PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

किन सोधियो त्रिवेणी नलगाड नगरपालिका-११ का सबै जनप्रतिनिधिलाई स्पष्टीकरण ?



रासस

किन सोधियो त्रिवेणी नलगाड नगरपालिका-११ का सबै जनप्रतिनिधिलाई स्पष्टीकरण ?

जाजरकोट : जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका– ११ का सबै जनप्रतिनिधिलाई स्पष्टीकरण सोधिएको छ। 

त्रिवेणी नलगाड नगरपालिका– ११ का वडा अध्यक्षसहित चारजना वडा सदस्यले कामै नभएको कामको पनि काम भएको भनि रकम भुक्तानीका लागि सिफारिस गरेपछि उनी स्पष्टीकरणमा परेका हुन्। 

नगरपालिकाको ११ चौखादेखि वडा नं– १० रजिकसम्म जोड्ने चौखा रजिक बानियाँ गाउँ, सर्मी, डोल्पा सडकको कामै नगरेको सडकमा काम गरेको भनी जनप्रतिनिधिले सिफारिस गरेपछि जिल्ला समन्वय समितिले २३ लाख रुपैयाँ भुक्तानी गरेको थियो। 

कामै नगरी २३ लाख रकम भुक्तानी गरेको भन्दै असार २३ मा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि जिल्ला समन्वय समितिले छानबिन गरेको थियो। छानबिन गर्दा सम्बन्धित वडाका जनप्रतिनिधिसमेत अनियमित कार्यमा संलग्न भएको पाइएको थियो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समितिलाई के कति कारणले कामै नभए पनि भुक्तानीका लागि चेक काटिएको हो भनि स्पष्टिकरण सोधेपछि छानबिन थाल्दा यस्तो तथ्य फेला परेको हो। 

नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष जीतबहादुर मल्ल र सदस्य भीमबहादुर मल्ल, कृष्णकुमारी खत्री बानियाँ, विष्णुकमारी नेपाली र बिर्खबहादुर बानियाँले वडा कार्यालयको लेटरप्याडमा ९० मिटर मात्र खनिएको बाटोलाई दुई हजार ३०० मिटर खनिएको र काम पनि सन्तोषजनक भएको भन्दै भुक्तानीका लागि स्थानीय विकास अधिकारीलाई सिफारिस गरेका थिए। 

कामै नभए पनि नक्कली बिल भरपाई पेश गर्ने जिल्ला प्राविधिक कार्यालयका प्राविधिक बलबहादुर विश्वकर्मालाई बरखास्त गरिएको छ। 

जनप्रतिनिधिलाई जिल्ला समन्वय समितिले के कति कारणले कामै नभएको बाटोको निर्माण सम्पन्न भयो भनि सिफारिस गरियो दुई हप्ताभित्र स्पष्टिकरण पेश गर्न पत्र पठाएको जिल्ला समन्वय समितिले बताएको छ। 

त्यस्तै उपभोक्ता समितिका अध्यक्ष लगबहादुर बस्नेत, सचिव सुष्मा विसी र कोषाध्यक्ष जयकुमारी खत्रीलाई पनि स्पष्टीकरण सोधिएको छ । निर्वाचित भएको एक सय दिन नबित्दै वडाका सबै पदाधिकारी स्पष्टीकरण परेका छन्। 

घटना सार्वजनिक भएपछि कामै नगरेको सडकमा भुक्तानी दिइसकेको चेकसमेत कार्यालयले थुतेर रद्द गरेको स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell