बेइजिङ : भारतको विदेश मन्त्रालयले भोलि प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भोलि द्वीपक्षीय वार्ता तय भएको पुष्टि गरेको छ। ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी चीनको सियामिनमा छन्। दोक्लम इस्युले चिसिएको एसियाका दुई शक्तिशाली मुलुकबीच साइडलाइन वार्ता हुन लागेको हो।
'भोलि बिहान सियामिनमा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपतिबीच द्वीपक्षीय वार्ता हुने भएको छ,' भारतीय विदेश मन्त्रालयका अधिकारीलाई उदृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ।
चीनले पनि दुई देशबीच छलफल हुने संकेत देखाएको थियो यद्यपि उसले छलफलमा मोदी र जिनपिङबीच दोक्लमको विषयमा छलफल हुने या नहुने भन्ने कुरा खुलाएको छैन।
मोदी र सी बीच छलफल हुनेबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश विभागका प्रवक्त ज्याङ सुहाङले भने, 'आयोजक चीनले सहभागी मुलुकका नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ।' उनले कुन समयमा छलफल हुने भन्ने खुलाएका थिएनन्।
ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकाका प्रमुखहरु अहिले चीनमा छन्। उदाउँदो अर्थव्यवस्था भएका मुलुकहरुको यो सम्मेलन भोलि समाप्त हुँदैछ।
७३ दिन लामो समय भारत र चिनियाँ सेनाबीच दोक्लममा तनाव रहेको थियो। ब्रिक्स सम्मेलनको दुई साताअघिमात्रै भारतीय सेना चिनियाँ भूमिबाट भारततिर फर्केको थियो।