PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सियामेन घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न, १०औं सम्मेलन दक्षिण अफ्रिकामा हुने



रासस

सियामेन घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न, १०औं सम्मेलन दक्षिण अफ्रिकामा हुने
फोटो श्रोतः indianexpress.com

चीन :  चीनको दक्षिणपूर्वी सहर सियामेनमा सम्पन्न ब्रिक्स सम्मेलनमा यसका सदस्यहरु बीच ब्यापक मात्रामा सहमति र सहकार्यमा जोड दिइएको छ। 

अन्तर्राष्ट्रिय सहयोग र समन्वयमा सम्मेलनमा सहमति भएको अधिकारीहरुले जनाएका छन्। उनीहरुकाअनुसार मङ्गलबार सम्पन्न सम्मेलनमा सदस्य राष्ट्रहरुको आपसी हित, सहयोग र उनीहरुको साझा चासोका विषयमा विशेष सहमति भएको छ। 

सम्मेलनको समापनसँगै चिनियाँ राष्ट्रपति सि चिनफिङले वर्तमान विश्व परिवेश, विश्व अर्थतन्त्र र समन्वयमा सम्मेलनमा सहमतिमा पुगेको जानकारी दिए। 

ब्रिक्सको नवौँ सम्मेलनले सियामेन घोषणापत्र जारी गरेको छ। घोषणापत्रमा ब्रिक्स संगठनले विश्वमा पारदर्शीता एवम् खुलापनको विकास, समावेशीता र सबैको साझा चासोका विभिन्न एजेण्डाहरुको विकासमा जोड दिएको छ। 

सम्मेलनमा ब्रिक्सका साथै आर्थिक क्षेत्रका उदयमान देशहरु जस्तो इजिप्ट, मेक्सिको, थाइल्याण्ड, ताजिकिस्तान र गुएनाका नेताहरुले पनि भाग लिएका थिए। 

ती देशहरुको आर्थिक विकास तथा अन्तर्राष्ट्रिय सहयोग र समन्वयका क्षेत्रमा पनि ब्रिक्सले सहयोग र साझेदारी प्रदान गर्ने बारेमा पनि घोषणापत्रमा जोड दिइएको छ। 

चिनियाँ दक्षिणपूर्वी सहर सियामेनमा अयोजना गरिएको तीन दिने सम्मेलनको समापनसँगै पत्रकारहरुलाई जानकारी दिँदै चिनियाँ राष्ट्रपति चिनफिङले विश्वमा आर्थिक सुशासन कायम गर्न तथा उदीयमान अर्थतन्त्रहरुका समस्या र आवाज सुनेर उनीहरुको विकासका लागि पनि साथ र सहयोग दिने विषयमा व्यापक मात्रामा जोड दिइएको बताए। 

सन् २०३० मा पूरा हुने दिगो विकासका एजेण्डाका लागि सबै देशहरुले आवश्यक गृहकार्य र एजेण्डाको कार्यान्वयनका लागि पनि साझा विकासका कार्यक्रमहरु अघि सार्ने बारेमा सम्मेलनमा सहमति भएको उनले जानकारी दिए।

पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति चिनफिङले ब्रिक्सको दशौँ सम्मेलन दक्षिण अफ्रिकामा आयोजना गरिने जानकारी पनि दिएका छन्।

उनले भने,‘सबैको सहमतिबाटै आगामी सम्मेलनको आयोजना दक्षिण अफ्रिकाले गर्ने भएको छ। सम्मेलनको आयोजनाका लागि जे जस्तो सहयोग गर्नुपर्छ त्यसका लागि चीन तयार रहेको प्रतिबद्धता पनि उनले व्यक्त गरे। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell