PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

कडा सुरक्षा घेराबीच भरतपुरमा मतगणना सुरु, एक प्रतिनिधि बराबर एक हतियारसहित सुरक्षाकर्मी

कडा सुरक्षा घेराबीच भरतपुरमा मतगणना सुरु, एक प्रतिनिधि बराबर एक हतियारसहित सुरक्षाकर्मी

राजेन्द्र आचार्य/पहिलोपोस्ट


काठमाडौँ : भरतपुर महानगरपालिका वडा नम्वर १९ को मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राजनीतिक दलहरुसँगको सहमति पश्चात आज राति ११ बजेर २० मिनेटदेखि कभर्ड हलमा मतगणना सुरु गरिएको हो।

पहिलो चरणको मतगणनाका क्रममा भरतपुर महानगरपालिका वडा नम्वर १९ को मतगणनाको अन्तिम चरणमा आइपुग्दा जेठ १४ गते राति मत्रपत्र च्यातिएको थियो।

मतपत्र च्यातिएसँगै रोकिएको मतगणना आज पुनः मतदान पछि सुरु गरिएको हो।

मतगणना स्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ। मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणना स्थलमा तीनवटा र बाहिर दुईवटा सिसिक्यामेरा जडान गरिएको छ।  

मतगणना स्थलमा दलका प्रतिनिधिहरु बस्ने स्थानमा तारजाली लगाइएको छ। दलका प्रतिनिधि जालीभित्र रहने छन् भने बाहिर कर्मचारीले मतगणना गर्ने छन्। दलका प्रमुख नेतृत्व, उम्मेदवार र गणना हुने वडाका प्रतिनिधि बाहेक अन्य प्रतिनिधि राखिएको छैन।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दीपक थापाका अनुसार मतगणनास्थलको सुरक्षाका लागि १ सय ६१ जना प्रहरी परिचालन गरिएको छ। प्रहरी नायब उपरिक्षकको कमाण्डमा उनीहरुले मतगणना स्थल, अन्य वडाका मत पेटिका, गणना स्थल कभडहलको भित्री ढोका, बाहिरी गेट र मतगणना स्थलबाहिर सुरक्षा दिने उनले बताए।

मतगणना भइरहेको कभर्ड हलभित्र मात्र २५ जना कमाण्डो प्रहरीसहित ६१ जना प्रहरी परिचालन गरिएको थापाले बताए। सुरक्षाका लागि एक प्रतिनिधि एक हतियारसहित प्रहरी तैनाथीमा राखिने भएको हो। यसपटक पानी, चिया लगायतका कुनै पनि किसिमका खाद्य पदार्थ समेत गणना स्थलमा प्रवेश नदिइने भएको छ।

 
 


ट्रेन्डिङ पोस्ट

Ncell