काठमाडौं: अभिनेत्री स्वेता खड्का लामो समय पछि फिल्ममा फर्कदै छिन्। उनको निर्माणमा फिल्म ‘कान्छी’को सोमबार औपचारिक घोषणा गरिएको हो।
कोहिनुरमा स्वेतासँगै काम गरेका निर्दोशक आकाश अधिकारीले फिल्मको निर्देशन गर्दै छन्। 'कान्छी’मा स्वेता खड्का र दयाहाङ राईको मुख्य भूमिका रहनेछ। फिल्म निर्माण बैशाखबाटै हुने भनिएको थियो। तर प्राविधिक समस्याका कारण फिल्म घोषणा ढिला भएको स्वेताले जनाइन्। भनिन्,'ढिला भए पनि अग्रज र परिपक्व टिम पाएकी छु। अब काममा उत्कृष्ट प्रस्तुती दिनु छ।' फिल्म युनिट यहि भदौ २ गतेबाट छायांकनका लागि फ्लोरमा उत्रदैछ। सुटिङका लागि युनिट मुस्ताङ पुग्नेछ।
यम थापाको कथामा बन्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत, वसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ। अन्य कलाकर अनु शाह, भूमिका श्रेष्ठ, कामेश्वर चौरासिया, आशान्त शर्मा, प्रज्वल सुजल गिरी लगायतको अभिनय रहने।
युनिटले २०७५ कै माघ २६ गतेलाई रिलिज टार्गेट गरेको छ।