काठमाडौ : महानगरीय प्रहरी परिसर काठमाडौको प्रमुख भएलगत्तै एसएसपी रविन्द्र धानुकले गुन्डागर्दी नियन्त्रण अभियान सुरु गरेका छन्।
परिसरमा आएको दुई दिन पुरा हुन नपाउँदै एसएसपी धानुकले गुण्डा नाइके चक्रे मिलनलाई पक्राउ गरेका छन्।
महानगरीय प्रहरीले शुक्रवार दिउसो मिलन चक्रेलाई महराजगञ्जबाट पक्राउ गरेको हो।
स्थानीयवासीलाई तर्साउने धम्क्याउने गरेकाले एसएसपी धानुकको निर्देशनमा उनलाई पक्राउ गरिएको परिसरका एक प्रहरी अधिकृतले पहिलोपोस्टलाई बताए।
गृहमन्त्री जनार्दन शर्माले शुक्रवार मन्त्रालयमा नै बोलाएर एआइजीहरुलाई गुन्डागर्दीमा संलग्नहरुलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका थिए ।
काठमाडौं प्रहरी प्रमुख भएलगतै एसएसपी छविलाल जोशीले गत वैशाख २६ गते पहिलो चरणको स्थानीय तह निर्वाचनको सुरक्षालाई मध्यनगर गर्ने भन्दै चक्रे मिलनलाई पक्राउ गरेका थिए।
एसएसपी जोशीले परिसरमा करिव ८ महिना रहँदा सूची बनाएर नाइकेदेखि टोले गुन्डा गरी ८० जनाभन्दाबढीलाई पक्राउ गरेका थिए। पक्राउ परेका अधिकांश केही दिन हिरासतमा रहेर छुटेका थिए ।