PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

प्रिमियर लिग : डिफेण्डिङ च्याम्पियन चेल्सी पहिलो खेलमै पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : डिफेण्डिङ च्याम्पियन चेल्सी पहिलो खेलमै पराजित

प्रिमियर लिगको उपाधि रक्षा गर्ने अभियानमा रहेको चेल्सी यस सिजनको पहिलो खेलमै पराजित भएको छ। शनिबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन चेल्सी बर्नलीसँग घरेलु मैदानमै ३-२ ले पराजित भएको हो। खेल सकिदासम्म चेल्सी ९ खेलाडीमा झरेको थियो।

चेल्सी विरुद्ध शानदार जित हासिल गर्न बर्नलीका लागि साम भोक्सले २ गोल गरे।

कप्तान ग्यारी काहिलले १४औँ मिनेटमा सिधै रातो कार्डको सामना गरेपछि चेल्सी पहिलो हाफमै दश खेलाडीमा झर्‍यो। त्यसैको फाइदा उठाउँदै बर्नलीले ४५ मिनेटभित्रै ३ गोल गर्‍यो। साम भोक्सले २४औँ र ४३ औँ तथा स्टेफन वार्डले ३९औँ मिनेटमा गोल गरे।

पहिलो हाफमै ३ गोल बेहोरेको र एक खेलाडी समेत गुमाएको चेल्सीका लागि ६९औँ मिनेटमा वैकल्पिक खेलाडी अलभारो मोराटाले गोल गर्दै गोल अन्तर कम पारे। तर ८१औँ मिनेटमा चेल्सीलाई अर्को झड्का लाग्यो। सेस फाब्रेगास दोहोरो पहँलो कार्ड बेहोर्दै मैदान बाहिरिएपछि चेल्सी अन्तिम दश मिनेट ९ खेलाडीमा झरेको थियो।

खेल सकिन दुई मिनेट बाँकी छदा चेल्सीका डेभिड लुइज गोल गर्दै खेल ३-२ को स्थितीमा पुर्‍याएका थिए। तर त्यो ढिला भइसकेको थियो र चेल्सी स्टानफोर्ड ब्रिजमै सिजनको पहिलो खेल हार्न बाध्य भयो।

चेल्सी हारेको दिन म्यानचेष्टर सिटीले भने विजयी सुरुवात गर्दै ३ अंक जोडेको छ। घरेल मैदान इतिहाड स्टेडियममा भएको खेलमा सिटीले नवप्रवेशी ब्राइटन एण्ड होभ अल्विओनलाई २-० ले हरायो। सिटीका लागि सर्जियो अगुएरोले १ गोल गरे भने अर्को गोल ब्राइटनका डेविस डकले आत्मघाती गरेका थिए।

एभरटनको जितमा वायन रुनीको निर्णायक गोल

१३ वर्षपछि आफनो ब्वाएहुड क्लब फर्केका वायन रुनीले एभरटनका प्रिमियर लिगको दोस्रो डेब्युमा गोल गरे। रुनीकै निर्णायक गोलमा एभरटनले स्टोक सिटीलाई १-० ले हरायो।

यस पटक ट्रान्सफर विन्डोमा व्यस्त बनेको एभरटनलाई रुनीको आगमनले पनि उत्साहित बनाएको थियो। प्रि सिजन टुरमा पनि गोल गरेका रुनीले एभरटनका लागि गोल गर्दै प्रिमियर लिगमा आफ्नो गोल गर्ने छवी देखाइसकेका छन्।

शनिबारै चाँडो सम्पन्न खेलमा लिभरपुलले वाटफोर्डसँग ३-३ को बराबरी खेल्दै अंक बाँडेको छ। अन्य खेलमा नवप्रवेशी हडल्शफिल्ड टाउनले क्रिस्टल प्यालेसलाई ३-० ले पराजित गरेको छ।

यस्तै वेष्टब्रोमिच अल्विओनले एएफसी बर्नमाउथलाई १-० ले हरायो भने साउथह्याम्पटन र स्वान्सी सिटीले गोलरहित बराबरी खेल्दै अंक बाँडे।

प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। नेपाली समय अनुसरा बेलुका सवा ६ बजे न्यूकासल युनाइटेड र टोटहम हट्सपर तथा राती पौने ९ बजे म्यानचेष्टर युनाइटेड र वेष्टहम युनाइटेडबीच खेल हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell