PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

इरानको याज्द प्रान्तमा भेटियो विशाल फलाम खानी 



रासस

इरानको याज्द प्रान्तमा भेटियो विशाल फलाम खानी 
फोटो श्रोतः presstv.ir

तेहरान :  इरानकाे याज्द प्रान्तमा फलामको धाउ रहेको एक विशाल खानी भेटिएको छ । 

मध्य इरानको याज्द प्रान्तमा सो खानी पत्ता लागेको स्थानीय प्रेस टेलिभिजनले जनाएको छ। 

खानी भू–सतहभन्दा एक हजार ५०० किलोमिटर गहिराइसम्म करिब दुई अर्ब टन फलामको धाउ भण्डारण भएको अनुमान गरिएको याज्द प्रान्तका उद्योग, खनिज तथा वाणिज्य विभागका महानिर्देशक रेजा आलम्दार याज्दिले जानकारी दिए। 

खानी भण्डारण भएको फलामे धाउमा रहेको शुद्ध फलामको परिमाण विश्वकै उत्कृष्ट गुणस्तरको रहेको र खानी स्वयममा पनि एक अनौठो भौगर्भिक बनावट भएको महानिर्देशक याज्दिले उल्लेख गरेका छन्। 

याज्द प्रान्त तथा समग्र इरानको खनिज क्षमतामा असाधारण रुपले वृद्धि गराउन यस खानीले सघाउ पुग्ने बताइएको छ। 

नयाँ खानी पत्ता लाग्नुअघि इरानमा खनिज भण्डारणमा रहेको फलामे धाउको परिमाण तीन अर्ब टनभन्दा माथि नै रहेको थियो। नयाँ खानीमा रहेको परिमाण थपिएपछि कूल परिमाण पाँच अर्ब टनभन्दा बढी हुन पुगेको छ। 

याज्द प्रान्त इरानमा इश्वरको बरदान स्वरुप प्राप्त भएको भूखण्ड मानिएको छ। यस प्रान्तको नब्बे प्रतिशत भूभाग खनिज पदार्थले भरिभराउ छ। 

यीमध्ये मुख्यमुख्य अठ्ठाइस स्थानमा अनुसन्धान तथा उत्खनन् कार्य गरिँदा सबैमा उत्कृष्ट नतिजा निस्केको पनि सरकारी अधिकारीहरुको दाबी छ। रासस/सिन्हवा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell