काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ७५ केन्द्रीय सदस्य तथा २२ सांसदसहित नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा आज प्रक्रिया सुरु भएको नवगठित पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए।
पार्टी अध्यक्ष कमल थापाले एक पक्षीय रूपमा निर्णय गर्ने गरेको, पार्टीको मूल सिद्धान्तका रूपमा रहेको हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाबाट संस्थापन पक्ष विचलित भएको, पार्टीमा कार्यकर्ताको उचित मूल्याङ्कन हुन नसकेकोलगायत आरोप लगाइएको छ।
पछिल्लोपटक अध्यक्ष थापाले ४२ केन्द्रीय सदस्य मनोनयन गरी निरङ्कुश चरित्र प्रदर्शन गरेको भन्दै वरिष्ठ नेता राणा असन्तुष्ट बनेका थिए। उनी केही साताअगाडि पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा अनुपस्थित थिए।
बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले तत्कालीन राप्रपा नेपाल राप्रपासँग गत मङ्सिर ६ गते एकीकरण भई फागुन ६ मा एकता अधिवेशन भएको थियो। नवगठित पार्टीमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री सुनिल थापालगायत छन ।
पार्टीले राष्ट्रिय निर्देशक समिति गठन गर्न नसकेका, सत्तालिप्सामा लागेका भन्दै एकीकरणलगत्तै पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो अध्यक्षतामा छुट्टै एकीकृत राप्रपा(राष्ट्रवादी) पार्टी गठन गरेका थिए ।