छनोट चरणमा लगातार दुई बराबरीपछि अर्जेन्टिनाको विश्वकप यात्रा कठिन बन्दै गएको छ।
दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा भेनेजुएलासँग बराबरीमा रोकिएपछि अर्जेन्टिना अंक तालिकामा पाँचौ स्थानमै यथावत छ।
घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले खेल बराबरी गर्न आत्मघाती गोलको सहयाता लिनुपर्यो। जोन मुरिलोले ५०औँ मिनेटमा गोल गर्दै भ्रमण टोली भेनेजुएलालाई अग्रता दिलाएका थिए। तर त्यसको पाँच मिनेटपछि नै रोफ फेल्सरले आत्मघाती गोल गरेपछि खेल बराबरी भएको थियो।
लगातार दुई बराबरी खेलेपछि अर्जेन्टिनाको १६ खेलबाट २४ अंक मात्र छ र अंक तालिकामा पाँचौ स्थानमा छ। अर्जेन्टिना समान २४ अंक रहेको पेरु गोलअन्तरमा अगाडी रहेर चौथो स्थानमा छ।
दश खेलाडीमा झर्नुका बावजुत पनि पेरुले इक्वेडरलाई २-१ ले पराजित गर्दै ३ अंक जोडेको हो।
अर्जेन्टिनाले अब अर्को खेल पेरुसँग घरेलु मैदानमा एक महिनापछि खेल्नेछ र त्यस खेलले नै अर्जेन्टिनाको भाग्य तय गर्नेछ।
दक्षिण अमेरिकी महादेशबाट राउण्ड रोविन लिगमा शीर्ष चार स्थानमा रहने टिम सिधै रसियामा हुने विश्वकपमा छनोट हुनेछन्। पाँचौ हुने टिमले प्लेअफ खेल्नुपर्नेछ।
यसअघि नै विश्वकपका लागि छनोट भइसकेको ब्राजिलले कोलोम्वियासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। त्यसैको फाइदा उठाउँदै पाराग्वेलाई २-१ ले पराजित गरेको उरुग्वे २७ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ।
२६ अंक जोडेको कोलोम्विया तेस्रो स्थानमा झरेको छ।