PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

चितवनका बाढीपीडित भन्छन्ः ज्यान त बाँच्यो, गाँसबास छैन



रासस

चितवनका बाढीपीडित भन्छन्ः ज्यान त बाँच्यो, गाँसबास छैन

  • हरि बास्तोला 
पोखरा : नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद् बन्यो। 

चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन अब कसरी बाँच्ने हो भन्दै पीडा व्यक्त गर्न थालेका छन्। 

काठको खम्बा र बाँसको कपेटाले बारेर माटोले पोतेर बनाइएका अधिकांश घरमा बाढी पसेर सञ्चित खाद्यान्न र आवश्यक सामग्री बगाएपछि पीडितलाई खानेकुराको चिन्ताले सताएको छ। 

‘घरमा सञ्चित १० क्विन्टल धान, मकैलगायत सम्पूर्ण खाद्यान्न बाढीले बगायो, खेतमा भएको धान भलले पुर्यो, अब खै के खाएर बाँच्ने हो’, भरतपुर महानगरपालिका—२८ पर्साबजारकी सुशीला कुमालले मलिनो अनुहार पार्दै दुखेसो पोखिन्। 

कुमालले भनिन्, ‘साउन २८ गते विहान लगभग १० बजेको समयमा एक्कासी राप्ती नदी बस्तीमा पसेपछि दुई छोरीलाई सुरक्षित स्थानमा पठाउन त भ्यायौँ, आफू सामानको सुरक्षा गर्दै गर्दा भल घरभित्र पस्यो भाग्दै गर्दा घाँटीसम्म आएको पानी खाँदै ज्यान बचाउन सफल भयौँ।’ 

‘बाढी आयो गयो, घरमा जाँदा झण्डै चार फिट डुबाइसकेको थियो”, उनले भनिन्,‘खाद्यान्नलगायत लत्ताकपडा, भाँडाबर्तन, बच्चाका शैक्षिक सामग्रीलगायत सम्पूर्ण सामान बगाएछ।’ छ दिनसम्म दाताले दिएको भुजा र चिउरा खाएर सास धानिएको उनले बताइन्। 

बाढीले घर भत्कायो, बस्ने बास छैन खानेकुरा पनि केही रहेन शरीरमा लगाएको लुगाबाहेक अरु केही बचेको छैन। चारजनाको परिवार आफन्तको घरमा आश्रय लिइरहेका छौँ, भरतपुर–२८ स्वामीचोकका जीवनकुमार बोटेले पीडा सुनाए। 

उनको दुई लाख रुपैयाँको लागतमा तीन कट्ठा जग्गामा बनाएको माछापोखरी बाढीले पुरिएको छ भने नौ कट्ठा क्षेत्रफलको धानखेत सबै बाढीले पुरेर मरुभूमि जस्तै भएको पर्साबजारका शिखाराम कुमालले सुनाए।

१४ वर्षअघि २०५९ साल साउन महिनामा सो क्षेत्रमा राप्ती नदी पसेको स्मरण गर्दै उनले पहिलेभन्दा अहिले बाढी ठूलो आएको बताए।
बाढीग्रस्त क्षेत्रका बासिन्दा अहिले बास र खानेकुराको अभावसँगै विषालु सर्पको त्रासमा परेका छन्। 

गोठाघाट, अर्घौली, पर्साबजार, काशीराम टोल, मोघीटोल, माझटहरा, जितपुर, तामाङबस्ती, सिसाबासलगायत यस क्षेत्रका बाराही जंगल रिसोर्ट र श्री होटललाईसमेत ठूलो क्षति पुगेको वडाध्यक्ष आशबहादुर कुमाल बताउँछन्। 

उनकाअनुसार बाढीबाट कूल एकहजार ८३ घरका पाँच हजार ५९३ जनाको लगभग ३० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। 

यसमध्ये ११ घर पूर्ण, ५०३ आंशिक र ५६९ घरधुरीमा सामान्य क्षति पुगेको तथ्यांक संकलन गरी जिल्ला प्रशासन र भरतपुर महानगरपालिका कार्यालयमा क्षतिपूर्तिको मागसहित पेश गरिएको छ। 

तराईका बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीसहित पुगेको पोखरा पर्यटन परिषद् प्राकृतिक प्रकोप सहयोग समितिको टोलीसमक्ष बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले पीडा पोखेका हुन्। 

भरतपुरको वडा नं २८ र १३, सौराहाको बस्यौली, नवलपरासीको सुस्ता र माडी नगरपालिकाका एक हजारभन्दा बढी बाढी प्रभावित परिवारलाई २४ लाख मूल्य बराबरको राहत सामग्री वितरण गरिएको समितिका संयोजक गणेशबहादुर भट्टराईले जानकारी दिए। 

पोखराका पर्यटन व्यावसायिक संस्थाहरू हान, नाट्टा, रेवान, टेसा, ना, एगा, बुकसप, स्पा, पर्यटन यातायात, टान, मनिचेञ्जर, प्रतिनिधि समाज, रेम्बो चिल्ड्रन, नारा, क्वालिटी अफ लाइफ नेपालको सहभागिता रहेको थियो।

विभिन्न चार टोलीमार्फत बाढीपीडितलाई चामल, दाल, तोरिको तेल, नूनलगायतका खाद्यान्नसहित म्याट्रेस, झुल र ब्ल्याङ्केट तथा शैक्षिक सामग्री वितरण गरिएको थियो। 

तराईमा आएको बाढीको कारण दुखेका मनलाई पहाडबाट केही हदसम्म भए पनि मलम लगाउन सकेकोमा आत्मसन्तुष्टि मिलेको पर्यटन व्यवसायी एवं पोखरा उद्योग वाणिज्य सङ्घका सदस्य गोमा ढकालले बताइन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell