PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

बांगाबगरमा गएको पहिरोले महाकाली राजमार्ग अवरुद्ध



रासस

बांगाबगरमा गएको पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी : गएराति परेको पानीले सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। 

बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने डिलाशैनी–६ बांगाबगरमा आज बिहान ७ बजे पहिरो जाँदा यातायात अवरुद्ध बनेको स्थानीयवासी सुरेश श्रेष्ठले जानकारी दिए। 

बांगाबगरमा माथिबाटआएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए। अवरुद्ध सडक खुलाउन जेसिवी लगाइएको र दिउसोसम्म सडक पुनः सञ्चालनमा आउने प्रहरीले जनाएको छ। 

यातायातका साधन पूर्णरुपमा बन्द हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला र बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन् । 

विसं।२०६०मा आएको पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा वर्षात्को समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ।

पहिरोले त्यो बेला बांगाबगरमा छ घर क्षति पुर्याएको थियो भने १५० रोपनी जमिन बगरमा परिणत गराएको थियो। त्यसबेलादेखि प्रत्येक वर्ष आउने पहिरोले हाल पनि बांगाबगरवासी चिन्तित भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell