोना पुगेका थिए।
९. जेम्स रोड्रिग्वेज ८० मिलियन युरो
जेम्स रोड्रिग्वेज सन् २०१४ मा फ्रेन्च क्लब मोनाकोबाट ८० मिलियन युरोमा स्पानिस क्लब रियल मड्रिड गएका थिए। तर सान्टियागो वर्नावेउमा उनले नियमित खेल्न पाएनन् र यसै सिजन लोनमा जर्मन क्लब वायर्न म्युनिख पुगेका छन्।
१०. अल्भारो मोराटा ७८.९ मिलियन युरो
स्पानिस खेलाडी अल्भारो मोराटा यसै सिजन रियल मड्रिडबाट चेल्सीमा अनुबन्ध भएका हुन्। उनलाई लण्डन क्लब चेलसीले स्टानफवर्ड ब्रिजमा भित्राउन ७८.९ मिलियन युरो खर्च गरेको हो।