PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रधानमन्त्रीसँग भारतका प्रमुख राजनीतिक दलका नेताहरुको भेटवार्ता, आज हैदराबाद जाने



रासस

प्रधानमन्त्रीसँग भारतका प्रमुख राजनीतिक दलका नेताहरुको भेटवार्ता, आज हैदराबाद जाने

नयाँदिल्लीः भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आज राष्ट्रपति भवनमा भारतका प्रमुख राजनीतिक दलका विशिष्ट नेताहरुले भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्री देउवासँग भारतीय जनता पार्टीका महामन्त्री राम माधव र सुब्रमण्यम स्वामी, जनता दल युनाइटेडका नेताद्वय केसी त्यागी र शरद यादव, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का नेता सीताराम येचुरी तथा बहुजन समाजवादी पार्टीका नेता सुरेश भदौरियाले भेटवार्ता गरे। 

साथै प्रधानमन्त्री देउवासँग भारतीय सुरक्षा सल्लाहकार अजित दोभालले पनि भेट गरे। 

उनीहरुबीच नेपाल र भारतबीचको द्विपक्षीय हित, समसामयिक राजनीति, नेपाल–भारत सम्बन्धलगायतका विषयमा छलफल भएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले जानकारी दिए। 

यसैबीच, प्रधानमन्त्री देउवा आज दिउँसो विशेष चार्टर्ड विमानबाट हैदरावाद प्रस्थान गर्दैछन्। 

प्रधानमन्त्री देउवाले हैदरावादमा रहँदा त्यहाँस्थित हाइटेक सिटी अवलोकन गरी सूचना प्रविधिका क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी लिनेछन्। 

प्रधानमन्त्री देउवासँग आजै साँझ तेलंगना तथा आन्ध्र प्रदेशका राज्यपाल इएसएल नरसिंहनले शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell