- चन्द्रकान्त खनाल
चिनियाँ कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न गरिसक्नुपर्नेमा कम जनशक्ति र साधनबीच ३० प्रतिशतमात्र काम सकिएके गौतम बुद्ध विमानस्थल स्तरोन्नति आयोजनाको कार्यालयले जनाएको छ।
कम्पनीलाई असार १५ सम्म समय सीमा दिएर ४० प्रतिशत पूरा गरी काममा प्रगति गरेको देखाउन भनपनि पूरा गर्न नसकेको कार्यालयले जनाएको छ।
गौतम बुद्ध विमानस्थल स्तरोन्नति आयोजना प्रमुख ओम शर्माले भने,‘हामीले कामको प्रगतिका लागि सीमा तोकेका थियौं, सीमाअनुसार जुन महिनाकोे अन्त्यसम्म ४० प्रतिशत काम पूरा हुनुपर्ने थियो तर अहिले ३० प्रतिशत मात्र सकिएको छ।’
ठेकेदार कम्पनीले राम्रोसँग काम गर्न नसकेको, वर्षाको समय र निर्वाचनले पनि केही हदसम्म काम प्रभावित भएको शर्माले बताए।
स्थानीय निकाय निर्वाचनका कारण पनि निर्माण कार्य ओझेलमा परेको उनको भनाई छ ।
विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन प्रालि र उक्त कम्पनीलाई सहयोग गर्दैआएको स्थानीय सप्लायर्स नर्थवेस्ट नेपाल इन्फ्रा प्रालिबीचको करिब ६ महिनाअघि सुरु भएको विवादले निर्माण कार्य पूर्ण रूपमा प्रभावित भएको छ।
शर्माले भने,‘अझै पनि केही बिग्रिएको छैन, मासिक ६ प्रतिशतका दरले काम सम्पन्न गर्दैजाने हो भने पनि तोकिएको समयभित्र विमानस्थल निर्माण सम्पन्न हुन्छ।’
शर्माका अनुसार अहिले टर्मिनल भवनको निर्माण र विमानस्थल पार्किङ एरिया निर्माणसँगै रन वेमा ग्राभेल गरी सम्याउने काम सुरु भएको छ।
‘जुन महिनाभित्रै ५० प्रतिशत काम सम्पन्न हुनुपर्ने जम्मा ३० प्रतिशत मात्र भएको छ। विगतमा तराई मधेस आन्दोलन र नाकाबन्दीले निर्माण प्रभावित भएको थियो। हाम्रो चाहना पनि जुन कम्पनीले सुरुदेखि नै काम गरेको छ त्यही कम्पनीले सम्पन्न गरोस् भन्ने हो’ शर्माले भने।
कार्यालयका अनुसार अहिले दैनिक एक करोड रुपैयाँ बराबरको काम पर्नेमा निर्माण कम्पनीले त्यस अनुरूप गर्न सकेको छैन।
चिनियाँ कम्पनीले यसअघि अग्रिम भुक्तानी बापत ८८ करोड र काम गरेको बिलअनुसार ५३ करोड गरी जम्मा एकअर्ब ३१ करोड भुक्तानी लिइसकेको छ।
गौतम बुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्न चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनलाई एसियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा ग्लोबल टेण्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरिएको थियो।